नेपालगन्ज, असार २९
धारिलो हतियार प्रयोग गरेर नेपालगन्जमा एक युवकको हत्या गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ का ३८ वर्षीय इरसाद राईमाथि शुक्रबार राती करिव १०ः३० बजेतिर खुकुरी प्रहार हत्या गरिएको हो ।
खुकुरी प्रहारबाट गम्भीर घाइते राईलाई राति नै भेरी अस्पतालमा राखिए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार मोटरसाइकलमा आएका दुईजनाले खुकुरी प्रहार गरी राई को हत्या गरेका हुन् ।
हत्या गर्ने समूहको पहिचान नभए पनि समूहले प्रयोग गरेको से ७ प ४२५३ नम्बरको मोटरसाइकल फेला परेकाले छिट्टै पहिचान हुने उनको भनाइ छ ।
उनले भने ‘हत्या गर्ने व्यक्तिको पहिचान भएको छैन, तर हामीले एउटा मोटरसाइकल फेला पारेका छौं र एक जना व्यक्तिलाई समेत पक्राउ गरेका छौं, सोही आधारबाट हामी हत्यारा पक्राउ गर्न नजिक पुगिसकेका छौं ।’
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लागूऔषध दुर्व्यशनीकर्ता बिच आपसमा विवाद भएको थियो । झगडा र विवाद मिलाउन गएका राईमाथिनै खुकुरी प्रहार हुँदा उहाँको मृत्यु भएको छ ।
हत्यामा संलग्नहरुको खोजी र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।