धनगढी, असार ११
नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेश सरकारको रेडबुक बिचौलिया मार्फत सार्वजनिक भएको आरोप लगाएको छ । आज धनगढीमा पत्रकार सम्मेलन गर्दै काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले सरकारले हालसम्म सार्वजनिक गर्न नसकेको रेडबुक बिचौलिया मार्फत सार्वजनिक भएको बताए ।
उनले प्रदेश सरकारले आव २०८१÷२०८२ का लागि तयार पारेको रेडबुकको पिडिएफ कपी आफ्नो हातमा पुगेको बताए । उनले सरकारकै मान्छेहरुबाट रेडबुक बिचौलियाका हातमा पुगेको दावी गरे । उनले घटनालाई दुर्भाग्यपूर्ण बताएका छन ।
उनले रेडबुक सार्वजनिक भएको घटना बारे सरकारले नैतिक रुपमा जिम्मेवारी लिएर छानविन समिति गठन गर्न माग गरेका छन । उनले घटनामा संलग्नलाई कारवाही समेत गर्नुपर्ने बताए ।
उनले घटनालाई सामान्य रुपमा नलिन सरकारसँग आग्रह गरेका छन । ‘यो घटना सामान्य हैन । सरकारले गम्भीरताका साथ छानविन गरेर घटनाको सत्यतथ्य सार्वजनिक गरोस’ उनले भने –‘नत्र हामी प्रतिरोध गर्छौ । विरोध गर्छौ । सरकार छोड्न वाध्य पार्छौ ।’
सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गरेको थियो । सरकारले बजेट सार्वजनिक गरेको केही दिन भित्रै रेडबुक प्रकाशित भईसक्नु पथ्र्यो । यसअघिका वर्षहरुमा एक साता भन्दा अगावै रेडबुक प्रकाशित गरिन्थ्यो । तर यसवर्ष भने सरकारले अहिलेसम्म रेडबुक प्रकाशित गर्न सकेको छैन ।
सरकारले प्रकाशित गर्न नसकेको रेडबुकको पिडिएफ कपी अहिले हरेकको हात हातमा पुगिसकेको छ । सरकारले भने यसलाई आधिकारिक रेडबुक हो भन्न सकेको छैन ।