Hamro Patra
पृथ्वीपुर प्रहरी जीर्ण भवनमा बस्न वाध्य

योगेश रावल
टीकापुर, पुष ३
नागरिकको जिउज्यानको सुरक्षा प्रहरीको प्रमुख दायित्व हो । तर आफ्नै जिउज्यानको ठेगान नभएको प्रहरीले नागरिक प्रतिको दायित्व निर्वाह गर्नुपर्ने वाध्यता छ ।

यस्तो वाध्यता भजनी नगरपालिका–५ स्थित सिमा प्रहरी चौकी पृथ्वीपुरका प्रहरीले भोग्दै आएका छन । उनीहरु बस्दै आएको भवन कुन बेला भत्किने हो ठेगान छैन । भवन निकै जीर्ण छ । भवनको छत र भित्ता भत्किन थालेको छ ।

‘कुनबेला यही ओत लागेको भवन भत्किएर ज्यान जाने हो भन्ने त्रासले रातभर निद्रा लाग्दैन’ एक प्रहरीले भने–‘मृत्युको मुखमा बाँच्नु परिरहेको छ ।’

Khadga Memorial And Janajagriti

उनीहरु वर्षाको समयमा एकछिन समेत सुत्न पाउँदैनन् । भत्किएको छतबाट पानी चुहिन्छ । प्रहरीले छतमाथि त्रिपाल बिछ्याएर चुहिने पानी रोकथामको प्रयास गरेका छन । तैपनि छतबाट पानी चुहिन कुनै दिन रोकिदैन । ‘आज एक ठाउँ रोक्यो भोलि अर्को ठाउँबाट चुहिन्छ’ एक प्रहरीले भने–‘पूरै छत क्षतविक्षत छ रोकेर साध्य छैन ।’

यो भवन कहिले बनेको हो यकिन छैन । भवनको संरचना हेर्दा वर्षौ पुरानो देखिन्छ । त्यही माथि माओवादी द्वन्द्वका क्रममा भवनले बमको सामना गर्नु प¥यो । सुदूरपश्चिममा प्रहरी चौकी आक्रमण माओवादीले यही भवनबाट गरेका थिए ।

२०५८ सालमा भएको माओवादी आक्रमणमा भवन क्षत विक्षत हुनुका साथै २ जना प्रहरीले ज्यान समेत गुमाएका थिए । त्यसको केही समयपछि माओवादीले पुनः भवनमा आगजनी समेत गरे ।

माओवादीले बारम्बार आक्रमण गर्न थालेपछि प्रहरी यो भवन छोडेर इलाका प्रहरी कार्यालय भजनी सरेका थिए । मुलुकमा शान्ति स्थापनासँगै विस्थापित प्रहरी चौकी स्थापित भए । सोही क्रममा प्रहरी पुनः यो भवनमा फर्किए ।

एकातिर वर्षौ पूरानो, अर्कोतिर बम आक्रमण र आगजनीले जीर्ण बनेको भवनमा प्रहरी रंगरोगन गरेर बस्न थाले । चौकी पुर्नस्थापना भएपछि प्रहरीलाई जीर्ण भवनमा बस्नुपर्ने वाध्यता छ ।

चौकीमा २३ जना सुरक्षाकर्मीको दरबन्दी छ । अहिले एकजना प्रहरी नायब निरिक्षकको नेतृत्वमा ८ जना प्रहरी कार्यरत छन । उनीहरु सबै एउटै कोठामा सुत्छन ।

चौकी नेपाल भारत सिमा क्षेत्र भन्दा डेढ किलोमिटर टाढा छ । यो बाढी प्रभावित क्षेत्र हो । प्रहरीले वर्षाको समयमा बाढीको समेत सामना गर्नुपर्छ । मोहना र कन्द्रा नदीको बाढीले प्रहरी भवन चुर्लुम्म डुब्छ । वर्षाको समय प्रहरीका लागि निकै कष्ठकर रहने इञ्चार्ज लोकेन्द्र चन्दले बताए । उनले प्रहरीले भोग्दै आएको दुःख देखेर भजनी नगरपालिकाले भवन निर्माणको काम थालेको बताए ।

प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update