धनगढी, असार २३
दुई दिनदेखि परिरहेको अविरल वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लाको सडक यातायात सेवा अवरुद्ध भएको छ । डडेलधुरा, डोटी, बैतडी, बझाङ, अछाम र बाजुरा जिल्लाका मूल सडकमा ठाउँ-ठाउँमा पहिरो खसेर सडक यातायात अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय धनगढीका प्रमुख एसपी राजीव बस्नेतका अनुसार बझाङको जयपृथ्वी नगरपालिका ७ तमेल, बैतडीको खोड्पे बझाङ सडकखण्डको ढोल्यामोड, डडेलधुरा-बैतडी सडकखण्डको भालुमारे, डडेलधुराकै सुनखोलामा पहिरोले जोगबुडा-बुडर सडक, डडेलधुराको गन्यापधुरास्थित रडुवाखोला (डडेलधुरा-डोटी) सडक अवरुद्ध छ ।
यस्तै अछाम बाजुरा जोड्ने साँफे-मार्तडी सडक खण्डको विभिन्न ठाउँमा पहिरो खसेर सडक यातायात अवरुद्ध भएको एसीपी बस्नेतले बताए । ‘पहिरो पन्छाएर सडक यातायात सञ्चालन गराउने प्रयास भइरहेको छ । तर लगातारको वर्षाल कठिन भइरहेको छ,’ एसपी बस्नेतले भने ।