Hamro Patra
हराउँदै माटो जोगाउने मिश्रित खेती प्रणाली

टीकापुर, जेठ १

कैलालीको टीकापुर नगरपालिका ५ की ८२ वर्षीया उदासिया थारु चैत्र पहिलो साता गाउँमा मसुरोको खोजी गर्दै थिइन् । पन्ध्र जनाको ठूलो परिवार, झण्डै ९ विघा खेतीयोग्य जमिन भएकी उदासियालाई वर्षभरिका लागि चाहिने मसुरो खोज्न गाउँ पस्नु पर्दा दिक्क लागेको छ । छोरा बुहारी कोही जागिरतिर त कोही विदेशतिर हुँदा भएको खेतबारीमा गहुँ मात्रै फल्यो । खानका लागि चाहिने गहुँ फले पनि मसुरो नफलेपछि उनी भुत्भुताइन् ।

‘यी चलन ठीक नाइ लागल, आजकल्के किसान हुक्रे सस्तामे गहुँ बेच्ठै, ओ महंगामे मसरी किन्ठै (यो चलन ठीक भएन, आजकालका किसानहरु सस्तोमा गहुँ बेच्छन र महंगोमा मसुरो किन्छन्)’ उदासियाले ऊ बेलाको खेती सम्झिन् ‘हामी ऊ बेला गहुँमै मसुरो, लाह (तोरी), केराऊ लगाउथ्यौं, गहुँ पनि हुने, दाल, तेल सबै प्रशस्त हुन्थ्यो ।’

Khadga Memorial And Janajagriti

उदासियाले सम्झे जस्तो खेती भेट्न अचेल मुश्किल छ । एउटै खेतबाट एउटै समयमा तीन बालीसम्म उब्जनी हुने मिश्रित खेती प्रणालीले वर्षभरि चाहिने अन्न, दाल, तेल उत्पादन हुन्थ्यो । ‘हाम्रो समयमा किनेर खाने चलन थिएन, घरकै उब्जनीले वर्षभरि पुर्याउनु पथ्र्यो’ उदासियाले भनिन् ‘वर्षभरिका लागि चाहिने दाल, तेल, गहुँ, धान, सबै फल्थ्यो ।’

जानी नजानी ऊ बेला पूर्खाले गर्दै आएको मिश्रित खेतीले माटोको संरक्षण, जैविक विधिको प्रबद्र्धन गर्दै आएको थियो । व्यावसायिकताका नाममा रासायनिक मलखाद तथा विषादीहरुको उच्च प्रयोगले मात्र नभई परम्परागत रुपमा गरिँदै आएको मिश्रित खेती प्रणाली हराउँदा समेत माटोको गुणस्तर ह्रास हुँदै गइरहेको छ ।

जोशीपुर गाउँपालिका १ की ३७ वर्षीया टीकादेवी बोहोराले गहुँमै काउली रायो (तोरी) छर्दै आएकी छन् । उनको बारीमा गहुँसँगै केराउ फलिरहेको छ । घरका लागि चाहिने गहुँ, तेल र दाल एउटै खेतबाट एकै सिजनमा फल्ने भएपछि बोहोराको परिवार लामो समयदेखि मिश्रित खेती गर्दै आइरहेको छ ।

‘एकपटक जोते पुग्यो, सिँचाइ, मल, खनजोतले तीनथरि बाली उब्जनी हुन्छ’ बोहोराले भनिन् ‘एउटै बाली लगाउँदा धेरै फले पनि तीनथरि बालीको हिसाब गर्दा फाइदा नै हुन्छ तर अचेल यो मिश्रित खेती गर्ने चलन भने हट्दै गइरहेको छ, कहींकतै मात्रै यस्तो खेती देख्न पाइन्छ ।’

कतिपय किसानले थोरै जमिनमा मिश्रित खेती गरिरहे पनि कृषिमा भइरहेको प्रविधिको प्रयोग, उत्पादन बढाउने होडबाजीका कारण माटोको उर्बरा शक्ति जोगाउने मिश्रित खेती प्रणाली हराउँदै गएको हो ।

के हो मिश्रित खेती प्रणाली ?

एउटै बारीमा दुई वा सो भन्दा बढी बालीनालीहरु हुर्काउने खेती प्रणाली मिश्रित खेती प्रणाली हो । बहु भन्ने वित्तिकै धेरै बालीनालीहरु जसमा अन्नबाली, तरकारी बाली, दाल बाली अथवा नगदे बालीहरु पनि हुन सक्छन् ।

मिश्रित खेती प्रणालीमा लगाइने बालीहरूको उचाई, बनावट र जातीयतामा फरक हुने हुनाले यी बालीहरू एकै स्थानमा लगाएता पनि यिनले हावा, तापक्रम, स्थान र प्रकाश संस्लेषण फरक–फरक किसिमले गर्छन् । मिश्रित खेती लगाएको क्षेत्रमा प्रकाश, कार्वनडाईअक्साइड र जमिन जस्ता वातावरणीय स्रोतहरूको बढी प्रभावकारी उपयोग हुन्छ । फलस्वरूप उत्पादन तथा उत्पादकत्वमा वृद्धि हुने, रोग कीरा कम लाग्ने, माटोको वातावरण सुधारिने हुँदा नेपालमा परम्परागत रुपमा मिश्रित खेती प्रणाली प्रभावकारी बन्दै आएको छ ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय टीकापुरका डीन डाक्टर विष्णुविलाश अधिकारी माटोको उर्बरा शक्ति बढाएर प्रोटिनजन्य खाद्यान्न उत्पादन गर्न मिश्रित खेती प्रणाली प्रभावकारी रहेको बताउँछन् ।

‘विशेषगरी कोशेबालीको जरामा माटो मलिलो बनाउने साना साना गिर्खाहरु हुन्छन् ती गिर्खाभित्र ब्याक्टेरिया हुन्छ त्यो ब्याक्टेरियाहरुले वायुमण्डलमा भएको नाइट्रोजन स्थिकिकरण गरेर लिन्छन्, जसले गर्दा त्यो बालीको पनि उत्पादन बढ्ने र माटो पनि मलिलो बन्दै जान्छ’ डाक्टर अधिकारीले भने ‘हामीले मुख्य खाद्यान्न बाली धान, गहुँ, मकै, कोदो, फापरबाट कार्बोहाइडे«ट बढी प्राप्त हुन्छ भने कोशेबालीबाट प्रोटिन प्राप्त हुन्छ अर्थात् एउटै बालीबाट हामीलाई चाहिने कार्कोहाइडे«ट र प्रोटिन एकै समयमा प्राप्त गर्न सकिने हुनाले पनि मिश्रित बाली महत्वपूर्ण जैविक प्रणाली हो ।’

अन्नबाली, तरकारीबाली, नगदेबालीको खेतीमा मिश्रित बालीका रुपमा कोसे बाली समावेश गरिएमा माटोको उर्वरा शक्तिमा वृद्धि भएर र प्रोटिनजन्य खाद्य पदार्थको प्राप्ती भई वातावरणमा समेत सकारात्मक प्रभाव पर्दछ ।

पछिल्लो समय किसानहरुले खाद्यान्न बालीहरुलाई मात्रै बढी प्राथमिकता दिएको पाइन्छ । उब्जाऊ जमिनमा विस्तारै माटोको मलिलोपन कम हुँदै जाँदा माटो बिग्रिएर मरुभूमिकरण बन्ने खतरा बढिरहेको छ । किसानले लगाउने अन्नबालीसँगै कोशेबालीहरु पनि मिलाउँदा माटो संरक्षणमा मद्दत पुग्छ ।

‘अन्नबालीमा कार्बोहाइडेट बढी भएको अनाज उत्पादन हुन्छ भने कोशेबालीबाट दाल अथवा तरकारीका रुपमा प्रयोग प्रोटिन प्राप्त गर्न सकिन्छ’ डाक्टर अधिकारीले भने ‘मिश्रित बाली प्रणालीमा थरिथरिका बालीहरुबाट हाम्रो शरिरलाई चाहिने कार्बोहाइडेट, प्रोटिन, खनिज पदार्थ, चिल्लो पदार्थ यी सबै कुराहरु सन्तुलित रुपमा पाउन सकिन्छ भने अर्कोतर्फ तरकारी बाली र फलफूल बाली पनि सँगैसँगै हुर्काएर जैविक विविधता पनि संरक्षणमा टेवा पुगिरहेको हुन्छ ।’

एक खेती प्रणालीमा सुख्खा, बाढी, रोगकीराबाट बाली सखाप हुन सक्ने भए पनि बहुखेती प्रणालीमा एक खेती नोक्सान भए पनि अन्य खेती बाँकी रहने हुँदा कृषकका लागि यो प्रणाली लाभदायक छ । विषादीको उच्चतम् प्रयोगबाट उत्पादन भइरहेका खाद्यान्न बालीका लागि मधुमेह, रक्तचाप, क्यान्सर जस्ता घातक रोगहरु बढिरहेका बेला रैथाने बालीबाट उत्पादित खाद्यान्नहरु लाभदायक रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । मिश्रित खेती प्रणालीले माटो मात्र नभई मानव स्वास्थ्यमा समेत टेवा पुर्याउँदै आएको छ ।

जलवायु परिवर्तनको नकारात्मक असरबाट नेपालको सीमान्तकृत कृषक समुदाय बढी प्रभावित हुने भएकाले बहुखेती प्रणालीलाई यी कृषक समुदायको जीविकोपार्जनमा सहयोग पुर्याई रहेको छ ।

जलवायु परिवर्तनको बढी असर परेका चुरे, पहाड, हिमाल, र तराई क्षेत्रमा प्रकोप न्यूनिकरण गर्न बहुखेती प्रणाली प्रभावकारी रूपमा बिस्तार गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।

‘जलवायु परिवर्तनका असर न्यूनिकरण गर्दै दिगो कृषि प्रणाली विकास गरेर कृषकको आय आर्जनमा वृद्धि हुने बहुखेती प्रणाली निकै उपयोगी छ’ डाक्टर अधिकारीले भने ।

माटो जोगाउन, जैविक विविधता संरक्षण गर्न तथा रैथाने बाली तथा प्रविधिहरुको प्रबद्र्धन गर्न नेपालमा विभिन्न कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् । सन् २०२३ लाई सरकारले कोदो वर्षका रुपमा मनाएर लोपोन्मुख बाली संरक्षणमा अग्रसरता देखाएको छ ।

‘आजभन्दा झण्डै तीस वर्ष अगाडिदेखि नै नेपालमा भएका १५ शय धानका जातहरु अन्तर्राष्टिय अनुसन्धान केन्द्र फिलिपिन्सको जिन बैंकमा संरक्षण गरिएको छ । गहुँ, मकैमा पनि सिमेटमा लगेर मेक्सिकोमा राखिएको छ’ डाक्टर अधिकारीले भने ‘खुमलटारमा हाम्रो जिन बैंक छ, त्यसमा पनि थरिथरिका अन्नबाली, फलफूल, तरकारी आदिका बिउबिजनहरु त्यहाँ राखिएका छन् । कृषि अनुसन्धान केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद नार्कले पनि अध्ययन अनुसन्धान गरिरहेको छ ।’

उदासियाको पुस्ताले जानी नजानी गर्दै आएको बहुखेती प्रणालीको संरक्षण र सम्बद्र्धनका लागि सरकार तथा गैरसरकारी संघसंस्थाहरुले थोरै प्रयास गरेको भए पनि आम किसानहरुसम्म यसको महत्व बुझाउन नसक्दा भने यो प्रणाली हराउँदै जाने अवस्थामा छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update