टीकापुर, साउन २
मुक्त कमैया दिवसको अवसर पारेर आज कैलालीका पाँच स्थानीय तहहरुमा सार्वजनिक बिदा दिइएको छ । साउन २ गते मुक्त भएका कमैयाहरुको सम्मानमा कैलालीका कैलारी, जानकी र जोशीपुर गाउँपालिका तथा टीकापुर र भजनी नगरपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै आज सार्वजनिक बिदा दिएका हुन् ।
२४औँ कमैया मुक्ति दिवसको अवसरमा थारु बाहुल क्षेत्रका स्थानीय तहहरूले सार्वजनिक बिदा दिएका हुन् । कैलालीको जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले कमैया रुपी दासताको जीवनबाट मुक्त भएको दिनको रूपमा कमैया मुक्ति दिवस भएको हुँदा पालिकास्तरमा सार्वजनिक बिदा दिएको बताए ।
पश्चिम तराईका कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दिया जिल्लामा एकताका जमिनदारहरूका घरमा बाँधुवा मजदुरको रूपमा कमैया बस्ने गरिन्थ्यो । राज्यले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गर्यो । २७ हजारभन्दा बढी कमैयाहरू मुक्त भए।
त्यसयता कमैया दिवस मनाइँदै आएको मुक्तकमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले बताए । तर हालसम्म सयौँ मुक्तकमैया अझैसम्म पुनर्स्थापना हुन बाँकी रहेका छन् ।