Hamro Patra
विद्युत उत्पादन भयो, कार्यविधि मन्त्रालयमै थन्कियो

टीकापुर, बैशाख १४
राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाई आयोजनाले निर्माण गरेको विद्युत गृह सञ्चालन तथा व्यवस्थापन कार्यविधि विगत तीन महिनादेखी अध्ययनका नाममा मन्त्रालयमा थन्काईएको छ ।

आयोजनाले पुष महिनामै कार्यविधि तयार पारेर स्विकृतीका लागि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा बुझाएको थियो । कार्यविधिमा सो मन्त्रालयका सचिवको अध्यक्षतामा चार सदस्यीय समिति गठन गर्ने उल्लेख छ । सो समितिको सदस्यहरुमा महानिर्देशक, उपमहानिर्देशक र आयोजना प्रमुख रहने व्यवस्था गरिएको छ ।

सोही समितिले उत्पादित विद्युत खरिद बिक्रीका बारेमा नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गर्ने उल्लेख छ । कार्यविधिमा विद्युत बिक्री गरे वाफतको रकम समितिका खातामा जम्मा हुनुपर्ने व्यवस्था गरिएको छ ।

Khadga Memorial And Janajagriti

समितिले विद्युत गृह सञ्चालन र मर्मत बाहेकको रकम आम्दानीका रुपमा राजश्वमा दाखिला गर्ने गरी आयोजनाले कार्यविधि तयार पारेको छ । सो कार्यविधिका बारेमा अध्ययन भैरहेको छ । आयोजनाले पेश गरेको कार्यविधि अनुसार नै अघि बढ्ने वा फेरबदल गर्ने बारेमा अध्ययन भैरहेको स्रोतले जानकारी दिएको छ ।

मन्त्रालयले अध्ययन पश्चात कार्यविधि स्विकृतीका लागि अर्थ मन्त्रालयमा पेश गर्नुपर्नेछ । अर्थ मन्त्रालयको स्विकृती पश्चात मात्रै कार्यविधि कार्यान्वयनमा आउने बताईएको छ ।

कार्यविधि अध्ययन र स्विकृतीको काम अघि नबढेपछि विद्युत गृह सञ्चालनका बारेमा अन्यौलता सिर्जना भएको छ । आयोजनाले माघ १६ गतेबाट परिक्षण उत्पादन सुरु गरिसकेको छ ।

आयोजना प्रमुख रविन्द्रबहादुर थापाले ४ दशमलव ७ मेघावाट क्षमता रहेको विद्युत गृहले हाल ३ दशमलव १ मेघावाट विद्युत नियमित उत्पादन गरिरहेको जानकारी दिए । उनका अनुसार परिक्षणका क्रममा रहेकाले पूर्ण रुपमा उत्पादन हुन नसकेको हो ।
‘अहिले परिक्षणकै क्रममा छौं । त्यसैले कम उत्पादन भएको हो’ उनले भने–‘क्षमता अनुसारको उत्पादनमा समस्या छैन ।’

आयोजनाले उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको लम्कीस्थित प्रशारण केन्द्रमा पठाएको छ । प्रशारण केन्द्रले सो विद्युत ३३ केभी मार्फत राष्ट्रिय प्रशारण लाईनमा जोडेको बताएको छ ।

आयोजनाले विद्युत बेचेर वार्षिक ३० करोड आम्दानी गर्नेछ । आयोजना प्रमुख थापाका अनुसार चार वर्षमा विद्युत गृहको सम्पूर्ण लगानी असुल हुनेछ । विद्युत गृह निर्माणमा १ अर्ब रुपैयाँ खर्च भएको छ ।

विद्युत गृहले २५ वर्षमा सम्पूर्ण सिँचाई आयोजनाको लगानी असुल्ने अनुमान गरिएको छ । ‘विद्युत बेचेर मात्रै २५ वर्षमा सबै रकम असुल हुन्छ’ आयोजना प्रमुख थापाले भने–‘आयोजनाका कारण कृषि क्षेत्रमा बढ्ने आम्दानी अझ धेरै हुनेछ ।’

सिँचाईसँगै विद्युत समेत उत्पादन थालेको यो आयोजना देशकै नमूना बहुउदेश्यीय परियोजना हो । आयोजनाले सिँचाई, विद्युत, नदी नियन्त्रण, सडक र कृषि उत्पादनलाई प्राथमिकतामा राखेको छ । यसबाट अन्य आयोजनाले समेत सिक्न सक्ने सिनियर डिभिजन इञ्जिनयिर बिरसिँह धामीले बताए ।

उनले विद्युत ब्यापार गर्ने गरी स्थापना भएको देशकै पहिलो सिँचाई आयोजना भएको जानकारी दिए । ‘अन्यत्र केही सिँचाई आयोजनाले विद्युत उत्पादन गरेका छन’ उनले भने–‘त्यो विद्युत आयोजना भित्रै मात्र खपत भएको देखिन्छ ।’

उनका अनुसार यसअघि सुनसरी मोरङ, फेवा र चौर जहारी सिँचाई आयोजनाले विद्युत उत्पादन गरेका छन । त्यो विद्युत राज्य कोषमा आम्दानी हुने गरी प्रयोग भएको पाईदैन ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update