अछाम, असार २९
जिल्ला अदालत अछामले वर्षभरीको काम कारवाही बारे जानकारी दिएको छ । अदालतले पत्रकार भेटघाट कार्यक्रम गर्दै आर्थिक वर्ष २०८०÷८१ मा दर्ता भएका मुद्दाको अवस्थाबारे समेत जानकारी दिएको छ ।
सो अवसरमा जिल्ला अदालत अछामका श्रेस्तेदार शंकरप्रसाद अधिकारीले जिल्लामा मुद्दा फैसलाको अवस्था अघिल्लो वर्षकै हाराहारी रहेको जानकारी दिए । जिल्लामा यस वर्ष देवानी तथा फौजदारी लगायतका एक सय एक थान मुद्दा दर्ता भएका छन ।
जसमध्ये ५४ मुद्दा अन्तिम किनारा लागिसकेको छ भने यो आर्थिक वर्ष अन्तिम किनारा लाग्न बाँकी ४७ मुद्दा अर्को वर्षका लागि जिम्मेवारी सारिएको छ । तर, जिम्मेवारी सरेकामध्ये पनि केही मुद्दाहरु असार ३१ सम्म फैसलाको तयारीमा रहेको जिल्ला न्यायाधीश प्रकाश ढुंगानाले बताए ।
जिल्ला न्यायाधीश ढुंगानाले अन्य जिल्लाको तुलनामा अत्यन्तै न्यून मुद्दा आउने गरेको र ती मध्ये थोरै लम्बिए पनि अधिकांस मुद्दा लक्ष्य अनुसार नै फैसला भइरहेको बताए ।
गत वर्ष अछाम जिल्ला अदालतमा कुल एक सय ८० मुद्दा दर्ता भएका थिए । जसमा जिम्मेवारी सरेर आएका ५१ मध्ये ४७ र यो वर्ष दर्ता भएका एक सय एक मध्ये ५४ गरी अहिलेसम्म एक सय एक मुद्दा फैसला भएका छन् । अब गत वर्षका चार र यो वर्षका ४७ गरी ५१ मुद्दाको अन्तिम टुंगो लाग्न बाँकी छ ।
अहिले एक जना महिला बहुविवाह मुद्दामा थुनामा छिन् भने दुई नाबालकलाई सुधार गृहमा पठाइएको र एक नाबालकलाई अभिभावकको जिम्मा लगाइएको जिल्ला अदालत अछामले जनाएको छ । त्यस्तै यो वर्ष अदालतको अबहेलना गरेको आरोपमा एउटा मुद्दा दर्ता भएको छ ।