Hamro Patra
वडाध्यक्षहरुले गरे कार्यपालिका बैठक बहिष्कार

टीकापुर, असार २१

कैलालीको लम्कीचुहा नगरपालिकाका अधिकांश वडाध्यक्षहरुले बजेट बाँडफाँडको विषयमा विमती जनाउँदै कार्यपालिका बैठक बहिष्कार गरेका छन । उनीहरुले वडा कार्यालयलाई न्यून बजेट दिएको भन्दै विमती जनाएका छन । 

वडाध्यक्षहरुले प्रति वडा कार्यालय एक करोड रुपैयाँ बजेट माग गरेका छन । नगर प्रमुख सुशीला शाहीले यसअघि दिँदै आएको ४० लाख मात्रै उपलब्ध गराईने भनेपछि वडाध्यक्षहरुले विमती जनाएका हुन । 

Khadga Memorial And Janajagriti

नगर प्रमुख शाहीले वडा कार्यालयको बजेट यथावत राखेर नगर कार्यपालिकाको चालु खर्च अस्वभाविक रुपमा वृद्धि गरेको वडाध्यक्षहरुले आरोप लगाएका छन । उनीहरुले आगामी आर्थिक वर्षका लागि नगर प्रमुखले चालु खर्चतर्फ करिव २२ करोड रुपैयाँ विनियोजन गर्ने तयारी गरेको जानकारी दिएका छन । 

नगर प्रमुख शाही वैदेशिक भ्रमणमा गएका कारण नगरसभा सम्पन्न हुन सकेको छैन । जेठ २१ गते नीति तथा कार्यक्रम पास गरेर नगरसभा स्थगित भएको थियो । नगरसभा स्थगित गरेर नगर प्रमुख शाही जर्मनी, डेनमार्क, फिनल्याण्ड भ्रमणमा निस्केकी थिईन । 

उनी केही दिन अघि मात्रै स्वदेश फर्किएकी छन । उनी स्वदेश फर्के लगत्तै बजेट बाँडफाँड गर्ने गरी हिजोदेखी कार्यपालिका बैठक सुरु भएको थियो । कार्यपालिका बैठकमा अधिकांश वडाध्यक्षहरुले वडा कार्यालयको बजेट वृद्धि गर्न माग गरेका थिए ।

‘वडामा हुने विकास निर्माणका कामको बजेट कटौती गर्ने कुरा चित्त बुझ्दो भएन’ वडा नम्बर २ का वडाध्यक्ष सन्तोष ओलीले भने –‘बजेट अभावमा वडामा विकास हुन सकेको छैन ।’

वडाध्यक्षहरु बजेट वृद्धिको माग गर्दै छुट्टै छलफलमा जुटेका छन । उनीहरुले आफूहरुको माग सम्बोधन नभए नगरसभा गर्न नदिने चेतावनी दिएका छन । यही असार २५ गते नगरसभा आह्वान गरिएको छ । 

वडा नम्बर ८ का वडाध्यक्ष हरिप्रसाद चौधरीले आज नगर कार्यपालिका बैठकमा उपस्थित नभएको बताए । उनले वडाध्यक्षहरु छुट्टै बसेर सरसल्लाह गर्ने तयारी भैरहेको बताए । ‘हामी छुट्टै बस्छौं’ उनले भने –‘हाम्रो माग सम्बोधन नभएसम्म कार्यपालिका बैठकमा उपस्थित हुँदैनौं ।’

तर वडा नम्बर ४ का वडाध्यक्ष ताराप्रसाद अधिकारी र वडा नम्बर १० का वडाध्यक्ष हर्क कठरियाले भने त्यति ठूलो विमती नरहेको बताए । उनीहरुले केही कुरामा चित्त नबुझेको मात्रै बताए । ‘बहिष्कार नै हैन । त्यति ठूलो विमती पनि छैन’ उनले भने – ‘केही कुरामा असहमति मात्रै हो ।’ 

नगरपालिकाको प्रमुख शाही नेपाली काँग्रेस र उप प्रमुख जुना चौधरी नेकपा एमालेबाट विजयी भएका हुन । १० वटा वडा मध्ये ६ वटा नेपाली काँग्रेस, २ वटा नेकपा एमाले र १÷१ वटा नेकपा माओवादी र स्वतन्त्रले जितेका छन ।  
 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update