Hamro Patra
१० औं राष्ट्रिय खेलकुदको तयारी तिब्र

सुर्खेत, साउन १
आगामी मंसिरमा कर्णालीमा हुन लागेको १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ । प्रतियोगिता सञ्चालनको लागि भौतिक संरचनाका कामहरुको निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । 

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्यसचिव विश्वमित्र सञ्ज्यालका अनुसार प्रदेश गौरवको आयोजना अन्तर्गतको प्रदेश रङ्गशाला निमार्णको ९० प्रतिशत काम सकिएको छ ।
बाँकी काम अबको दुई महिनाभित्र सम्पन्न गर्ने गरी तिब्र काम भइरहेको छ । यो रङ्गशाला १० औँ राष्ट्रिय खेलकुद आयोजनालाई लक्षित गरी निर्माण थालिएको हो । 

२०८१ जेठ ११ गतेभित्र रंगशाला निर्माण सम्पन्न गर्ने समयसीमा रहे पनि कोरोना माहामारी लगायतका कारणले निर्माण सम्पन्न हुन ढिलाई भएको छ । प्रदेश रंगशाला कर्णाली सरकार स्थापनाकालदेखि अहिलेसम्मको एकमात्र गौरवको आयोजना हो । यो रङ्गशालाभित्र मात्रै १६ वटा खेल खेल्न सकिने गरी संरचना तयार हुदैछन ।  

Khadga Memorial And Janajagriti

यस्तै, १० हजार दर्शक अट्ने क्षमताको बनाउने गरी काम भइरहेको रङ्गशालाको फिनिसिङ लगायतका काम गर्न बाँकी नै छन् । अत्याधुनिक तरिकाले काम अघि बढाइएको रङ्गशालाको पहिलो चरणमा डिजाइन, फिल्ड निर्माण लगायत काम भएका थिए । ती काम ६ महिनाको अवधिमै सकिएको थियो । 

रंगशाला वरिपरि बाटो, कम्पाउन्डिङका सटर, गेट निर्माण लगायतका काम सम्पन्न हुन बाँकी रहेको तर, यी काम अन्तिम चरणमा रहेका छन् । आउटडोर मोडमा बास्केट बल, भलिबल लगायतका खेल खेल्ने संरचनाका काम सकिएका छन्, भने फुटबल मैदानको काम पनि सकिएको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी कर्णाली प्रदेशमा धमाधम खेल पूर्वाधार निर्माण भइरहेका छन् । ठेक्का सम्झौताअनुसार तोकिएकै मितिमा काम सम्पन्न गर्ने गरी धमाधम खेल पूर्वाधार निर्माण भइरहेको प्रदेश खेलकुद परिषद्ले जनाएको छ । 

परिषद्का अनुसार हाल डोल्पा र सल्यानबाहेक कर्णालीका अन्य आठवटै जिल्लामा खेल पूर्वाधार निर्माण भइरहेका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आगामी संस्करणको तयारीस्वरूप आवश्यक खेल पूर्वाधार निर्माण भइरहेका हुन् ।

प्रदेश रंगशालामा फुटबल मैदान, भलिबल कभर्डहल, एथलेटिक्स ट्र्याक र स्विमिङ पुल निर्माणका काम भइरहेका छन । 

त्यस्तै, भिआइपी प्याराफिटको दुईतले भवन, खेलाडीको चेन्जिङ कोठा, शौचालय, सावर, मिक्स जोन, मिडिया रुम, पार्किङ र स्विमिङ पुलसहित १५ सय दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल निर्माण भइरहेको छ ।
प्रदेश रंगशालामै हृयाण्डबल र बास्केट बल लगायत खेलका आउटडोर पनि बनाइँदैछ । हाल विभिन्न पूर्वाधार निर्माणका काम भइरहेको बताउँदै अपांगता भएका व्यक्तिका लागि पारा खेल पूर्वाधारसमेत निर्माण गर्ने तयारी रहेको परिषद्ले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update