टीकापुर, जेठ २१
युवा पुस्तालाई नेतृत्व विकास र दिगो विकास लक्ष्यसम्बन्धी स्वीजरल्याण्डको जेनेवा मा अवस्थित युनाइटेड पिपल ग्लोबलले तालिम प्रदान गर्दै आइरहेको छ ।
प्रत्येक वर्ष संसारभरिका पाँच शय बढी ३५ वर्ष मुनिका युवा पुस्तालाई दिगो विकाससँगै नेतृत्व विकासका लागि ग्लोबलले तालिम प्रदान गर्दै आइरहेको हो ।
दिगो विकास नेतृत्व (Sustainability Leadership) तालिममा केही नेपाली युवाहरुले समेत भाग लिँदै आएका छन् । नौ हप्तासम्म सञ्चालन भइरहेको तालिममा विभिन्न विषयका अन्तर्राष्टिय विज्ञहरुले भर्चुअल माध्यमबाट प्रशिक्षण दिँदै आएका छन् ।
यस्ता कक्षाहरूमा दिगो विकास, नेतृत्व विकास, क्षमता अभिवृद्धि, वातावरण, जलवायु परिवर्तन, अर्थशास्त्र, व्यावसायिक क्षमता अभिवृद्धि लगायत विभिन्न व्यक्तित्व विकासका विषयहरू समावेश हुने गरेको नेपालबाट उक्त तालिममा सहभागी आयुषजंग थापा बताउँछन् ।
थापाका अनुसार तालिमपछि संस्थाले आफ्नो प्रशिक्षार्थीलाई आफ्नै समुदायमा विभिन्न परियोजना, अभ्यास तथा स्वयंसेवाका कार्यक्रमहरुमा संलग्नता गराउँछ । निःशुल्क रुपमा सञ्चालन हुँदै आएको तालिम तथा सामाजिक क्रियाकलापमा उत्कृष्ट काम गर्ने ६० देखि ९० प्रशिक्षार्थीलाई संस्थाले हरेक वर्ष अमेरिकास्थित हरिकेन आइल्यान्ड सेन्टर फोर साइन्स एण्ड लिडरसीप (Hurricane Island Center for Science and Leadership) मा थप तालिमका लागि अवसर समेत प्रदान गर्दै आइरहेको छ ।
संस्थाले सम्पूणर् तालिम तथा अमेरिका भ्रमणको अवसर निःशुल्क प्रदान गर्दै आइरहेको छ । तालिममा आबद्ध केही नेपाली प्रशिक्षार्थीहरुले दिगो विकास, व्यवसायिक तथा नेतृत्व विकासमा आत्मविश्वास बढाउन मद्दत पुगिरहेको बताए ।
संस्थाले सञ्चालन गर्दै आएको तालिम निःशुल्क हुने भएकाले समय र रुचि देखाउन सके युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा तालिम फलदायी हुने प्रशिक्षार्थी थापाले बताए ।
उक्त तालिममा सहभागी हुन चाहने ३५ वर्ष मुनिका नेपाली नागरिकलाई सन् २०२५ को तालिममा सहभागी हुनका लागि संस्थाले आफ्नो वेभसाइटमार्फत आवदेन दिन सकिनेछ ।
सामाजिक, आर्थिक, व्यवसायिक तथा नेतृत्व क्षमता विकासका लागि संस्थाले सन् २०१९ देखि तालिमहरु सञ्चालन गर्दै आइरहेको छ ।