Hamro Patra
टीकापुर-खक्रौला सडकः धमाधम कालोपत्रे हुँदै

टीकापुर, बैशाख २५

हुलाकी राजमार्ग अन्तर्गत लम्की टीकापुर सडक खण्डको पथरैया-टीकापुर-अस्नेहरी क्षेत्रमा धमाधम कालोपत्रे शुरु गरिएको छ । निर्माण कम्पनी एपेक्स खड्का कृष्ण जेभीले उक्त सडकखण्डको ८ किलोमिटर सडकमा धमाधम कालोपत्रे गरिरहेको हो ।

निर्माण कम्पनीले टीकापुरको जमरा पुलदेखि जानकी गाउँपालिकाको सीमाना, दुर्गौली बजारदेखि पथरैयासम्मको क्षेत्रमा कालोपत्रे गरिरहेको छ । पथरैयाबाट शुरु गरिएको कालोपत्रे दुर्गौली बजारसम्म पुग्न थालेको निर्माण कम्पनीले जनाएको छ ।

Khadga Memorial And Janajagriti

निर्माण कम्पनीका साइड इञ्चार्ज केशव डिसीले पथरैयादेखि दुर्गौली बजारसम्म र दुर्गौली पुलदेखि जानकी गाउँपालिकाको सीमानासम्म केही दिनमै कालोपत्रेको काम सकिने बताए । कालोपत्रे भइरहेको दुई लेन सडक ७ मिटर कालोपत्रे र दुबैतर्फ गरी ५ मिटर ग्राभेल सडक हो ।

‘हामीले पथरैयादेखि शुरु गरेर दुर्गौली बजारसम्म पुर्याएका छौं’ इञ्चार्ज डिसीले भने ‘हाललाई चारलेन सडकबाहेक दुई लेनको सडक कालोपत्रेको काम सक्ने गरी निर्माण कम्पनी लागिरहेको छ ।’

सडकखण्डमा पर्ने केही कल्भर्ट तथा पुल, दुर्गौली बजार क्षेत्रमा सडक सम्बन्धी विवाद र टीकापुर क्षेत्रको चारलेन सडकमा भने तत्काल काम गर्न नसकिने डिसीले बताए ।

‘कल्भर्ट लगायतका केही संरचना बनाउन र फोरलेन सडक कालोपत्रेका लागि निर्माण कम्पनी तयार नै छ’ डिसीले भने ‘तर हुलाकी सडक आयोजनाले कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकम निकासा नभए फोरलेन सडक निर्माण गर्न सकिने अवस्था छैन ।’

तीस महिना भित्र निर्माण सम्पन्न गर्नेगरी लम्की-टीकापुर-खक्रौलासम्मको २९.७ किलोमिटर सडक तीन खण्डमा ठेक्का सम्झौता भएको थियो । पहिलो खण्डको लम्कीदेखि पथरैयासम्मको सडक गत असार महिनामै सम्पन्न भए पनि पथरैया-टीकापुर-अस्नेहरी खण्डको सडक असार मसान्तसम्म सकिनेमा दुविधा छ ।

तीस महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको निर्माण कम्पनीलाई आगामी असोज महिनासम्मको म्याद थप गरिएको छ । यो म्याद थप भएसँगै आयोजनाले तेश्रो पटक म्याद थप गरेको हो ।

पथरैया खण्डबाट सडक कालोपत्रे हुन थालेपछि लम्कीदेखि टीकापुरसम्मको यात्रा सहज हुने टीकापुरका व्यवसायी पुष्प बमले बताए ।

‘यो वर्षासम्म लम्कीदेखि टीकापुरसम्म कालोपत्रे बाटोमा हिँड्ने पाइने भयो’ बमले भने ‘चार दशक बढी समयदेखि हिलो र धुलो बाटोमा यात्रा गरिरहेका यात्रुलाई निकै सहज हुनेछ ।’

हुलाकी सडक आयोजना धनगढीका अनुसार पथरैया-टीकापुर-अस्नेहरी सडक खण्डको ८ किलोमिटर सडकखण्डमा साढे तीन किलोमिटर चारलेन सडक छ ।

उक्त खण्डको ८ किलोमिटर सडकका लागि २०७७ जेठ २६ गते ४० करोड ९९ लाख रुपैयाँमा निर्माण कम्पनीले हुलाकी राजमार्ग निर्देशनालयसँग सम्झौता गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update