टीकापुर, असार २५
कैलालीको धनगढी स्थित निसर्ग अस्पतालमा उपचाररत एक २२ वर्षीया युवतीको ज्यान गएपछि आफन्त आक्रोशित भएका छन् ।
पेट दुखेर भर्ना भएकी धनगढी उपमहानगरपालिका वडा नं. १ शिवनगरकी २२ वर्षीया लक्ष्मी जोशीको सोमबार राति मृत्यु भएको हो । पेट दुखेर राति अस्पताल भर्ना भएकी लक्ष्मीको उपचारको क्रममा मृत्यु भएको थियो ।
मृतकका आफन्त नन्दराज जोशीका अनुसार लक्ष्मी हेल्थ असिस्टेन्ट(एचए)को ओजेटीका क्रममा धनगढीकै नवजीवन अस्पतालमा कार्यरत थिइन् । ‘हिजो ड्युटीबाट फर्केपछि उनको पेट दुख्न थालेछ । त्यसपछि उनीलाई नजिकै रहेको निसर्ग अस्पतालमा लगिएको थियो । त्यहाँ चेकजाँच भएपछि केही औषधी दिएर साँझ ८ बजे घर फर्काइएको थियो । तर दुखाई कम नभएपछि उनीलाई पुनः अस्पतालमा लगिएको थियो’ उनले भने ।
थप उपचारका लागि अस्पताल पुगेपछि उनलाई भर्ना गरेर दुखाई कम गर्ने विभिन्न औषधी दिइएको उनको भनाई । तर लक्ष्मी र सँगै रहेकी आमाले त्यसरी लगातार दुखाईको ‘हाइ डोज’ औषधी थप्दै गर्दा इन्कार गरेता पनि अस्पतालले मानेको थिएन ।
नर्ससमेत रहेकी आमाको भनाई उद्धृत गर्दै जोशीले भने ‘उनले पीडा कम नभएको । निकाल्दिनु भन्दा पनि त्यहाँ रहेका कर्मचारीले मानेनन् । अचानक उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि चिकित्सकलाई बोलाइएको थियो । पछि चिकित्सकले लक्ष्मीलाई मृत घोषणा गरेका थिए ।’
उनका अनुसार चिकित्सकले मृत्युको ठोस कारण दिन सकेका छैनन् । ‘कसैले हृदयघात भन्छन् भने कोही कारण नै थाहा नपाइएको बताइरहेका छन’ उनले भने ।
चिकित्सकले उपचारमा लापरबाही भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् । मृतकका आफन्तले उपचारमा संलग्न डाक्टरलाई कारबाही हुनुपर्ने माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृतको शव अस्पतालमै छ ।
यसअघि समेत सो अस्पतालमा उपचारका लागि भर्ना भएका केही विरामीहरुको ज्यान गएको भन्दै आफन्तहरु आन्दोलित हुने गरेका थिए ।