धनगढी, जेठ ११
नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशको तेस्रो अधिवेशन एवं चौथो साधारण सभा तथा प्रदेश आमसञ्चार सम्मेलन पाँच बुँदे घोषणापत्र जारी गर्दै धनगढीमा सम्पन्न भएको छ।
सम्मेलनले महासचिव रामसिंह फागुनमाद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष रामधामीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ।
त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको सञ्चार युनिभर्सिय सभामै पारित गरी प्रदेशभित्र मिडियाको व्यवस्थापन र सहयोगका काम अघि बढाउन घोषणापत्रमा माग गरिएको छ।
भाषण केन्द्रीय समितिले निर्वाचन कार्यतालिका लागू हुने बेला भइसक्दा पनि सदस्यताको अन्तिम रूप नदी शाखा अधिवेशन गर्न नसकिने र शाखाले शुद्धिकरण र नवीकरण गरी सर्वसम्मत रुपमा प्रदेशमार्फत पठाएका सदस्यलाई अन्तिम रुप दिई जेठ १३ गतेभित्र सार्वजनिक गर्नुपर्ने जिल्ला शाखाको मागलाई साधारण सभाले समर्थन गरेको छ।
घोषणापत्रमा प्रदेशभित्रका संचार माध्यमहरू जनशक्ति र समाचार सामग्रीका हिसाबले समावेशी बनाउन र श्रमिकलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन पनि घोषणापत्रले आग्रह गरेको छ।
त्यस्तै एक व्यक्ति विभिन्न पेशामा संलग्न भई कार्य गर्दा पहिचानकै चुनौती रहेकाले व्यावसायिक मर्यादा भित्र रही सञ्चार कर्म गर्नुहुन सबै पत्रकारलाई सम्मेलनले आग्रह गरेको छ
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री सोडारीले तन्त्रको स्थायित्वका लागि पत्रकारको भूमिका अहम हुने बताए । 'लामो समयदेखि जारी हुन नसकेको प्रदेश सञ्चार नीति हामी तत्काल पारित गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ' मुख्यमन्त्री सोडारीले भने 'सुदूरपश्चिम सरकार प्रेस स्वतन्त्रताको ग्यारेण्टीका प्रतिबद्ध छ।'
कार्यक्रममा बोल्दै सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले पत्रकारिता क्षेत्रमा चुनौतीहरू थपिँदै गएकोप्रति सचेत रहन आग्रह गरे ।
महासंघले जेष्ठ पत्रकारिता सम्मान सिद्धराज भट्ट, पत्रकारिता सम्मान अर्जुन शाह, कर्ण शाह, हेमन्ती चौधरी र राजेन्द्र नाथलाई सम्मान गरेको छ भने दुर्गम पत्रकारिता सम्मान निमेन्द्र शाही बाजुरालाई गरेको छ।
त्यस्तै सञ्चार गृह सम्मान पश्चिम टुडे मिडिया प्रालीका अध्यक्ष पत्रकार दीर्घराज उपाध्यायलाई प्रदान गरिएको छ भने समाज सेवा सम्मान पत्रकार एवं रक्तदाता दीपक उपाध्यायलाई प्रदान गरिएको महासङ्घका सचिव प्रेम चुनाराले जानकारी दिए।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव रामसिंह ठगुन्नाले गरेका थिए।