सुदूरपश्चिम विश्वविद्यालय: विगत, वर्तमान र भविष्य
प्रा.डा. लालप्रसाद अम्गाईं
सुदूरपश्चिम नेपालः हिजो र आज
ईसाको चौधौं–पन्ध्रौं शताब्दीमा उत्तर–पश्चिम भारतबाट बसाईसराई गरी आएका खस आर्यहरूको बस्ती विकासबाट सुदूरपश्चिम र कर्णाली भेगका राज्य एक संभ्रान्त राज्य रहेको र जुम्लाको सिञ्जा उपत्यकाको सभ्यता नेपालभर नै नमूना राज्य रहेको इतिहास भेटिन्छ । अठारौं शताब्दीका बाइसे–चौबिसे राज्यको एकीकरणबाट सिङ्गो नेपाल अधिराज्यको पुनर्संरचना भई काठमाडौं शासित राज्य बनेपछि यी पश्चिमा राज्यक्षेत्रहरू बिस्तारै विकासका पूर्वाधार र मानवीय विकास सूचाङ्कमा पछि पर्न गएको पाइन्छ । वर्तमानमा खाद्यसुरक्षा सङ्कट र सम्प्रभुताको चपेटामा परेको यस सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रचुर प्राकृतिक सम्पदा, मानवीय संशाधन तथा पुरातात्विक महत्वका मठ, मन्दिर तथा अन्य पर्यटकीय साधन र स्रोतको सही परिचालनबाट नेपालकै विकसित प्रदेशको प्रारूप बदलिन सक्ने सामथ्र्य राख्ने प्रदेश हुन सक्दछ भन्ने विषयमा कमै मानिसको सोचाई र दृष्टिकोण पुगेको देखिन्छ ।
यस क्षेत्रमा मानवीय संशाधन विकासले मात्र पनि भोलीका दिनमा सुदूरपश्चिम प्रदेशको विशिष्ट नामाङ्कनमा सह्रानीय भूमिका खेल्ने विषयमा कसैको दुईमत हुनै सक्दैन । सायद समग्र नेपालको विकास सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पूर्वाधार निर्माण र मानवीय संशाधन विकासबाट मात्र हुने बुझेर नै होला संघीय, प्रादेशिक र स्थानीय सरकारले पनि यस क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर ठोस रणनीतिका साथ विकास योजना तर्जुमा गरेको पाइन्छ ।
सुदूरपश्चिम विश्वविद्यालय– विगत र वर्तमान
वि.सं. २०६३/०६४ सालमा जब नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भई संघीय राज्यमा परिणत भयो, तब समग्र देशको समतामूलक क्षेत्रीय विकासको अवधारणा अनुरूप बहु विश्व विद्यालय स्थापना गर्ने क्रममा २०६७ सालमा सुदूरपश्चिम विश्वविद्यालय (सु प वि) ऐन पारित गरियो र वि.सं. २०६९ सालमा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालय बनाइयो ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस मानेर विविध केन्द्रीय विभाग तथा इञ्जिनियरिङ सङ्काय, मानविकी तथा सामाजिक शास्त्र, विज्ञान र प्रविधि, व्यवस्थापन तथा शिक्षाशास्त्र सङ्काय बिच प्रायः स्नातक तहसम्मको पढाईमा पहिलो कार्यकारी परिषद्ले सुदूरपश्चिम विश्वविद्यालय ऐन तथा नियमावलीहरूका निर्माण गरी आफ्नो कार्यकाल पूरा गरेको भेटिन्छ । सोही समयमा नै केन्द्रीय क्याम्पसमा स्नातकोत्तर धारका पढाइहरू पनि शुरु गराइए । यद्यपि सुदूरपश्चिम विश्वविद्यालयमा सिद्धनाथ विज्ञान क्याम्पस समायोजन हुने प्रक्रियाले भने अहिलेसम्म पूर्णता पाउन सकेको छैन ।
वि.सं. २०७५ श्रावण १ गतेदेखि लागु हुने गरी तत्कालीन त्रिभु्वन विश्वविद्यालय अन्तर्गतका प्राइभेट, पब्लिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरू मू्ख्यतः दार्चुला, गोकुलेश्वर, बाजुरा, बडिमालिका, जनता, मेलौली, पाटन, जगन्नाथ, जयपृथ्वी, त्रिवेणी, सेती महाकाली, घण्टेश्वर, दुर्गालक्ष्मी तथा टीकापुरसहितका बहुमुखी क्याम्पसहरूलाई समेट्ने गरी १४ ओटा आङ्गिक क्याम्पस बनाउने कार्य पूरा भयो ।
विश्वविद्यालयको दोस्रो कार्यकारी परिषद्ले गरेको यस समायोजनले सुदूरपश्चिम विश्वविद्यालयलाई सुदूरपश्चिम प्रदेशका ९ जिल्लासम्म बिस्तार गरियो । यसले सुदूरपश्चिम विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयपछि प्राध्यापक, कर्मचारी र विद्यार्थी सङ्ख्या र सामाजिक, भौगोलिक तथा बहुसङ्कायका दृष्टिले नेपालको दोस्रो ठूलो विश्वविद्यालय बन्न सफल भयो । कृषि विज्ञान सङ्कायलाई कैलालीको टीकापुरमा स्थापना गर्न पनि यसै कार्यकारी परिषद्ले पाइला चाल्यो । यी विविध सफलतापूर्वक सम्पादन गरिएका कार्यहरू बिच पनि यस कार्यकारी परिषद्ले बिचमा नै छाड्नुपर्ने भयो र २०७५ पौषदेखि २०७६ फागुनसम्म लगभग एक वर्ष निमित्त कार्यकारी परिषदले विश्वविद्यालयको दैनिकी सञ्चालन गर्नुपर्यो ।
वि.सं.२०७६ साल फागुनमा वर्तमान उपकुलपतिज्यूको नियुक्तिपछि बनेको विश्वविद्यालयको चौथो कार्यकारी परिषद्ले कैलाली बहुमुखी क्याम्पस समायोजन, कोरोनाजन्य विषम परिस्थितिमा पनि अनलाइन कक्षा तथा परीक्षा सञ्चालन र सम्पादन, विविध पदका स्थायी नियुक्ति, निर्माण हुन बाँकी रहेका तथा विकास बजेट थन्किएर रहेको परिवेशमा नयाँ नयाँ निर्माण कार्यहरूको शुरुवात तथा विविध प्रकारका कार्यविधि, नियमावली तथा विनियमहरू निर्माण गरी १४ आङ्गिक क्याम्पसहरूमा पूरा हुन नसकेका समायोजन, विशेष स्थायी विज्ञापन तथा अन्य थुप्रै सकारात्मक कार्यहरू पूरा गरिए र बाँकी पूरा गरिदै छन् ।
कानुन तथा प्राकृतिक स्रोत व्यवस्थापन सङ्काय र स्वास्थ्य विज्ञान सङ्काय अन्तर्गत क्रमश बी.ए.एल.एल.बी., बिएसी फरेस्ट्री तथा बी.एम.एल.टी. को पढाई समेत शुरु भयो । सुदूरपश्चिमकै इतिहासमा आफ्नै भूगोलभित्र विविध विषयहरूमा एमफिल पिएचडीसम्मको पढाई र अनुसन्धान कार्यको शुरुवात पनि यसै कार्यकारी परिषद्ले गरेको पाइन्छ । सु प वि मा सञ्चालित सम्पूर्ण कार्यक्रमहरुमा Semester system को सफल प्रयोग यस कार्यकारीको अर्को महत्वपूर्ण कार्य मानिन्छ ।
विश्वविद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउन २०७८ सालमा ३ दिने International Summer Workshop, २०७९ मा ब्रिटिस काउन्सिल तथा अक्सफोर्ड विश्वविद्यालयसँग समन्वय गरी सुदूरपश्चिम Cultural heritage उत्थान हेतुले अन्तर्राष्ट्रिय सम्मेलन र नेपाली विश्वविद्यालयको साझा फोरम Himalayan Knowledge Conclave मार्फत् २ दिने 9th Graduate Conference गरी यस कार्यकारी परिषद्ले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।
विश्वविद्यालय केन्द्रीय कार्यालयबाट प्रकाशन हुने Far Western Review Journal तथा सुदूरपश्चिमेली लोक कथा सङ्ग्र्रह प्रकाशनले सुदूरपश्चिम विश्वविद्यालयका प्राज्ञिक उन्नयनका गतिविधिलाई राम्रोसँग उजागर गरेको पाइन्छ । हालसालै खुलाइएको सम्बन्धन प्रक्रियाको शुरुवात विश्वविद्यालयको पछिल्लो पटकको राम्रो र दीर्घकालीन विकास हेर्न चालिएको कदम मान्न सकिन्छ । यद्यपि शिक्षा मन्त्रालय एवम् विश्वविद्यालय अनुदान आयोगसँग यस्तो स्वीकृति कार्य बाँकी रहेको छ । यी विविध प्राज्ञिक प्रशासनिक तथा निर्माणका गतिविधिहरू सञ्चालन गरिए पनि आर्थिक दायित्व अभावमा र राजनैतिक हस्तक्षेपका बाबजुद थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धन केन्द्रहरू बिच विश्वविद्यालय कार्यकारी पुग्न नसकेको यथार्थता सबैले स्वीकार गर्नैपर्दछ ।
सुदूरपश्चिम विश्वविद्यालयले अवलम्बन गर्नुपर्ने भावी कार्यक्रम र रणनीतिहरूः
सुदूरपश्चिम विश्वविद्यालयको समग्र विकासका लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञानका निवर्तमान डिन तथा कार्यकारी परिषद् सदस्य र हाल विश्वविद्यालय अनुदान आयोगको अनुसन्धान निर्देशक हुँदा प्राप्त गरेका प्रत्यक्ष भोगाई र अनुभवका आधारमा यस विश्वविद्यालयको विकास र विस्तारका लागि निम्नानुसार सुझावहरू प्रस्तुत गर्न चाहन्छु ।
१. दक्ष मानव संशाधन विकासमा जोडः
सुदूरपश्चिम विश्वविद्यालयद्वारा सञ्चालित नौ ओटै सङ्कायमा एमफिल र पिएचडीयुक्त गुणस्तरीय मानव संशाधन विकासमा प्रथम जोड दिनुपर्दछ । UNESCO को हालैको प्रतिवेदनमा नेपालमा २० प्रतिशत मात्र विद्यार्थी विश्वविद्यालयमा जोडिएका, १० प्रतिशत मात्र विद्यार्थी स्नातकोत्तर र पिएचडी कार्यक्रममा जोडिएका र लगभग २० प्रतिशतमात्र विद्यार्थीहरू प्राविधिक शिक्षामा जोडिएको नतिजाअनुसार अनौपचारिक शिक्षा प्रदायक Incubation Center स्थापना गरी सुदूरपश्चिम प्रदेशमा रोजगारयुक्त जनशक्तिलाई रोजगार प्रदायक दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षणस्थल बन्न सु प वि ले जोड दिनु पर्दछ ।
विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने Equity Grants र Digitalization तथा Labour Market Driven Course Curriculum मार्फत् सुदूरपश्चिम विश्वविद्यालयले आफूलाई अघि बढाउने उपयुक्त समय भएको छ । समकक्षता र शिक्षकहरूको गुणस्तर मापन गर्न विश्वविद्यालय अनुदान आयोगले छिट्टै नै Equivalency Policy र Net Eligibility Test लागु गर्न सु प वि अघि बढ्नुपर्दछ ।
२. अनुसन्धानमुखी अध्ययन विधिमा व्यापकताः
गुणस्तरीय अध्ययन, अनुसन्धान र विशिष्ट विश्वविद्यालयका परिचायक तत्व हुन । भर्खरै मात्र अनुसन्धान निर्देशनालय स्थापना भएको यस विश्वविद्यालयमा योजना महाशाखा र पाठ्यक्रम विकास महाशाखाको समन्वयमा एमफिल, पिएचडी, Post Doc. तथा प्राविधिक धारका स्नातक तहमा पनि Internship कार्यक्रमहरू गराई नियमित रूपमा Faculty र Student हरूलाई अनुसन्धानमुखी कार्यमा जुटाउनु विश्वविद्यालयको दोस्रो कर्तव्य हुन आउँछ ।
UGC Nepal ले वार्षिक रूपमा खुलाउने Small Research, Faculty Research, Collaborative Research, Institutional Research, M Phil. र PhD Research Gants तथा अन्य अन्तर्राष्ट्रिय जर्नल प्रकाशन र अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने मौका दिइएकोमा यसको बढी भन्दा बढी फाइदा सुदूरपश्चिम विश्वविद्यालयले लिने कोशिस गर्नुपर्दछ ।
३. राष्ट्रिय/अन्तर्राष्ट्रिय श्रम बजार सुहाउँदो पाठ्यक्रम निर्माणः
विश्वविद्यालयका स्नातक वा स्नातकोत्तरहरूले बेरोजगार बस्नु पर्ने तर CTEVT र थुप्रै भाषा शिक्षा केन्द्र जस्ता संस्थाहरूले केही महिनामा निकालेका निम्न दक्ष वा मध्यम दक्ष जनशक्तिले सीपमूलक शिक्षाको कारण रोजगार पाउने वातावरण नेपालमा रहेका कारण UGC नेपाललाई World Bank ले उपलब्ध गराएको Nurturing Excellency in Higher Education Program (NEHEP) र Labour Market Driven Program र Enterprise Support Project मा Incubation Center सहितको केन्द्रीत संशोधित पाठ्यक्रमको निर्माण गर्नु सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो प्रमुख कार्य हुनेछ ।
४. राष्ट्रिय/अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग सहकार्य विस्तारः
चौथो प्रमुख कार्यका रूपमा सुदूरपश्चिम विश्वविद्यालयमा नौ ओटै सङ्कायहरू र सोह्र ओटै आङ्गिक क्याम्पसहरूमा पहुँच पुग्ने गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार अनिवार्य देखिन्छ । सु प वि भित्र अन्तर्राष्ट्रिय सम्बन्धन केन्द्रको स्थापना गरी देशभित्रका १३ ओटै विश्वविद्यालयहरू, विभिन्न विषयगत अनुसन्धान केन्द्रहरू र अन्तर्राष्ट्रिय अनुसन्धान तथा प्राज्ञिक संस्थाहरूसँग समन्वय गरेर अगाडि बढ्नुपर्दछ । उदाहरणका लागि सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायले विगत ४–५ वर्ष Self sustainable ढङ्गबाट चलाएको कार्यक्रमलाई विश्वविद्यालयले मोडल मानेर अन्य सङ्कायहरूमा पनि कार्यान्वयनका लागि अनुशरण गर्नुपर्दछ ।
५. शिक्षक कर्मचारी विद्यार्थी प्रोत्साहनः
विश्वविद्यालयमा प्राध्यापक कर्मचारी र विद्यार्थीहरू एउटै टेम्पोका तीन पाङ्ग्राहरू हुन् । विश्वविद्यालय कार्यकारीहरूले विभिन्न तालिम, अध्ययन, भ्रमण, सामूहिक पदोन्नति तथा अन्य विविध ढङ्गबाट प्रोत्साहन दिने कार्यअघि बढाउँदा मात्र विश्वविद्यालयले शैक्षिक उन्नयन गर्न सक्दछ । भौगोलिक रूपमा काठमाडौंबाट टाढा रहेको सुदूरपश्चिम विश्वविद्यालय र त्यसका आङ्गिक क्याम्पसहरूमा अझै पनि त्रि.वि. वा अन्य विश्वविद्यालय धाउनु पर्दा थपिने आर्थिक यातायात खर्च र समयलाई आधार मानेर सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय परिसरलाई Center of Excellence मा बदल्न स्नातकोत्तर र पिएचडी कार्यक्रम मात्रको पवित्र ज्ञानभूमि र स्नातक तहसम्मका कार्यक्रमलाई आङ्गिक क्याम्पसहरूमा मात्र सञ्चालन गर्ने व्यवस्था गरिनु पर्दछ ।
विद्यार्थीहरूलाई शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलापमा बढी भन्दा बढी खटाउनु पर्दछ । विद्यार्थी संख्या घट्दै गएको वर्तमान परिवेशमा स्नातक कार्यक्रममा केही सिटहरू र स्नातकोत्तर तथा एमफिल र पिएचडी कार्यक्रममा प्रोत्साहन स्वरूप सबै विद्यार्थीहरूलाई आरक्षण वा निःशुल्कवृत्ति उपलब्ध गराउनु सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं प्रमुख कार्य हुनेछ । सबै सङ्कायहरूमा सञ्चालित पाठ्यक्रममा आधारित Text Book लेखनमा विश्वविद्यालयले केही रकम अनिवार्य छुट्याउनु पर्दछ ।
६. विश्वविद्यालयको आफ्नै Patent Right रहनुपर्नेः
विश्वविद्यालयहरू अनुसन्धान र पढाईका आविष्कार केन्द्र पनि हुन् । विश्वविद्यालयले गरेका समाज उपयोगी अन्वेषण र आविष्कारहरूलाई Intellectual Property Right को नियमानुसार बढी भन्दा बढी जनता र समुदाय समक्ष पु¥याउनु पर्दछ । सुदूरपश्चिम विश्वविद्यालयले Herbal Science, Engineering तथा अन्नबाली बिउ उत्पादन र फलफूल तरकारी बेर्ना उत्पादन तथा पर्यटकीय व्यवस्थापन विषयमा आफ्नै Patent Right पाउने ढङ्गले यथाशीघ्र नयाँ कार्य शुभारम्भ गर्नु र निरन्तर शिक्षा (Continuing Education) केन्द्रमार्फत् विश्वविद्यालयले गरेका तालिम, अन्वेषण र तिनीहरूका प्रकाशनलाई विश्वविद्यालयले निजी सम्पत्तिको रूपमा विकास गर्नु सुदूरपश्चिम विश्वविद्यालयको छैटौं प्रमुख कार्य हुनेछ ।
७. QAA प्रमाणपत्र र समकक्षता निर्धारणः
नेपालमा सञ्चालित विश्वविद्यालय, कलेजहरू र कलेजहरूमा सञ्चालित विशिष्ट कार्यक्रमलाई विश्वविद्यालय अनुदान आयोगले Quality Assurance and Accreditation गर्ने कार्यक्रम राखेको वर्तमान परिवेशमा प्राज्ञिक गुणस्तर, भौतिक पूर्वाधार र प्रशासनिक खर्च व्यवस्थापन गर्न र अन्तर्राष्ट्रिय समकक्षता निर्धारणको लागि पनि सु प वि का विभिन्न सङ्काय तथा क्याम्पसहरू अनिवार्य QAA मा सूचित हुन सु प वि को सातौं मुख्य काम अनिवार्य भइसकेको छ । लगातार तीन पटक प्राप्त कलेजहरूलाई Degree Awarding Certificate दिने राष्ट्रिय शिक्षा नीति नै बन्ने अवस्थामा यसका लागि सुदूरपश्चिम विश्वविद्यालय अगाडि बढ्नुपर्ने देखिन्छ ।
निष्कर्ष:
राज्यले अति दुर्गम संज्ञा दिएको सुदूरपश्चिम नेपाल सर्वोच्च प्राकृतिक सम्पदा र मानवीय संशाधनको लागि प्रमुख स्थल हो । विश्व भूमण्डलीकरणको तरङ्गबाट गुज्रिरहेको वर्तमान परिवेशमा समतामूलक क्षेत्रीय विकासको अवधारणाबाट स्थापित सुदूरपश्चिम विश्वविद्यालयले स्थापनाको चौध वर्षे अन्तरालमा निकै राम्रा प्राज्ञिक एवम् भौतिक उन्नयनको फड्को मारिरहेको छ । समायोजनको एकाध मुद्दा बाहेक प्राज्ञिक रूपमा सुदूरपश्चिम विश्वविद्यालयले राष्ट्रिय/अन्तर्राष्ट्रिय ख्याति बनाइसकेको छ जुन पूर्ण भने भइसकेको छैन । विश्वविद्यालय अनुदान आयोग लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूको प्राविधिक, प्राज्ञिक, भौतिक वा अन्य सहयोग लिई राष्ट्रिय अन्तर्राष्ट्रिय श्रम बजार सुहाउँदो प्रविधि विकासका लागि नयाँ नयाँ रोजगारमूलक उद्यमशीलतामा आधारित पाठ्यक्रम निर्माण र अनुसन्धानमा विश्वविद्यालयले प्रमुख जोड दिन सकेमात्र दीर्घकालीन रूपमा सुदूरपश्चिम विश्वविद्यालयको उन्नयन हुने देखिन्छ ।
प्राध्यापक, कर्मचारी र विद्यार्थीहरू बिच विश्वविद्यालयरूपी गाडीका तीन चलायमान पाङ्ग्रा भएका कारण यी तीन ओटै निकायहरूको समन्वयमा समय सुहाउँदो ढङ्गबाट ५० प्रतिशत अन्तर्राष्ट्रिय, ३० प्रतिशत राष्ट्रिय र २० प्रतिशत स्थानियस्तरमा मापन हुने पाठ्यक्रम निर्माण गरी संघीय, प्रादेशिक र स्थानीय निकायको समन्वयमा विश्वविद्यालयलाई अघि बढाउनुपर्दछ । समग्रमा भन्नुपर्दा समायोजन प्रकृयालाई विश्वविद्यालय सेवा आयोग मार्फत् अघि बढाउने र प्राविधिक धारका व्यवसायिक शिक्षालाई Incubation Centre खोली अनौपचारिक शिक्षा मार्फत् विश्वविद्यालयलाई गाउँगाउँरबस्ती बस्तीसम्म पुग्ने लक्ष्य विश्वविद्यालयको भावी कार्यको रूपमा लिइनु पर्दछ ।
लेखक विश्वविद्यालय अनुदान आयोग, भक्तपुरका अनुसन्धान निर्देशक हुन् ।
प्रकाशित मिति: शनिबार, असार १, २०८१ १२:०६
प्रतिक्रिया दिनुहोस्