Hamro Patra
जहिल्यै लक्ष्य हासिलमा चुक्छ सत्ती भन्सार 

टीकापुर, साउन १
टीकापुरस्थित सत्ती भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य भन्दा कम राजश्व संकलन गरेको छ । कार्यालयले लक्ष्यको तुलनामा ८३ दशमलव ३६ प्रतिशत मात्रै राजश्व संकलन गर्न सकेको छ । 
उसले १२ करोड १ लाख ४७ हजार राजश्व संकलनको लक्ष्य राखेकोमा १० करोड १ लाख ५० हजार ९ रुपैयाँ मात्रै राजश्व संकलन गरेको छ ।

कार्यालयले दिएको जानकारी अनुसार १२ मध्ये ३ महिनामा मात्रै लक्ष्य भन्दा बढी राजश्व संकलन भएको देखिन्छ । कार्यालयका अनुसार भदौ, मंसिर र पुष महिनामा मात्रै लक्ष्य भन्दा बढी राजश्व संकलन भएको छ । 

भदौमा ११३ दशमलव १९ प्रतिशत, मंसिरमा १२० दशमलव ११ प्रतिशत र पुषमा १३९ दशमलव २७ प्रतिशत राजश्व संकलन भएको छ । कार्यालयका अनुसार भदौमा ९८ लाख ७८ हजार लक्ष्य रहेकोमा १ करोड ११ लाख ८० हजार ९९२ रुपैयाँ, मंसिरमा १ करोड ३ लाख २७ हजार लक्ष्य रहेकोमा १ करोड २४ लाख ४ हजार रुपैयाँ र पुषमा १ करोड २ लाख ४७ हजार लक्ष्य रहेकोमा १ करोड ४२ लाख ७१ हजार ४५४ रुपैयाँ राजश्व संकलन भएको छ । 

Khadga Memorial And Janajagriti

तथ्यांक अनुसार सबैभन्दा कम फागुनमा ५३ दशमलव १२ प्रतिशत मात्रै राजश्व संकलन भएको देखिन्छ । १ करोड ५ लाख ६३ हजार लक्ष्य रहेको यस महिनामा ५६ लाख ११ हजार ४४८ रुपैयाँ मात्रै राजश्व संकलन भएको छ । 

आर्थिक वर्षको पहिलो महिना साउनमा ७८ लाख १० हजार लक्ष्यमा ७१ लाख ९ हजार ७५२ रुपैयाँ, असोजमा १ करोड ८ लाख ८९ हजार लक्ष्यमा ६२ लाख ६१ हजार रुपैयाँ, कार्तिकमा ९८ लाख १२ हजार लक्ष्यमा ९२ लाख ३५ हजार रुपैयाँ राजश्व संकलन भएको छ । 

त्यस्तै माघमा ९६ लाख ९४ हजार लक्ष्यमा ६६ लाख ५७ हजार ९८७ रुपैयाँ, चैतमा ९६ लाख ९० हजार लक्ष्यमा ७६ लाख २२ हजार ५०९ रुपैयाँ, बैशाखमा ९९ लाख ८५ हजार लक्ष्यमा ५६ लाख ६५ हजार रुपैयाँ, जेठमा १ करोड १० लाख ३१ हजार लक्ष्यमा ७९ लाख ११ हजार ५०१ रुपैयाँ र असारमा १ करोड २ लाख २२ हजार लक्ष्यमा ६२ लाख १९ हजार ३६६ रुपैयाँ राजश्व संकलन भएको छ । 

कार्यालय प्रमुख दिनहरी सापकोटाले ब्यापारिक मन्दीले आयात घटेका कारण राजश्व संकलनमा कमि आएको जानकारी दिए । उनले चोरी निकासीले पनि राजश्व संकलनमा समस्या भएको बताए । ‘मैले चोरी निकासीले नै हो भन्न त नमिल्ला’ उनले भने–‘त्यो पनि एक कारण हो ।’

उनले अघिल्लो आर्थिक वर्षको तुलनामा राजश्व संकलनमा सुधार भएको बताए । उनका अनुसार अघिल्लो आर्थिक वर्ष ४४ प्रतिशत मात्रै राजश्व संकलन भएको थियो । उनले यसैलाई चित्त बुझाउन भने नसकिने बताए । 
२०७५ सालदेखी मुल भन्सारका रुपमा सञ्चालनमा आएको सत्ती भन्सार कार्यालयले सुरुवातका ३ आर्थिक वर्ष मात्रै लक्ष्य अनुसारको राजश्व संकलन गरेको थियो । त्यसपछिका वर्षहरुमा भने कार्यालयले लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकेको छैन । 

मुल भन्सार भएपनि सिमा नाका खक्रौलादेखी भारतीय सिमावर्ती बजार तिकुनियाँसम्मको सडकको अवस्था राम्रो छैन । मोहना नदीको पुलदेखी भारतीय सिमा सुरक्षा बल रहेको स्थानसम्मको करिव २ किलोमिटर सडक निकै जिर्ण छ । वर्षाको समयमा सो ठाउँमा हिँडडुल गर्न समेत निकै समस्या हुने गरेको छ । त्यस उता तिकुनियाँसम्मको करिव ११ किलोमिटर सडकमा समेत वर्षाको समयमा आवतजावतमा समस्या नै हुन्छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update