Hamro Patra
प्रसुती गृह निर्माणले महिलाको ज्यान जोगियो

योगेश रावल
टीकापुर, पुष २
बर्दगोरीया गाउँपालिका–६ कोटातुल्सीपुरका धेरैजसो महिला घरमै बच्चा जन्माउथे । उनीहरु गाउँ नजिकै भरपर्दो प्रसुती सेवा नहुँदा घरमै बच्चा जन्माउन वाध्य थिए ।

घरमै बच्चा जन्माउने क्रममा कतिपयले अकालमा ज्यान गुमाउथे । स्थानीयका अनुसार घरमै सुत्केरी हुने क्रममा धेरै महिलाले ज्यान गुमाएका छन ।

महिलाहरु प्रसुती सेवाका लागि कैलालीको सदरमुकाम धनगढी वा बाँकेको नेपालगञ्ज जानुपर्ने वाध्यता थियो । सबै गर्भवती महिलाहरु समयमा धनगढी र नेपालगञ्ज पुग्न सक्दैन थिए । जसकारण उनीहरु अकालमै ज्यान गुमाउन वाध्य हुन्थे ।

Khadga Memorial And Janajagriti

गुड नेवर्स इन्टरनेशनलको आर्थिक र सेवक नेपालको प्राविधिक सहयोगमा कोटातुल्सीपुर स्वास्थ्य चौकीमा प्रसुती गृह निर्माण भएपछि महिलाहरुलाई निकै सजिलो भएको छ । उनीहरु अहिले स्वास्थ्य चौकीमा सुत्केरी सेवा लिईरहेका छन । गाउँघरमै सुत्केरी सेवा पाएपछि महिलाहरुको ज्यान जोगिएको छ ।

‘धेरै महिलाहरुको ज्यान जोगिएको छ’ स्वास्थ्य व्यवस्थापन समितिकी सदस्य मीनादेवी कठरियाले भनिन्–‘ती दिन सम्झिदा त अहिले महिलालाई निकै सजिलो भएको छ ।’

प्रसुती गृह निर्माणमा गुड नेवर्स इन्टरनेशनलले ७ लाख ९७ हजार ९६६ रुपैयाँ, वडा कार्यालयले २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ भने समुदायका बासिन्दाले १ लाख ८७ हजार २७९ रुपैयाँ श्रमदान गरेका छन ।

संस्थाको आर्थिक सहयोगमा प्रसुती गृह निर्माणका साथै डेलिभरी बेड, फर्निचर र अन्य उपकरणको समेत व्यवस्था गरिएको छ । जसका कारण महिलाहरुलाई सुत्केरी सेवा लिनमा सहज भएको छ ।

२०७५ जेठ १५ गते प्रसुती गृह निर्माण भएर सञ्चालनमा आएपछि होम डेलिभरी (घरमा सुत्केरी हुने) शुन्यमा झरेको छ । सबै महिलाहरु गर्भ जाँचदेखी लिएर बच्चा जन्माउन स्वास्थ्य संस्थामा आउन थालेको इञ्चार्ज शिवकुमार कठरियाले जानकारी दिए । उनले महिलाहरु स्वास्थ्य संस्थामा आउन थालेपछि मातृ मृत्युदर घटेको बताए । ‘मातृ मृत्युदर शुन्यमा झरेको छ’ उनले भने–‘सुत्केरी सेवा नपाएर हिजोआज कुनै महिलाले ज्यान गुमाउनु पर्दैन ।’

स्वास्थ्य चौकीले प्रसुती गृह मार्फत भरपर्दो सुत्केरी सेवा दिन थालेपछि वडा नम्बर ४ का नौ वटा गाउँ मात्रै हैन छिमेकी वडाका बासिन्दाले समेत सेवा लिन थालेका छन । बर्दगोरीया गाउँपालिका–४ ठोठरपुरकी निलम कठरिया गर्भावस्था जचाउन स्वास्थ्य चौकी पुगेको भेटिईन । उनले आफू भन्दा अघिको पुस्ताका धेरै महिलाले दुःख पाएको बताईन ।

‘पहिलेका महिलाहरुलाई निकै दुःख थियो । तर अहिले निकै सहज भएको छ’ उनले भनिन्–‘कम्तिमा गाह्रो साह्रो छ भने समयमै सुविधा सम्पन्न अस्पताल जाने सल्लाह त पाइन्छ ।’

स्वास्थ्य चौकीमा प्रसुती सेवा सुरु भएको भने २०६९ सालमा हो । सानो कोठामा प्रसुती सेवा सञ्चालन गर्दा निकै कठिनाई थियो । जसले गर्दा स्वास्थ्य चौकीले भरपर्दो सुत्केरी सेवा दिन सकेको थिएन । प्रसुती गृह निर्माण भएपछि भने निकै सहज भएको अनमी सुमित्रा रावतले बताईन । उनले मासिक कम्तिमा २० जनाले सुत्केरी सेवा लिने गरेको जानकारी दिईन । उनका अनुसार जसमध्ये कहिलेकाँही २÷३ जनालाई मात्रै अन्यत्र रिफर गर्नुपर्ने अवस्था आउने गरेको छ ।

‘अवस्था जटिल छ भने हामी जोखिम उठाउन चाहन्नौ’ उनले भनिन्–‘हामीसँग अन्य विकल्प पनि त छैन ।’

स्वास्थ्य चौकीमा सामान्य सुत्केरी सेवा मात्रै छ । अप्रेसन मार्फत बच्चा जन्माउनु पर्ने लगायतको समस्या देखियो भने समयमै अन्यत्र रेफर गरिन्छ । स्वास्थ्य चौकीले २४ घण्टे सुत्केरी सेवा दिँदै आएको छ । जसका लागि ४ जना अनमी कार्यरत छन । जसमध्ये २ जना स्थायी र २ जना करारमा कार्यरत छन ।

वडा कार्यालयले प्रसुती सेवालाई अझ प्रभावकारी बनाउने सोच लिएको छ । वडाध्यक्ष रामकृष्ण डगौरा थारुले प्रसुती गृहको तला थप, शौचालय, बिरामी कुरुवा लगायतका भौतिक संरचना समेत निर्माण गर्ने योजना रहेको जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, पुस २, २०७६  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update