टीकापुर, जेठ २४
दिगो नेतृत्व विकास तालिम निःशुल्क प्रदान गर्दै आइरहेको युनाइटेड पिपल ग्लोबलमा नेपाली युवाहरू पनि भाग लिँदै आइरहेका छन । नौ हप्ते तालिमको पाठ्यक्रममा वक्तृत्व विकास र व्यावसायिक विकासका विषयहरु समावेश छन । नेपालबाट संस्थाको दिगो नेतृत्व विकास तालिम लिइरहेका केही नेपाली प्रशिक्षार्थीरुका अनुसार पाठ्यक्रम अन्तर्गत व्यक्तित्व विकास सम्बन्धी मूलतः विभिन्न सीप विकासका विषयहरू छन ।
यस्तो सीप विकासका विषयहरूमा वक्तृत्व सीप विकास, सम्वाद सीप विकास, नेतृत्व विकास, सकारात्मक सोच विकास, रचनात्मक सोच विकास, भावनात्मक प्रेरणा विकास, जनसम्पर्क तथा सम्बन्ध विकास र विस्तार तथा सौम्य संवादको अभ्यास, मानसिक र मनोसामाजिक विषयहरु रहेको तालिममा सहभागी प्रशिक्षार्थीहरु बताउँछन् ।
प्रशिक्षार्थी एलिजा ढकालले पाठ्यक्रममा समावेश गरिएको सौम्य संवाद अर्थात् नन्भायलेन्ट कम्युनिकेसनको विषय निकै नौलो र अर्थ पूर्ण लागेको बताइन ।
उनका अनुसार यो विषयमा जस्तोसुकै जटिल वा तनावपूर्ण परिस्थितिमा पनि सौम्य रही संवाद गर्नुपर्छ र यसरी संवाद गर्दा धेरै समस्याको समाधान आफै हुने रहेछ भन्ने कुरा यो विषयबाट सिकेको र आफ्नो निजी तथा व्यावसायिक जीवनमा पनि यो विधि आफूले अपनाउन थालेको बताइन ।
ढकालले समाजमा धेरै समस्या तथा द्वन्द बोलिचालीमा सौम्यता देखाउन नसक्दा र आक्रमक अभिव्यक्तिहरूको कारण पैदा हुने हुँदा यो विषय अझ सान्दर्भिक रहेको बताइन ।
त्यस्तै अर्का प्रशिक्षार्थी आयुषजङ थापाका अनुसार भावनात्मक प्रेरणा विकासको विषय आफूलाई रमाइलो तथा फलदायी लागेको बताए । अहिलेको प्रतिस्पर्धी युगमा सफलता हाँसिल गर्न वा कुनै पनि कार्य गर्न भावनात्मक रुपमा बलियो हुन एकदमै जरुरी रहेको महशुस यस विषयले गराएको थापाले बताए ।
समाजमा भौतिक तथा मूर्त चिजहरूले मात्र प्राथमिकता पाउँदा भावना जस्तो अमूर्त तथा महत्वपूर्ण पाटो छायामा पर्ने गरेकाले भावनात्मक रुपमा बलियो हुनुले मानसिक र मनोसामाजिक स्वास्थ्यलाई समेत फाइदा पुग्ने तालिमको पाठ्यक्रममा उल्लेख छ ।