टीकापुर, जेठ ८
नेपालमै केरा उत्पादनको हबका रुपमा विकसित हुँदै आएको कैलालीका किसानहरुले टिस्युकल्चर प्रविधिबाट उत्पादित केराको बेर्ना लगाउन थालेपछि केरा उत्पादनमा वृद्धि भएको छ ।
अत्याधुनिक ल्याबमा झण्डै एक वर्षसम्म हुर्किएको रोगप्रतिरोधी क्षमता बढी भएका टिस्युकल्चर केराका बेर्ना लगाउन थालेपछि उत्पादनमा उल्लेख्य वृद्धि भएको हो ।
केराको सकर (बोटको जराबाट निकालिने बेर्ना) बेर्नाबाट लगाएको बोट भन्दा टिस्युकल्चर बेर्नाको बोटबाट उत्पादन बढी हुन थालेपछि पछिल्लो समय किसानहरु टिस्युकल्चर बेर्नामा आकर्षित भइरहेका हुन् ।
विगत पाँच वर्षदेखि साढे चार विघा जमिनमा केराखेती गर्दै आएका टीकापुर ५ नुक्लीपुरका किसान हेमराज घर्तीमगरले टिस्युकल्चर विरुवाबाट केराको उत्पादन वृद्धि भएपछि थप तीन विघामा केराखेती विस्तार गरेका छन् ।
‘शुरुमा सकर विरुवा नै रोपेको हुँ, एउटै समयमा उत्पादन नहुने, रोग किरा धेरै लाग्ने र उत्पादन समेत कम हुन थालेपछि सकर हटाएर टिस्युकल्चर बेर्ना लगाइरहेको छु’ किसान घर्तीमगरले भने ‘सकरबाट एउटा घारीमा १२ देखि १५ दर्जनसम्म केरा फल्थ्यो भने टिस्युकल्चर बेर्नाबाट २२ देखि २८ दर्जनसम्म मैले नै फलाएको छु ।’
नुक्लीपुरकै अर्का किसान दीपकबहादुर रावलले सकर विरुवाबाट उत्पादन समान नहुने भएपछि किसानहरुले सकर बेर्ना हटाएर टिस्युकल्चर प्रविधिबाट उत्पादित बेर्ना लगाउँदै आएको बताए ।
‘सकर बोटहरु समान रुपले हुर्किदैनन्, बेर्ना रोप्दा नै कुनै सानो कुनै ठूलो हुन्छ, कोही चाँडो फल्छ, कोही ढिलो फल्छ’ विगत ४ वर्षदेखि दुई बिघा क्षेत्रफलमा केराखेती गर्दै आएका किसान रावलले भने ‘हामीजस्ता थोरै क्षेत्रफलमा केराखेती गरिरहेका किसानहरुले पनि आफ्नै बारीबाट एकै समयमा गाडी भरेर बजार पठाउन सक्छौं, सबै बोटमा एउटै समयमा केरा फल्ने हुनाले टिस्युकल्चर नै लगाइरहेका छौं ।’
सकरबाट लगाइएका केराको उत्पादन फरक फरक समयमा हुन्छ । बोटको विकास पनि समान हुँदैन । फल समेत फरक फरक समयमा लाग्छ । बिक्री गर्न समेत समस्या हुन्छ ।
विगत पाँच वर्षदेखि ६ विघा क्षेत्रफलमा केराखेती गर्दै आएका स्थानीय टेकबहादुर शाहीले भने ‘सकरबाट लगाउँदा एउटा गाडी भर्न दुई तीन जना किसानको बारीमा उत्पादन भएको केरा एक गाडी भर्न काट्नुपर्छ, अरु किसानको बारीमा केरा तयार हुँदासम्म आफ्नो बारीको केरा फुट्न थाल्छ त्यसैले पनि हामी टिस्युकल्चर विरुवामै जोड दिइरहेका छौं ।’
स्वस्थ केराको विरुवाबाट निकालिएको कोष (सेल) लाई टिस्युकल्चर ल्याबमा झण्डै ९ महिना हुर्काएपछि थप तीन महिना नर्सरीमा हुर्काइन्छ । यसरी हुर्काइएका विरुवामा रोग प्रतिरोधी क्षमता बढी हुन्छ । विरुवाको उत्पादन क्षमता समेत बढी हुँदा यहाँका किसानहरु टिस्युकल्चर विरुवातर्फ आकर्षित भइरहेका छन् ।
केरा उत्पादनमा किसानका लागि महत्वपूर्ण मानिने टिस्युकल्चर बेर्ना टीकापुरमै उपलब्ध भइरहेको छ । २०७४ सालदेखि टीकापुर नगरपालिका वडा नं. ४ का किसान टेकेन्द्र धामीले शुभम एग्रो फर्ममार्फत हाइटेक नर्सरीमा टिस्युकल्चर केराको बेर्ना उत्पादन गर्दै आइरहेका छन् ।
झण्डै १९ विघामा केराखेती गर्दै आइरहेका धामी केराखेतीमा नयाँ नयाँ प्रविधिहरु प्रयोग गर्न अग्रसर छन् । हाल धामीको नर्सरीमा एएफआरसी नवलपरासीबाट ल्याइएको जिनाइन जातको टिस्युकल्चर बेर्ना हुर्किरहेका छन् ।
‘पहिलो वर्ष ७० हजार बेर्ना बेचेका थियौ, दोश्रो वर्ष साढे चार लाख बेर्ना बिक्री गरेका थियौं, कुनै वर्ष धेरै माग हुन्छ, कुनै वर्ष कम हुन्छ’ धामीले भने ‘पछिल्लो समयमा किसानहरु टिस्युकल्चर बेर्नाप्रति सचेत भएका हुनाले पनि यसको माग बढ्दैै गएकाले औषतमा वार्षिक २ लाख बेर्ना बिक्री गरिरहेका छौं ।’
किसान धामीले टिस्युकल्चर बेर्ना ४० रुपैयाँ प्रतिगोटाका दरले किसानको बारीसम्मै पुर्याएर बिक्री गर्दै आइरहेका छन् । ‘अत्याधुनिक ल्याबमा उपचारसँगै हुर्किएको रोग प्रतिरोधी क्षमता बढी भएको र सबै रोगहरुको परीक्षण भएको विरुवा हुनाले एकैनाशको उत्पादन हुन्छ, साइज एउटै हुन्छ, फल पोटिलो हुने, रोगको संक्रमण कम लाग्ने हुन्छ’ धामीले भने ‘सकर विरुवाको तुलनामा टिस्युकल्चर बेर्नाको केराबाट उत्पादन स्वतः वृद्धि हुने नै भयो, हामीले टिस्युकल्चरबाट २२ देखि ३२ दर्जनसम्म पनि फलाएका छौं । सकरमा मुश्किलले १४ दर्जनसम्म फल्छ ।’
बीउ अभावका कारण अपेक्षाअनुसार केराखेती फस्टाउन नसकेपछि धामीले पहिलो पटक २०७४ सालमा भारतको गुजरात राज्यस्थित अहमदाबादको एबीसी बायोटेक्नोलोजी कम्पनीबाट टिस्यु कल्चर बेर्ना ल्याएर नर्सरीमा हुर्काएका थिए । त्यसयता उनले हरेक वर्ष कैलाली, कञ्चनपुर, दाङ्ग, बाँके, सुर्खेत र केही पहाडी जिल्लामा समेत बेर्ना बिक्री गर्दै आइरहेका छन् ।
टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरिएको विरुवामा रोगसँग लड्ने क्षमता हुने हुँदा रोपेपछि बोट पहिलो हुँदै जाने, गुवो कुहिने र बोट सुक्दै जाने लगायतका रोग नलाग्ने तथा केराको उत्पादकत्व समेत वृद्धि हुनाले यो प्रविधि लोकप्रिय बन्दै गएको हो ।
के हो टिस्युकल्चर बेर्ना ?
एउटा स्वस्थ विरुवाको निकै सानो कोष (सेल) बाट हजारौं विरुवा निकाल्न सकिने अत्याधुनिक प्रविधिबाट उत्पादित बेर्ना नै टिस्युकल्चर बेर्ना हो । स्वस्थ विरुवाको डाँठबाट सानो कोष निकालेर हाइटेक ल्याबमा बायोटेक इञ्जिनियर (प्राविधिक) ले विरुवा उत्पादन गर्दछन् । यो प्रविधिमा एउटा कोषलाई हाइटेक ल्याबमा केमिकलहरूको प्रयोग गरी हुर्काएर साना कोषहरूमा विभाजन गरेर हजारौं विरुवा उत्पादन गर्न सकिन्छ ।
विरुवाको कोषलाई हुर्काउन ल्याबमै ६ महिनासम्म लाग्दछ । वातावरण सुहाउँदो बायोटेक नर्सरीमा ल्याबबाट निकालेर झण्डै ३ महिनासम्म विरुवा हुर्काइन्छ । यसरी हुर्किएको विरुवालाई जुन ठाउँको माटोका लागि तयार गरिने हो, त्यही ठाउँमा हाइटेक ग्रिन हाउस नर्सरीमा राखिन्छ ।
तीन महिना ग्रिन हाउस नर्सरीमा हुर्किएपछि मात्र यो विरुवा रोप्नका लागि तयार हुन्छ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)मा कार्यरत कृषि वैज्ञानिक डाक्टर रामबहादुर खड्काका अनुसार एउटा टिस्युकल्चर केराको विरुवा रोप्नका लागि तयार हुन झण्डै एक वर्ष समय लाग्छ ।
‘अत्याधुनिक बायोटेक ल्याबमा स्वस्थ विरुवाको मदरकल्चरबाट केमिकलहरूको सहायताले एक वर्षसम्म हुर्किने हुनाले टिस्युकल्चर विरुवा रोगरहित हुन्छ’ डाक्टर खड्काले भने ‘नर्सरीमै निकै सजगताका साथ हुर्किने हुनाले टिस्युकल्चर विरुवामा रोग कम लाग्ने, एकनाश हुर्किने, फल बढी दिने, रोग प्रतिरोध क्षमता बढी हुने, भाइरस र ढुसीजन्य रोगहरु कम देखिने हुन्छ ।’
गत वर्ष कैलालीमा नेपालमै पहिलो पटक देखा परेको पानामा टिआर फोर नामक घातक रोगबाट बच्न समेत टिस्युकल्चर बेर्ना लगाउन नार्कले किसानलाई आग्रह गरेको थियो ।
‘टिस्युकल्चरमा केराका लागि घातक मानिएको पानामा टिआर फोर जस्तो रोगबाट बच्न पनि मद्दत पुग्छ’ डाक्टर खड्काले भने ‘गत वर्ष नेपालमै पहिलो पटक कैलालीमा देखा परेको पानामा टिआर फोर रोगबाट बच्न हामीले किसानहरुलाई टिस्युकल्चर विरुवा नै लगाउनका लागि सिफारिस गरेका थियौं, टिस्युकल्चरले समग्रमा फलको उत्पादन बढाउन टेवा पुर्याउँछ ।’
कृषि ज्ञान केन्द्र कैलालीका अनुसार कैलालीमा व्यावसायिक रूपमा ८ सय ७५ हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ । बैशाख देखि असारसम्म यहाँका किसानहरुले केरा खेती लगाउँछन् ।
प्रत्येक वर्ष वृद्धि हुँदै गइरहेको केराखेतीबाट गत वर्ष कैलालीमा मात्रै १ अर्ब ७० करोड ९ लाख २० हजार मूल्य बराबरको २६ हजार ७ सय ७३ मेट्रिक टन केरा उत्पादन भएको थियो ।
कैलालीमा उत्पादन हुने केरा धनगढी,नेपालगन्ज,महेन्द्रनगर, सुर्खेत, दाङ, बुटबल, काठमाडौं, पोखरालगायतका बजारमा बिक्री हुँदै आएको छ ।