Hamro Patra
लम्की-खक्रौला सडक: भुक्तानी हुनेमा निर्माण व्यवसायी शसङ्कित

टीकापुर, बैशाख २७
हुलाकी राजमार्ग अन्र्तगत लम्की–टीकापुर–खक्रौला सडक निर्माणको काम थपिएको समयमा समेत सम्पन्न हुने सम्भावना कम देखिएको छ । लम्कीदेखी पथरैयासम्मको सडक खण्ड निर्माण सम्पन्न भएपनि पथरैयादेखी टीकापुरहुँदै खक्रौलासम्म सडक निर्माणको काम भने सुस्त देखिएको छ ।

लम्कीदेखी पथरैयासम्मको ८ किलोमिटर भने १० महिना अघि नै कालिका कन्ट्रक्सनले निर्माण सम्पन्न गरिसकेको छ । निर्माण कम्पनीका प्रतिनिधि हरिनाथ योगीले सडक कालोपत्रेका साथै रंगरोगनको काम समेत सम्पन्न भैसकेको जानकारी दिएका छन ।
पथरैयादेखी अस्नेहरीसम्म ८ किलोमिटर सडक निर्माणको जिम्मा पाएको एपेक्स खड्का कृष्ण जेभीले पनि कालोपत्रेको काम त सुरु गरेको छ । तर निर्माण कम्पनी स्वयम् समयमै काम सम्पन्न हुनेमा विश्वस्त छैन ।

उसको थप भएको समय समेत आगामी असोज मसान्तसम्म मात्रै छ । निर्माण कम्पनीका साइड इञ्चार्ज केशव डिसीले अहिले कालोपत्रे भएको सडकको बिल समयमै भुक्तानी हुन नसके सडक निर्माणको थप काम अघि बढ्न नसक्ने बताए ।

Khadga Memorial And Janajagriti

कम्पनीले अहिले सडक कालोपत्रको काम पथरैयादेखी दुर्गौली बजारसम्म पुर्याएको छ । डिसीले दुर्गौलीदेखी जानकी गाउँपालिकाको सिमानासम्म र टीकापुर बसपार्कदेखी अस्नेहरीसम्म कालोपत्रेको काम समेत केही दिन भित्रै सकिने जानकारी दिए ।

‘हामीले पथरैयादेखि शुरु गरेर दुर्गौली बजारसम्म पुर्याएका छौं’ उनले भने ‘हाललाई चारलेन सडकबाहेक दुई लेनको सडक कालोपत्रेको काम सक्ने गरी निर्माण कम्पनी लागिरहेको छ ।’

सडकखण्डमा पर्ने केही कल्भर्ट तथा पुल, दुर्गौली बजार क्षेत्रमा सडक सम्बन्धी विवाद र टीकापुर क्षेत्रको चारलेन सडकमा भने तत्काल काम गर्न नसकिने डिसीले बताए ।

‘कल्भर्ट लगायतका केही संरचना बनाउन र फोरलेन सडक कालोपत्रेका लागि निर्माण कम्पनी तयार नै छ’ उनले भने ‘तर हुलाकी राजमार्ग आयोजनाले कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकम निकासा नभए फोरलेन सडक निर्माण गर्न सकिने अवस्था छैन ।’

अस्नेहरीदेखी खक्रौलासम्मको ११ किलोमिटर सडक कालोपत्रको जिम्मा पाएको रायमाझी गाल्भा जगदम्बा जेभीले अहिलेसम्म सडक बेसको काम समेत सकेको छैन । उसको पछिल्लो थप म्याद पुस मसान्त सम्म रहेको छ ।

कम्पनी प्रतिनिधि चन्द्र लम्सालले समेत भुक्तानीमा समस्या आउन सक्ने डरले सडक निर्माणको काम अघि बढाउन नसकिएको बताए । उनका अनुसार आयोजनाले भुक्तानीमा ढिलाई गरिरहेको छ । जसका कारण निर्माण कम्पनी खर्च गर्न डराईरहेको छ ।

‘आयोजनासँग बजेट छैन । आफ्नै लगानी गरेर काम गर्दा सम्भव छैन’ उनले भने–‘भोलि समयमा भुक्तानी भएन भने समस्या हुन्छ ।’

आयोजनासँग बजेट अभाव रहेको हुलाकी राजमार्ग आयोजना योजना कार्यालय धनगढीका सूचना अधिकारी बर्ख कठायतले स्विकारेका छन । उनले चालु आर्थिक वर्षको ३९ करोड रुपैयाँ फागुन महिनामै सकिएको जानकारी दिए । उनले थप १५ करोड बजेट माग गरिएको बताए ।

‘एक महिना अघि नै थप बजेट माग गरिएको हो’ उनले भने–‘अर्थ मन्त्रालयमा रोकिएको छ भन्ने सुनिएको छ । बजेट निकासा हुने निश्चितता छैन ।’

उनले निर्माण सम्पन्न भएका कामको भुक्तानीमा ढिलाई भएको कुरा समेत स्विकारेका छन । उनले तर थोरै ढिलो भएपनि भुक्तानीमा समस्या नहुने बताए ।

निर्माण कम्पनी र आयोजनाको कुरा सुन्दा अहिले भैरहेको कामको भुक्तानी चालु आर्थिक वर्षमा हुने सम्भावना देखिदैन । यदि चालु आर्थिक वर्षमा भुक्तानी नहुने हो भने निर्माण कम्पनीले ठूलो आर्थिक मार व्यहोर्नुपर्ने देखिन्छ । निर्माण कम्पनीले भोलि व्यहोर्नुपर्ने आर्थिक मारको डरले सडक निर्माणको काममा ढिलासुस्ती गरिरहेका छन ।

तर सडक निर्माणको काममा ढिलाई भैरहेको प्रति स्थानीयले भने आक्रोश व्यक्त गर्ने गरेका छन । लामो समयदेखी सडक निर्माणको काम भैरहेकाले स्थानीयले आवागमनमा समस्या भोग्नु परिरहेको छ । सडक नजिकैका बासिन्दालाई धुलो धुँवाले समस्या पारेको छ । जानकी गाउँपालिका भगतपुरका स्थानीय रमेश चौधरीले सडक निर्माणको काम समयमै सम्पन्न गर्न तर्फ ध्यान केन्द्रित गर्न माग गरेका छन ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update