टीकापुर, असार २२
टीकापुर जेसिजले स्थापनाको २७ औं स्थापना दिवस एक कार्यक्रमको आयोजना गरी मनाएको छ । सन् १९९७ मा स्थापना भएको टीकापुर जेसिजले २७औं स्थापना दिवस तथा जुनियर जेसिजको दोश्रो स्थापना दिवस मनाएको हो ।
जेसिजले स्थापना गरेको अक्षयकोषबाट प्राप्त ब्याज रकमबाट एक छात्र तथा एक छात्रालाई छात्रवृत्ति वितरण गर्दै स्थापना दिवस मनाएको हो ।
टीकापुरस्थित कर्णाली माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा प्रशंसा बुढा र छात्र खगेन्द्र अधिकारीलाई यस वर्षको छात्रवृत्ति प्रदान गरिएको छ ।
उनीहरुलाई जेसिजले नगद ५ हजार १ शय ५ रुपैयाँसहित प्रमाणपत्र प्रदान गरेको हो । कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै टीकापुर नगरपालिकाका वडा नं. १ का अध्यक्ष मोहनसिंह वि.क.ले व्यक्तित्व विकास तथा व्यावसायिक क्षमता अभिवृद्धिका लागि जेसिज उत्कृष्ठ पाठशाला भएको बताए ।
उनले टीकापुर जेसिजले बिजनेश एमाडेमी जस्ता प्रभावकारी कार्यक्रमहरुको आयोजना गरेर यस क्षेत्रका युवाहरुलाई आबद्ध गर्नुपर्नेमा जोड दिए ।
टीकापुर जेसिज वर्ष २०२४ का अध्यक्ष रुपकबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष प्रकाश शाह, पूर्व अध्यक्ष एवं नेपाल जेसिजका पूर्व महासचिव टेकराज रेग्मी, पूर्वअध्यक्ष लक्ष्मणबहादुर थापा, पत्रकार परमानन्द पाण्डे, नेपाल तरुण दलका क्षेत्रीय अध्यक्ष कल्पेश कुँवर लगायतले शुभकामना व्यक्त गरेका थिए ।
जेसिजका कार्यकारी उपाध्यक्ष सुशील भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव भरत भण्डारीले गरेका थिए । सोही अवसरमा जेसिजले केक काटेर जेसिजको स्थापना दिवस मनाएको हो ।