Hamro Patra
सहकारीद्वारा घरमै पुगेर दूध संकलन

योगेश रावल
टीकापुर, पुष ४
टीकापुर नगरपालिका–१ वनगाउँस्थित देउराली भञ्ज्याङ कृषि सहकारी संस्थाले किसानका घरमै पुगेर दूध संकलन गर्न थालेको छ । सहकारीले घरमै पुगेर दूध संकलन गर्न थालेपछि किसान निकै खुशी भएका छन ।

सहकारीले किसानको घरमै पुगेर दूध संकलन गर्न २ जना कर्मचारी खटाएको छ । कर्मचारीद्वय कलम सुनार र असौजी घर्तीमगर दूध संकलन गर्न बिहानै किसानका घरघरमा पुग्ने गरेका छन ।

सहकारीले दूध संकलन गरे वाफत आफ्ना कर्मचारीलाई प्रति लिटर डेढ रुपैयाँ कमिसन दिने गरेको व्यवस्थापक आशा चौधरीले जानकारी दिईन । उनले टाढाको किसानलाई दूध बेच्न सजिलो होस् भनेर सहकारीले दूध संकलन गर्न कर्मचारी खटाएको बताईन । ‘कतिपय किसानले उत्पादन गरेको दूध बजारसम्म पुग्न सक्दैन थियो’ उनले भनिन्–‘सहकारीले संकलन गर्न थालेपछि दूधले बजार पाएको छ र किसानलाई आम्दानी भएको छ ।’

Khadga Memorial And Janajagriti

सहकारीले बजारकै दररेटमा किसानबाट दूध खरिद गरिरहेको छ । उसले दूधको स्तर नापेर मूल्य निर्धारण गर्ने गरेको पाईएको छ । किसानले प्रति लिटर ३६ देखी ५० रुपैयाँसम्म पाउने गरेका छन । यो बजारमा रहेका डेरी उद्योगले फुटकर दूध खरिद गर्ने दररेट भएको व्यवस्थापक चौधरीले बताईन ।

सहकारीले किसानको घरमै पुगेर दूध संकलन थालेको मात्रै नभई वनगाउँमा दूध संकलन केन्द्र समेत स्थापना गरेको छ । यसले वनगाउँ आसपासका किसानलाई दूध बेच्नका लागि टीकापुर बजार जानुपर्ने वाध्यता हटेको छ । सहकारीले दूध संकलन केन्द्रमै पुगेर दूध बेच्ने किसानलाई समेत दूधको मूल्य सोही अनुसार निर्धारण गरेको छ ।

गाउँमै दूध संकलन हुन थालेपछि किसान दूध बेच्नेतर्फ अग्रसर हुन थालेका छन । उनीहरुले उत्पादन गरेको दूध यसअघि टाढा बेच्न जानुपर्ने झण्झटले बिक्री हुन सकेको थिएन । ‘२÷३ लिटर दूध बोकेर त्यति टाढा को जाओस् भन्ने हुन्थ्यो । अहिले घर नजिकै दूध संकलन केन्द्र भएर सजिलो भएको छ’ वनगाउँका किसान डम्बर चौधरीले भने–‘गाईवस्तु पाल्ने किसानलाई आम्दानीको स्रोत भेटिएको छ ।’

सहकारीले यही मंसिर १ गतेबाट दूध संकलन थालेको हो । उसले अहिले आफ्ना ३९० शेयर सदस्य रहेका किसानबाट मात्रै दूध संकलन गरिरहेको छ । सहकारीका शेयर सदस्य टीकापुर नगरपालिकाको वडा नं. १ र ३ मा रहेका छन । सहकारीले संकलन गरेको दूध टीकापुरमा रहेको बर्दादेवी डेरी उद्योगलाई बेच्ने गरेको छ । सहकारीका अध्यक्ष सुन्दर भगोरीयाले माग भए अन्य डेरी उद्योगलाई समेत दूध उपलब्ध गराउन सक्ने बताए । ‘माग भयो भने अरुलाई पनि बेच्न सकिन्छ’ उनले भने–‘हामी बढी भन्दा बढी दूध संकलन गरेर किसानको आर्थिक स्तर बढाउन प्रयासरत छौं ।’

सहकारीलाई दूध संकलनमा गुड नेवर्स इन्टरनेशनल र सेवक नेपालको साझेदारीमा सञ्चालित सामुदायिक विकास परियोजनाले ३ लाख ३५ हजार ६८८ रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको छ । संस्थाले २ वटा डिफ्रिज, ५ वटा ल्याक्टोमिटर, २ वटा सेन्टीफयुज मेसिन, एउटा बटरकमेकर मेसिन, एउटा मिल्क प्याकिङ मेसिन, २ वटा ल्याक्टोजार, एउटा क्रिम सेपारेटर मेसिन, २ सेट तराजु, ग्यास, ६ वटा ठूलो मिल्क क्यानल (दूध संकलन गर्ने भाँडो), ६५ वटा सानो मिल्क क्यानल सहयोग गरेको छ । सानो मिल्क क्यानल सहकारीले किसानलाई वितरण गरेको छ ।

यसका साथै संस्थाले सहकारी मार्फत किसानलाई पशुपालन सम्बन्धी विभिन्न तालिमहरु प्रदान गर्दै आएको अध्यक्ष भगोरीयाले बताए । उनले गाईभैँसीमा लाग्ने रोगब्याधीमा समेत संस्थाले उपचारको व्यवस्था गरिदिने गरेको जानकारी दिए ।

संस्थाले निम्न आर्थिक अवस्था भएका किसानलाई दूध बेचेर भएपनि थोरै आर्थिक सहुलियत होस् भन्ने उद्देश्यले सहयोग गरेको जनाएको छ । संस्थाकै पहलमा २०७२ पुसमा यो सहकारी स्थापना भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस ४, २०७६  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update