Hamro Patra
टीकापुरमा निर्माणाधिन छ लेन सडकको नाली बाङ्गो

योगेश रावल
टीकापुर, मंसिर २८
टीकापुरमा निर्माणाधिन छ लेन सडकको नाली बाङ्गो निर्माण भैरहेको छ । जमरा पुलदेखी तत्काल निर्माण भईरहेको नाली अधिकांश ठाँउमा बाङ्गो छ ।

जमरा पुलदेखी बसपार्कसम्म निर्माण हुने २ दशमलव ३ किलोमिटर छ लेन सडकको नाली बाङ्गो निर्माण भएपछि स्थानीयले निर्माण पक्षको कार्यशैली प्रति आशंका व्यक्त गर्न थालेका छन । कतिपयले सडक निर्माणको काम लापरवाही ढंगले अघि बढेको समेत बताएका छन ।

स्थानीय टेकबहादुर धामीले सडक निर्माणको काम झारा टार्ने किसिमले भैरहेको बताए । उनले नाली नै बाङ्गो निर्माण भएपछि सडक राम्रो बन्नेमा आशंका व्यक्त गरे । ‘कुन किसिमले यो सडक निर्माण भैरहेको छ । म अचम्मित छुँ’ उनले भने–‘जस्तो भैरहेको छ, राम्रो भएको छ जस्तो लाग्दैन ।’

Khadga Memorial And Janajagriti

धामीको कुरामा स्थानीय नमराज ज्ञवाली समेत सहमत छन । उनले समेत छ लेन सडक निर्माणको काम चित्त बुझ्ने ढंगले नभैरहेको बताए । उनले सडक निर्माणको काममा भैरहेको लापरवाही प्रति सरोकारवाला पक्षले चाँसो दिनुपर्ने औल्याए । ‘सरोकारवालाले चाँसो दिनुपर्छ’ उनले भने–‘आम मान्छेले भनेर मात्रै हुँदैन ।’

तर, निर्माण पक्षले भने सडक निर्माणको काममा कुनै आशंका नगर्न अनुरोध गरेको छ । निर्माण पक्षका इन्जिनियर गगन शाहीले सडक बाङ्गो भएका कारण एक ठाउँमा नाली बाङ्गो बनाउनु परेको बताए । उनले नाली बाङ्गो हुँदैमा सडकको गुणस्तरीयतामा कुनै कमी नहुने बताए ।

‘हामी नाली बाङ्गो छैन भन्दैनौं । हो एक ठाउँमा बाङ्गो छ । तर त्यो सडकका कारण बाङ्गो भएको हो’ उनले भने–‘यसले धेरै ठूलो असर केही गर्दैन ।’ उनले खड्ग चोकदेखी बसपार्कसम्मको नाली बाङ्गो नहुने दावी गरे ।

यो सडक २० करोडमा टेण्डर आह्वान भएको थियो । निर्माण पक्षले लागत रकम घटाएर टेण्डर दाखिला गरेपछि सडक नेपाल सरकारको करिव १३ करोड ८९ लाख १९ हजार ७८६ रुपैयाँमा निर्माण भैरहेको छ । यसको ठेक्का रोमन केएस जेभीले पाएको थियो । तर उसले सडक निर्माणको जिम्मा भने ठेकेदार जनक शाहीलाई दिएको छ । शाहीले नै सडक निर्माणको काम गर्दै आएका छन ।

मुख्य निर्माण पक्षले अर्को व्यक्तिलाई सडक निर्माणको जिम्मा लगाएपछि स्थानीय बासिन्दा सडकको गुणस्तरीयता प्रति झन सशंकित बनेको बताउँछन । उनीहरु सडक निर्माणको काम बलियो नहुने दावी गर्छन ।
सडक निर्माणको निरिक्षण संघीय आयोजना कार्यान्वयन कार्यालय कैलालीले गरिरहेको छ । सो कार्यालयका इञ्जिनियर त्रिलोक जोशीले सडक निर्माणको नियमित निरिक्षण भैरहेको बताए । उनले समेत सडक बाङ्गो भएकै कारण नाली बाङ्गो गर्नु परेको बताए । ‘केही ठाउँमा सडककै कारण बाङ्गो बनाउनु परेको हो’ उनले भने–‘सडक निर्माणको काममा कुनै कैफियत छैन ।’

सडक निर्माणको काम आगामी २०७७ चैत्र ६ गतेभित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ । सडक निर्माणको काम भने तिब्र गतिमा भैरहेको छ । बसपार्क आसपासका क्षेत्रमा माटो पटानीको काम सुरु नहुँदै जमरा पुलदेखी खड्ग चोकसम्म नाली निर्माणको काम समेत सम्पन्न भैसकेको छ । खड्ग चोकदेखी बसपार्कसम्म नाली निर्माणको काम समेत धमाधम भैरहेको छ ।

 

प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update