Hamro Patra
सवा तीन करोडको घण्टाघर अलपत्र

टीकापुर, बैशाख २७
टीकापुरस्थित घण्टाघर निर्माण भएको दुई वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन । सवा तीन करोड भन्दा बढी लागतमा निर्माण भएको घण्टाघर सञ्चालनमा नआउदा जीर्ण बन्दै गैरहेको छ ।

शहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीले टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. १९ मा ३ करोड २६ लाख ४२ हजार रुपैयाँको लागतमा घण्टाघर निर्माण गरेको छ । घण्टाघर निर्माणका लागि रोयल प्रशंसा जेभीले २०७५ फागुन १९ गते सम्झौता गरेको थियो ।

सम्झौता अनुसार निर्माण कम्पनीले २०७७ भदौ २५ गते काम सम्पन्न गर्नुपर्ने भए पनि कोरोना संक्रमणका कारण २०७८ मा निर्माण सम्पन्न भएको थियो । शहरी विकास तथा भवन निर्माण कार्यालयले घण्टाघर निर्माण भएपछि २०७९ बैशाख १५ गते सञ्चालनका लागि टीकापुर नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

Khadga Memorial And Janajagriti

नगरपालिकाले हस्तान्तरण भएको एक वर्ष भन्दा बढी समयसम्म पनि घण्टाघर सञ्चालन बारेमा कुनै निर्णय गर्न सकेन । उसले २०८० साउन १५ गतेको कार्यपालिका बैठक मार्फत दररेट निर्धारण गरेको थियो ।

कार्यपालिका बैठकले दररेट निर्धारण गरेपछि मात्रै नगरपालिकाले पहिलो पटक २०८० साउन २४ गते सूचना प्रकाशित गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत दमन चौधरीका अनुसार घण्टाघर सञ्चालनका लागि पहिलो पटक कसैको पनि निवेदन परेन ।

पहिलो पटक कसैको निवेदन नपरेपछि नगरपालिकाले २०८० भदौ ११ गते दोस्रो पटक सूचना प्रकाशित गरेको थियो । चौधरीका अनुसार दोस्रो पटक पनि भ्याटमा दर्ता नभएको एक मात्र निवेदन परेको थियो । सो निवेदनलाई अयोग्य भन्दै नगरपालिकाले २०८० कार्तिक १६ गते रद्ध गरिदिएको थियो ।

नगरपालिकाले घण्टाघर लगायतका संरचनाबाट आन्तरिक आय कसरी बढाउन सकिन्छ भन्ने बारेमा अध्ययन गर्न केही महिना अघि टीकापुर बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख केशरबहादुर कुँवरको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरेको थियो । सो समितिले काम गर्न सकेन ।

नगर प्रमुख रामलाल डगौरा थारुले लामो समयदेखी सञ्चालनमा आउन नसकेको घण्टाघर सञ्चालनको काम नयाँ ढंगले अघि बढाईएको बताए । उनले आगामी आर्थिक वर्षको सुरुवातमै सञ्चालन गर्ने गरी काम अघि बढेको जानकारी दिए । ‘१/२ दिनमै प्रकृया सुरु हुन्छ’ नगरप्रमुख थारुले भने–‘नगरपालिकाको आन्तरिक समस्याका कारण समयमा सञ्चालन हुन नसकेको हो ।’

घण्टाघरलाई भ्यु टावरका रूपमा पनि प्रयोग गर्न सकिने गरी निर्माण गरिएको छ  । यहाँबाट टीकापुरको अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ । २६ मिटर उचाइ रहेको यो घण्टाघरबाट टीकापुर बजार क्षेत्रको अवलोकन गर्ने सकिनेछ । पहिलो तलामा रेष्टुरेन्ट सञ्चालन गर्न सकिनेछ भने घण्टाघरमा प्रवेशद्वार, सुरक्षागार्ड चौकी, शौचालय, टिकट काउण्टर निर्माण गरिएको छ ।

घण्टाघर सञ्चालन नहुँदा त्यहाँ प्रयोग गरिएका चारवटा घडी समेत बन्द अवस्थामा छन् । निकै सानो आकारको घडी भएकाले समय हेर्न गाहे हुने बताउँदै स्थानीयहरुले उक्त घडी फेर्न माग गर्दै आएका छन ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update