Hamro Patra
कैलाली र कञ्चनपुर डुवानमा, ६४१ परिवार विस्थापित

धनगढी, असार २४
वर्षासँगै आएको बाढी र डुवानले कैलाली र कञ्चनपुरमा ६४१ परिवार प्रभावित भएका छन् । शनिबारदेखिको वर्षापछि आएको बाढी बस्तीमा पसेपछि दुवै जिल्लाका बाढी तथा डुवानबाट प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

सुदूरपश्चिमका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रबिन्द्र केसीले दुवै जिल्लाका ६४१ परिवारका २३ सय १५ जनालाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए । उनीहरूलाई सामुदायिक विद्यालय र सामुदायिक भवनमा राखिएको छ ।

CMA Staff

कञ्चनपुरमा ५११ परिवारका १७ सय २८ जना र कैलालीमा १३० परिवारका ५८७ जनालाई सुरक्षित स्थानमा सारिएको डीआईजी केसीले बताए । आइतबार साँझदेखि वर्षा हुने क्रम बढेपछि राति प्रभावितहरुको संख्या समेत बढेको थियो । 

कञ्चनपुरका विभिन्न स्थानमा नदी तथा खोलाको भंगालोमा फसेका २९ जनाको सकुशल उद्दार समेत गरिएको डीआईजी केसीले जानकारी दिए । अहिलेसम्म कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिनाको शिशुको मृत्यु तथा कैलाली र कञ्चनपुरमा नदीमा डुबेर दुईजना बेपत्ता भएको बाहेक थप मानवीय क्षति नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

डीआईजी केसीले बाढी,पहिरो तथा डुवानबाट प्रभावित भएकाहरूको उद्धारका लागि प्रदेशभर दुई हजार तीन सय भन्दा बढी प्रहरी परिचालन गरिएको जानकारी दिए । सोमबार बिहान बसेको प्रदेश सुरक्षा समितिको बैठकले बाढी, पहिरो र डुबानबाट प्रभावित भएकाहरुको उद्धारलाई तीव्रता दिने, उनीहरुको व्यवस्थापनसँगै खानपानमा समेत विशेष ख्याल गर्ने तथा उद्दार तथा राहतमा सुरक्षा निकायसँगै राजनीतिक संयन्त्रलाई समेत सक्रिय बनाउने निणर्य भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बाढी तथा डुबानबाट कैलालीको पूर्वी भू-भाग बढी प्रभावित भएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले कान्द्रा र काँडा नदीका कारण भजनी नगरपालिका र जोशीपुर गाउँपालिका क्षेत्र डुबानमा परेको जानकारी दिए ।

उनका अनुसार भजनी नगरपालिकाका वडा नम्बर ५ र ७, जोशीपुर गाउँपालिकाका वडा नम्बर ३ र ८ तथा टीकापुर नगरपालिकाको वडा नम्बर ६ बाढी र डुबानका कारण प्रभावित भएका छन् ।

धनगढी उपमहानगरपालिकाका वडा नम्बर १८ र १९ तथा गौरीगंगा नगरपालिकाका केही वडा समेत डुबानमा परेका छन् । ती ठाउँमा पनि रातिदेखि नै उद्धारको कार्य जारी रहेको एसपी विष्टले बताए ।
अन्नपूणर् पोष्ट

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update