Hamro Patra
सहकारीद्वारा ४० लाखको लागतमा छिमेकी झोला उद्योग सञ्चालन

योगेश रावल
टीकापुर, पुस ८
जानकी गाउँपालिका–३ सुवर्णपुरस्थित छिमेकी बचत तथा ऋण सहकारी संस्थाले ४० लाखको लागतमा झोला उद्योग सञ्चालनमा ल्याएको छ । २०७५ मंसिर ८ गते सञ्चालनमा आएको उद्योगले विद्यार्थीलाई लक्षित गरेर झोला उत्पादन गर्दै आएको छ ।

उद्योगले एकवर्षको अवधिमा १३ लाख १० हजार रुपैयाँको झोला बिक्री गरेर एक लाख २० हजार आम्दानी गरेको सहकारीका व्यवस्थापक बिरेन्द्र चौधरीले जानकारी दिए । उनले हाल टीकापुर, लम्की लगायतका नजिकका बजारमा झोला खपत भैरहेको बताए । ‘अहिले नजिकका बजारलाई मात्रै लक्षित गरेका छौं’ उनले भने–‘विस्तारै अन्य ठूला बजारमा समेत बिक्री गर्ने योजना छ ।’

व्यवस्थापक चौधरीले कतिपय स्थानीय विद्यालयले उद्योगमै पुगेर होलसेलमा झोला खरिद गर्ने गरेको बताए । उनले उद्योग हाताबाटै फुटकर रुपमा समेत झोला बिक्री गर्ने गरेको जानकारी दिए । उद्योगले गाउँमै झोला बिक्री गर्न थालेपछि विद्यार्थी समेत बजार पुग्नुपर्ने झण्झटबाट मुक्त भएका छन ।

Khadga Memorial And Janajagriti

झोला उद्योग स्थापनाका लागि सहकारी संस्थालाई गुड नेवर्स इन्टरनेशनल र सेवक नेपालको साझेदारीमा सञ्चालित सामुदायिक विकास परियोजनाले आर्थिक सहयोग गरेको छ । व्यवस्थापक चौधरीले परियोजनाले ९ लाख ३५ हजार २९५ रुपैयाँ अनुदान सहयोग गरेको बताए ।

उनले परियोजनाले अनुदान सहयोग गरेको रकमबाट १० थान सिलाई मेसिन, १ थान कटिङ मेसिन, कच्चा पदार्थ र फर्निचर खरिद गरेको जानकारी दिए । उनले अनुदान सहयोगबाट बचेको रकमले १० जनालाई डेढ महिने क्षमता अभिवृद्धी तालिम दिएको बताएका छन ।

‘झोलाको गुणस्तर बढाउनका लागि १० जनालाई निशुल्क तालिम दिएका छौं’ उनले भने–‘झोलाको गुणस्तरमा विकास भैरहेको छ । जसले बजार प्रतिस्पर्धा गर्न सहज भएको छ ।’

सहकारी संस्थाले तालिम लिएका १० जनालाई रोजगारी समेत प्रदान गरेको छ । उनीहरुले गाउँमै रोजगारी प्राप्त गरेका छन । उनीहरुले झोला उद्योगको रोजगारी सँगै घरको समेत कामकाज गर्न भ्याएको बताए ।

सहकारीले कुनै न कुनै उद्योग स्थापना गर्नुपर्ने परियोजनाको निर्देशन अनुसार नै झोला उद्योग स्थापना गरेको जनाएको छ । २०६९ सालमा गाउँकै किसानहरुले स्थापना गरेको सहकारी संस्थामा हाल ७०१ शेयर सदस्य छन ।

सहकारीले झोला उद्योगका साथै ग्रामीण क्षेत्रका किसानलाई ऋण, रेमिटान्स लगायतका सेवा सुविधा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update