टीकापुर, असार २३
केही दिनदेखी परिरहेको अविरल वर्षाले सुदूरपश्चिम प्रदेशको जनजीवन कस्टकर बनेको छ । वर्षाका कारण ठाउँ-ठाउँमा मुख्य तथा शाखा सडक अवरुद्ध बनेका छन् भने बाढी तथा पहिरोको जोखिमले केही स्थानीयहरू घर छोड्न बाध्य भएका छन् ।
रातभर कैलाली र कञ्चनपुरमा वर्षा भएपछि दुबै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले ‘हाई अलर्ट’ जारी गरेका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले एक सूचना जारी गर्दै कैलाली र कञ्चनपुरका नदी तटीय बस्तीमा सचेत रहन आग्रह गरिएको छ ।
‘केन्द्रीय विपद् व्यवस्थापन महाशाखा सिंहदरबार काठमाडौँबाट प्राप्त सूचना अनुसार आज राति कैलाली र कञ्चनपुर जिल्लामा भारी वर्षा हुने सम्भावना देखिएको भन्ने जानकारी प्राप्त भएकाले नदी किनार र तटीय क्षेत्रमा बस्ने जिल्लावासी महानुभावहरूमा अहिलेदेखी नै सतर्क रहिदिनुहोला’ प्रमुख जिल्ला अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा पनि झरी परिरहेको छ । बैतडीको सतबाँझ-श्रीभावर सडक अवरुद्ध भएको छ ।
यस्तै बझाङमा पहिरोका कारण जयपृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ। शनिबार बिहान राजमार्ग अन्तर्गत तमैलमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको हो ।
यस्तै पहाडी जिल्लाका ग्रामीण क्षेत्र जोड्ने दर्जनौँ शाखा सडक पनि अवरुद्ध छन्। वर्षाले सडकसँगै स्थानीयका घरमा पनि क्षति गरेको छ।
यसअघि नै कैलालीका भजनी लगायतका बस्ती डुबानमा परिसकेका छन् ।