Hamro Patra
डेंगीले लियो तीन जनाको ज्यानः एक हजार बढी प्रभावित

टीकापुर, असार २७
गत वर्षका तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी वृद्धि भएका छन्  । यसवर्ष १ हजार १ जना डेङ्गी सङ्क्रमित  भएका हुन् । गत वर्ष ४ शय ५५ जना डेङ्गीबाट सङ्क्रमित भएका थिए । 

टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले दिएको जानकारी अनुसार गत वर्ष धनगढीमा १ शय ७३, लम्की चुहामा १ शय १३, बर्दगोरियामा ७२,  टीकापुरमा ४०, जानकीमा ४, भजनीका ५ र जोशीपुरमा ६ जनामा डेङ्गी सङ्क्रमण देखिएको थियो । 

वि.सं. २०८० मा डेङ्गीबाट कैलालीमा तीन जनाको मृत्यु भएको थियो । कैलाली डेङ्गीको उच्च जोखिममा रहेका १० जिल्लामा नवौँ स्थानमा पर्छ । डेङ्गीसँगै कैलाली स्क्रफ टाइफसको पनि जोखिममा छ । 

CMA Staff

यस वर्ष जिल्लामा स्क्रफटाइफस ८ शय ३७ जनामा देखिएको छ । गत वर्ष ५ शय २९ जना बिरामी उपचारमा आएका थिए । टीकापुरमा स्क्रफटाइफसका गत वर्ष ७३, लम्कीचुहामा ३ शय १ जना बिरामी थिए । 

स्थानीय पालिकाहरुले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टका लार्भा नष्ट अभियान, सरसफाई अभियान, जनचेतनामूलक कार्यक्रम, प्रचारप्रसार जस्ता कार्य गर्दै आएका छन् । 

टीकापुर अस्पतालका जनरल मेडिसिन दिलिपकुमार साहले रोग लाग्नबाट बच्नु नै उत्तम उपाय भएको बताउँदै डेङ्गी मानिसलाई पटक पटक भएमा जोखिम हुने बताए । 

‘डेङ्गी पटक पटक हुनु जोखिम हुन्छ, डेङ्गी भएर जटिल अवस्था आएमा ज्यानसमेत जानसक्ने भएकाले नागरिक सचेत हुनुपर्छ’ उनले भने, ‘वर्षातका समयमा लामखुट्टेको टोकाइबाट बचेमा धेरै यो रोगबाट बच्न सकिन्छ ।’ 

डाक्टर साहले डेङ्गी तीन अवस्थाको हुने जनाउँदै ज्वरो अवस्था खासै जोखिम नहुने, संवेदनशील अवस्थामा खतरा हुने भएकाले समयमै उपचारमा जानुपर्ने बताए । 

टीकापुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रेमकुमार राईले अस्पतालमा २४ जना चिकित्सक रहेका, विपदमा आवश्यक औषधि, उपचार र सक्रियताबारे छलफल गरेर योजना निर्माण गरिएको बताए । उनले वर्षातमा डेङ्गी, टाइफसजस्ता बिरामी बढी आउने भएकाले यस्तो बेला सचेतना, पूर्वतयारी सबैतिर आवश्यक हुने बताए । 

‘त्यसै पनि हामीकहाँ बिरामीको चाप छ, विपद् जोखिम रहेको यो क्षेत्रमा वर्षातमा अझ बिरामी बढ्ने भएकाले हामीले तयारी गरेका छौँ’ उनले भने ‘यो समयमा चिकित्सक बिदामा नबस्ने, औषधी, उपकरणको जोहो जस्ता तयारी गरेका छौँ ।’

टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले अस्पतालको फोहोर व्यवस्थापनमा पालिकालाई सघाउन आग्रह गरे । ‘फोहोरकै कारण धेरै रोग लाग्छ, सरुवा रोगबाट बच्न सरसफाइमा ध्यान दिनुपर्छ’ उनले भने, ‘हामीसँग दुईवटा फोहोर प्रशोधन गर्ने अटोक्लेभ मेसिन छन् । नगरपालिकाले नगरभित्र सङ्कलन भएको प्लाष्टिकजन्य फोहोर हामीकहाँ प्रशोधन गर्न सक्छ ।’

अध्यक्ष सोडारीले आफूहरु टीकापुरसहित अन्य पालिकाको फोहोरसमेत प्रशोधन गर्नसक्ने भएकाले सहकार्य गर्न तयार रहेका बताए । ‘मिलेर फोहोर व्यवस्थापन गरेमा प्लाष्टिकको पुनः प्रयोग गरेर आम्दानी गर्न सकिन्छ’ उनले भने ‘हामीले प्रशोधन गरेको फोहोर बिक्री गर्ने गरेका छौँ ।’

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update