टीकापुर, जेठ २५
दिगो नेतृत्व विकास तालिम निःशुल्क प्रदान गर्दै आइरहेको युनाइटेड पिपल ग्लोबलमा नेपाली युवाहरू समेत भाग लिँदै आइरहेका छन । नौ हप्ते तालिमको पाठ्यक्रममा व्यक्तित्व विकास र व्यावसायिक विकासका विषयहरु समावेश छन ।
नेपालबाट संस्थाको दिगो नेतृत्व विकास तालिम लिइरहेका नेपाली प्रशिक्षार्थीरुका अनुसार पाठ्यक्रम अन्तर्गत व्यक्तित्व विकासको साथै, व्यावसायिक विकास सम्बन्धी मूलतः विभिन्न क्षमता विकासका पाठ्यक्रम समावेश छन ।
क्षमता विकासका विषयहरूमा इतिहास, विज्ञान, समाजशास्त्र, मानवशास्त्र, अर्थशास्त्र, कला, संस्कृति, ऊर्जा, नवीकरणीय ऊर्जा, वातावरण, जलवायु परिवर्तन तथा दिगो विकास लक्ष्य र विकास परियोजना अवधारणा तयारीका विषयहरु रहेको तालिममा सहभागी प्रशिक्षार्थीहरु बताउँछन ।
हरेक विषयह अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त विज्ञहरूद्वारा सञ्चालन हुने गरेको र कक्षा सामग्री निकै गुणस्तरीय र समसामयिक रहने गरेका छन् ।
सहभागीहरुलाई उक्त विषयमा प्रशिक्षण दिने विज्ञमध्येका एक पाब्लो गार्सिया टेलो हुन् । उनले प्रविधि, ऊर्जा, नवीकरणीय ऊर्जा, तथा नविनतम खोज सम्बन्धी कक्षाहरू सञ्चालन गर्दै आएका छन् ।
टेलो बहुप्रख्यात युरोपेली आणविक अनुसन्धान संगठन सर्न (CERN) का शाखा प्रमुख हुन । स्वीजरल्यान्डस्थित सर्नले विश्वको सबैभन्दा ठूलो आणविक अनुसन्धान प्रयोगशाला सञ्चालन गर्दै आइरहेको छ ।
टेलोले बहुराष्ट्रिय कम्पनी फिलिप्स, युरोपेली हवाई सुरक्षा एवं प्रतिरक्षा संस्था तथा अमेरिकास्थित एमआइटी (MIT) विश्वविद्यालय का प्राध्यापकको रुपमा समेत काम गरिसकेका छन् ।
टेलोको कक्षामा प्रविधिको प्रयोगमार्फत समाज एवं वातावरणमा कसरी सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने जानकारी दिइएको सहभागी आयुषजंग थापाले बताए ।
त्यस्तै नवीकरणीय ऊर्जाको प्रयोगलाई प्रोत्साहन र परम्परागत ऊर्जा प्रयोगलाई निरुत्साहित तथा विस्थापित गर्ने नवीनतम खोजहरू लगायत विभिन्न पेशा र व्यवसायमा प्रविधिको प्रयोग मार्फत अधिकतम सफलता र नाफा हाँसिल गर्न सकिने सम्भावनाको बारेमा पनि कक्षा केन्द्रित थियो ।
प्रशिक्षणका क्रममा टेलोले कुनै पनि क्षेत्रमा परिवर्तन ल्याउन वा सफलता हाँसिल गर्न हरेक व्यक्ति एवं युवा नेतृत्वले परम्परागत सोचबाट बाहिर निस्किएर गतिशील र फरक सोच राख्न एकदमै जरुरी रहेको बताए ।
त्यस्तो सोच र विचार राख्न हर कोही सक्षम रहेको र कुनै पनि जात, धर्म, वर्ग, र समुदायमा नविनतम सोच राख्ने एकाधिकार कसैसँग नभएको उनको मान्यता छ ।