काठमाण्डौं, असार ३१
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलबाट मन्त्रीहरूको नाम करिव टुङ्गो लगाएका छन् ।
एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा पठाउने भएको छ । पौडेलले उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।
प्रधानमन्त्री ओलीले सोलुखुम्बूबाट पहिलो पटक चुनाव जित्ने मानवीर राईलाई मन्त्रीमा पठाउने भएका छन् । उनलाई रक्षा मन्त्रालयको जिम्मेवारी तोकेका छन । उनी पहिलो पटक निर्वाचन जित्ने र मन्त्री बन्न भाग्मानी सांसद हुन् । उनले कांग्रेसका प्रभावशाली नेता पूर्वमन्त्री बलबहादुर केसीलाई पराजित गरेका थिए । सोलुमा एमालेले बहुदलीय व्यवस्थापछि पहिलो पकट निर्वाचन जितेको हो ।
यसैगरी उपमहासचिव पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि तथा सञ्चार, मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरिएको छ । उनी गण्डकी प्रदेशका पूर्व मूख्यमन्त्री र पूर्व पर्यटन मन्त्री हुन् ।
त्यस्तै विद्या भट्टराईले शिक्षा मन्त्रालय सम्हाल्ने भएकी छिन् । उनी कास्कीबाट निर्वाचित सांसद हुन् । पूर्वमन्त्री स्वर्गीय रविन्द्र अधिकारीकी श्रीमती समेत हुन् । विद्यार्थी राजनीतिबाट संसदीय राजनीतिमा प्रवेश गर्नुअघि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेशामा संलग्न थिइन् । सुदूरपश्चिमबाट दामोदर भण्डारीले उद्योग मन्त्रालय सम्हाल्ने भएका छन् । उनी यसअघि दाहाल नेतृत्वको सरकारमा पनि उद्योग मन्त्रालयमै थिए ।
राजकुमार गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हाल्ने भएका छन् भने बलराम अधिकारीले भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सम्हाल्ने भएका छन् । उनी पनि दाहाल नेतृत्वको सरकारमा थिए । राष्ट्रिय सभा सांसद रहेका देबेन्द्र दाहालले भौतिक पूर्वाधार तथा यातायत मन्त्रीको सम्हाल्ने छन् ।