Hamro Patra
गौरीफन्टा पलियाबीच यातायात ठप्प, खक्रौलामा चहलपहल बढ्यो

टीकापुर, असार ३१
बाढीले पुल बगाएपछि गौरीफन्टा र पलियाको आवतजावत ठप्प भएको छ । एक साता अघि शारदा नदीमा आएको बाढीले पलियास्थित एक पुलको उत्तरतर्फको सडक बगाएको छ । 

नदीले सडक बगाएपछि सर्वसाधारण यात्रु समस्यामा परेका छन । यो नेपाल–भारत जोड्ने मुख्य राजमार्ग अन्र्तगतको पुल हो । 

गौरीफन्टा नाका भएर भारतबाट आउने नेपाली टीकापुरस्थित खक्रौला र नेपालगन्जको रुपैडिया नाका हुँदै भित्रिने गरेका छन । 

राजमार्ग अवरुद्ध बने पछि खाद्य तथा इन्धनलगायतका उपभोग्य सामग्री आपूर्तिमा समस्या भएको छ । नेपाल जोड्ने मुख्य राजमार्ग बगाएपछि लामो ताथा छोटो दुरीका सवारीसाधन चल्न सकेको छैन । त्यसको प्रत्यक्ष असर सीमा क्षेत्रका नेपाली बजारमा परेको छ । गौरीफन्टा नाका भएर भित्रिने सामानको अभाव भएको छ भने खाद्यान्न लगायतको मूल्य आकासिएको छ ।

एक सातादेखि खाद्यान्नलगायत पेट्रोलियम पदार्थ ढुवानी हुन सकेको छैन । भारतीय सीमा बजार वनगाउँमा समेत खाद्यान्नलगायत सामानको अभाव देखिएको छ । सो बजारमा नेपालीले दैनिक करोडसम्मको कारोबार गर्दैै आएका छन । 

स्थानीय व्यापारीका अनुसार, चिनीको मूल्य बढेर ६० बाट ८० सम्म पुगेको छ अन्य सामानको पनि मूल्य बढेको छ । सुदूरपश्चिम प्रदेशका लागि भारतको बन्थरा डिपोबाट गौरीफन्टा हुँदै धनगढीको डिपोमा इन्धन आयात हुने गरेको छ । नेपाल आयल निगमले भारतको बन्थरा डिपोबाट इन्धन ल्याउन सकेको छैन ।


 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update