धनगढी, साउन ८
सत्ता गठबन्धन दल नेपाली काँग्रेस र नेकपा एमालेका प्रदेश सभा सदस्यहरुले माग गरेपछि सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजदेखि शुरु हुने भएको छ । नयाँ गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस र नेकपा एमालेका बहुमत प्रदेश सभा सदस्यहरुले प्रदेश सभाको विशेष अधिवेशन माग गरेपछि आजदेखि सुरु हुँदैछ ।
प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाका एक चौथाईभन्दा बढी सांसदले विशेष अधिवेशन माग गरेपछि बोलाउन पत्राचार गरेका थिए। प्रदेश प्रमुखको आह्वानअनुसार मंगलबार दिउँसो २ बजे विशेष अधिवेशनको पहिलो बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ।
सचिवालयका सचिव देवबहादुर बोगटीले बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची तय गरिएको बताए। सभामुख भीमबहादुर भण्डारीले सोमबार बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विशेष अधिवेशन किन बोलाइएको हो ? भन्ने विषयमा छलफल भएको थियो ।
प्रदेश प्रमुखको कार्यालयले पठाएको पत्रमा विशेष अधिवेशन बोलाइनुको कारण र उक्त अधिवेशनमा गर्ने गतिविधिबारे उल्लेख नगरिएको भन्दै एक पटक सोध्ने निणर्य भएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारको नेतृत्वकर्ता दल नेकपा एकीकृत समाजवादी भने सहभागी थिएन ।