Hamro Patra
दिगो विकास लक्ष्यका प्रतिवद्धता

टीकापुर, जेठ २३

युनाइटेड पिपल ग्लोबल संस्थाले सञ्चालन गर्दै आएको दिगो विकास नेतृत्व क्षमता तालिममा दिगो विकास लक्ष्यका प्रतिवद्धताबारे जानकारी दिइएको छ ।

सन २०१५ मा संयुक्त राष्ट्र संघको साधारण सभाबाट अनुमोदन गरिएका १७ वटा महत्वाकांक्षी दिगो विकासका लक्ष्यहरूबारे तालिममा जानकारी गराइएको हो ।

CMA Staff

तालिममा ती लक्ष्यहरू १५ वर्षमा पूरा गर्न विश्वव्यापी रुपमा १ शय ६९ वटा परिमाणात्मक लक्ष्य तथा त्यसको प्रगति मुल्याँकनका लागि तय गरिएका २ शय ३२ सूचकहरुबारे छलफल भएको हो ।

कार्यक्रममा हाल बढ्दै गएको सामाजिक तथा मानवीय जटिलता, पर्यावरणीय असन्तुलन र सामाजिक, आर्थिक तथा वातावरणीय पक्षलाई ध्यानमा राखी विश्वका १ शय ९३ राष्ट्रहरुले सेप्टेम्बर २५, २०१५ देखि २०३० सम्ममा लक्ष्य पूरा गर्नका लागि हस्ताक्षर गरेका छन् ।

“कोहि पनि पछाडि छोडिने छैन” भन्ने मूल नाराका साथ संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरुले सन् २०३० मा यस्ता लक्ष्य प्राप्तिमा अघि बढ्ने प्रतिज्ञा गरेका थिए ।

तालिमका सहभागीहरुलाई युनाइटेड पिपल ग्लोबलले तालिम मार्फत लक्ष्यमा अभ्यस्त गराउने उद्देश्य राखेको तालिमका सहभागी एलिजा ढकालले जानकारी दिइन ।

दिगो विकास लक्ष्यको सन्दर्भमा संस्थाले दिगो विकासले भावी पुस्ताको लागि उपलब्ध अवसर र स्रोतहरूमा कम्तीमा समान पहुँच पुर्याउन सुनिश्चिता गर्नुपर्दछ भन्ने मूल मान्यतामा जोड दिइएको छ ।

संस्थाले प्रशिक्षार्थीहरूको लागि चारवटा विशिष्ट स्तम्भको अवधारणा अनुसरण गर्दै आएको छ । यी चार स्तम्भहरूमा सचेतना, विश्वास, सहकार्य, र समुदाय पर्दछन् ।

प्रशिक्षार्थीहरूका अनुसार दिगो विकासको लागि व्यक्तिगत तथा संस्थागत रुपमा जोकोहीले पनि सचेतना अभिवृद्धि मार्फत विश्वासको सुदृढिकरण र सहकार्यको माध्यमबाट समुदायमा सकारात्मक प्रभाव पार्न सक्छन् भन्ने सोच संस्थाले राख्दै आएको प्रशिक्षार्थी आयुषजंग थापाले बताए ।

नेपालबाट सहभागी एक प्रशिक्षार्थीले जानकारी गराए अनुसार संस्थाले आफ्ना प्रशिक्षार्थीहरूलाई आफ्नो समुदायमा कुनै पनि कार्य अगाडि बढाउँदा कम्तीमा उल्लेखित चार मध्येका एक स्तम्भ र आफ्नो क्षेत्रसँग सम्बन्धित दिगो विकास लक्ष्यहरू मध्ये एक वा दुई लक्ष्यलाई आत्मसाथ गरी आफ्नो कार्यहरु अगाडि बढाउन प्रोत्साहन र सहयोग भइरहेको छ ।

समुदायको सशक्तिकरणसँगै दिगो विकास लक्ष्य प्राप्तिमा यस्ता तालिमहरु सहयोगसिद्ध हुने सहभागीहरु बताउँछन् ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update