Hamro Patra
टीकापुर अस्पतालद्वारा असहायको निःशुल्क उपचार

टीकापुर, पुस १
टीकापुर अस्पतालमा आएका एक असहायलाई अस्पतालले निःशुल्क उपचार गरेको छ ।

टीकापुर नगरपालिका–१ स्थित एकतानगर शिविरमा बस्दै आएका अति अशक्त २० वर्षीया टेकबहादुर कडारालाई अस्पतालले निःशुल्क उपचार गरेको हो । उनी ७१ वर्षीया धन्ज्या कडाराका छोरा हुन् । धन्ज्याकी १३ वर्षीया छोरी जना कडारा समेत अपांग छन् ।

Khadga Memorial And Janajagriti

आर्थिक अवस्था नाजुक रहेका छोरा टेकबहादुरलाई केही दिनदेखि पेट दुःख्ने र सुनिने रोगले सताएको थियो । टीकापुर अस्पतालमा उपचारका लागि उनलाई डाक्टरले भर्ना गर्न भनेपछि आफूसँग उपचार खर्च नभएको भन्दै धन्ज्या रुँदै बसेका थिए ।
टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले आफ्नै पहलमा उनका छोरा टेकबहादुरलाई अस्पताल भर्ना गरेर उपचार शुरु गरेका हुन् ।

सोमवारदेखि अस्पताल भर्ना भएका उनको स्वास्थ्य अहिले सुधारोन्मुख रहेको छ । कडारालाई उपलब्ध हुने सामाजिक सुरक्षा खर्चले उनले दुई अपांग सन्तान पाल्दै आएका छन् । उनकी श्रीमतीको १३ वर्षअघि नै मृत्यु भएको थियो ।

‘औषधी गर्न निकै गाहे थियो, हामीसँग पैसा थिएन, फिर्ता जाँदै थिएँ उहाँसँग भेट भयो, अहिले भर्ना गरेर छोराको औषधी भइरहेको छ’ कडाराले भने ‘आज खाना पनि उहाँले नै खुवाउनु भयो, हामी गरीब मान्छे औषधी गरौं कि खाना खाऊँ ।’

अस्पतालले निःशुल्क उपचार गरिदिए पछि कडाराले खुशी व्यक्त गरे । अस्पताल विकास समितिका अध्यक्ष रावलले भने ‘उपचार गर्ने खर्च छैन भन्दै रुँदै फिर्ता जान लागेको देखेपछि हामीले भर्ना गरेका हौं, जाडोमा दुई थान ज्याकेट पनि दियौं, अहिले ठीक भइरहेको छ ।’

अस्पताल विकास समितिको अध्यक्षमा चयन भएसँगै रावलले अस्पतालमा सुधारको प्रयास गरिरहेका छन् । रावलले समितिको पहिलो बैठकबाटै नगरपालिका भित्रका १४ वर्ष मुनिका अभिभावक नभएका बालबालिकालाई निःशुल्क उपचार गर्ने निर्णय गरेका थिए ।

यद्यपि स्थानीय तहले भने त्यस्ता बालबालिकाको तथ्यांक उपलब्ध गराउन सकेको छैन । अस्पताल सरसफाईमा जोड दिइरहेका रावलले भने ‘अहिले कर्मचारीहरुमा समेत काम गर्ने उत्साह थपिएको छ, विरामीहरुका लागि विमाको पर्चा काट्ने लाइन छुट्टै व्यवस्था गरेका छौं ।, अस्पताल हाताभित्र सामान्य गार्डेन निर्माण गर्दैछौं ।’ अस्पतालमा केही सुधारको संकेत देखिएको स्थानीयहरु बताउँछन् ।

प्रकाशित मिति: मंगलबार, पुस १, २०७६  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update