बाजुरा, साउन ४
अछामको साँफे र बाजुराको मार्तडी सडकखण्ड अवरुद्ध भएको छ । अविरल वर्षापछि आएको पहिरोले सडक अवरुद्ध भएको हो ।
बाजुराको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन ।
उनका अनुसार सडकको बुढीगङ्गा नगरपालिका वडा नम्बर ३ ताप्रीसेरा, बडीमालिका नगरपालिका वडा नम्बर ४ रिला र वडा नम्बर ९ कारागार नजिकै पहिरो गएकोे छ ।
पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारीसाधन आवतजावत ठप्प भएका छन् । सवारीसाधन नचल्दा याुत्र अलपत्र परेका छन् ।
अवरुद्ध सडक खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ । जिल्लामा अहिले पनि वर्षा भइरहेको छ । यस्तै जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी कोल्टी सडक दुई सातादेखि अवरुद्ध छ ।
बडीमालिका नगरपालिका वडा नम्बर ७ जिल्लीमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । मार्तडी–कोल्टी जोड्ने बाउली, अनाई र दानसागु खोलामा जलसतह बढेपछि ठाउँठाउँमा सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि सदरमुकाम मार्तडीबाट पूर्वी उत्तरी भेगका पालिकासम्म चल्ने जीप तथा मालवाहक सवारीसाधन ठप्प छन् ।