Hamro Patra
दुई देशका नागरिकद्वारा दशगजा मिचेर खेतीपाती

योगेश रावल
टीकापुर, मंसिर २२
कैलालीमा अधिकांश दशगजा क्षेत्र अतिक्रमणको चपेटामा छ । दुई देशका स्थानीयले दशगजा क्षेत्र मिचेर खेतीपाती गर्दै आएका छन । उनीहरुले नेपाल र भारतको सीमा क्षेत्र छुट्याउने सीमास्तम्भ वरिपरि समेत खेतीपाती गरेका छन ।

भजनी नगरपालिका–३ कुसुमघाटस्थित ७०७/१०९ नम्बरको जंगे (मुख्य) पिल्लर र त्यसका सहायक पिल्लर मिचेर स्थानीयले खेतीपाती गरेको पाईएको छ । त्यहाँ रहेको ७०७/२ (१०९बी) नम्बरको सहायक पिल्लर वरिपरि भारतीय नागरिकले मसुरो खेती गरेका छन । स्थानीयका अनुसार जिल्लामा रहेका अन्य सीमास्तम्भको अवस्था समेत यस्तै छ । अधिकांश सीमास्तम्भ मिचेर खेतीपाती भैरहेको छ ।

नेपाली पक्षले भने वर्षौदेखी खेतीपाती गर्दै आएको आफ्नो जमिन सीमास्तम्भ सारेका कारण दशगजामा पारेको दावी गरेका छन । वि.सं. २०२४ सालदेखी त्यहाँ बसोबास गर्दै आएका स्थानीय मानबहादुर साउँदले पिल्लर नेपालतर्फ सारेर आफ्नो जमिन दशगजामा पारिएको बताए । उनले आफू ८ वर्षको उमेरदेखी कुसुमघाट गाउँमा बस्दै आएको बताए ।

Khadga Memorial And Janajagriti

‘मैले धेरै पर देखेका पिल्लर अहिले हाम्रो खेतबारीमा गाडिएका छन’ उनले भने–‘अहिले हाम्रो खेतबारीलाई दशगजा भन्न थालिएको छ ।’

उनले आफूहरुले दशगजाका रुपमा छोडेको भूभाग अहिले भारततर्फ परेको जानकारी दिए । जुन भूभागलाई अहिले सडकका रुपमा प्रयोग गर्न थालिएको छ ।

दशगजा मिचेर खेतीपाती गर्नेमा नेपाली भन्दा भारतीय नागरिकको संख्या धेरै छ । स्थानीयका अनुसार उनीहरुले मोहना नदी पारीको भूभागमा एकलौटी रुपमा खेतीपाती गरेको पाईएको छ । कतिपय भारतीय नागरिकले नेपालतर्फको भूभागमा समेत खेतीपाती गर्ने गरेका छन ।

‘दशगजा मात्रै हैन हाम्रो अन्य धेरै भूभाग समेत भारतीयले खनजोत गर्दै आएका छन’ स्थानीय जोगी कडायतले भने–‘भारतीयको दादागिरी सामु हामी निरिह छौं ।’

स्थानीयले वि.सं. २०४० सालमा ७०७/११० नम्बरको जंगे (मुख्य) पिल्लर नदीले बगाएपछि सीमा अतिक्रमण सुरु भएको बताए । उनीहरुका अनुसार सो पिल्लर वि.सं. २०६३ सालमा नेपाली भूभाग अतिक्रमण गरेर पुर्ननिर्माण गरिएको हो । जसका कारण ७०७/१०९ देखी ७०७/११० नम्बरको जंगे (मुख्य) पिल्लरको बिचमा पर्ने सहायक पिल्लरहरु नेपाली भूमीमा परेका छन ।

वि.सं. २०६३ मा स्थानीयले एकलौटी रुपमा सीमास्तम्भ पुर्ननिर्माण गरेको भन्दै विरोध समेत गरेका थिए । उनीहरुले तत्कालिन समयमा सहायक पिल्लर भत्काएका थिए । स्थानीयको विरोध पछि ती पिल्लर लामो समयसम्म पुर्ननिर्माण हुन सकेका थिएनन् । गतवर्ष भने दुई देशको संयुक्त टोलीले ती सहायक पिल्लर नेपाली भूमीमै पुर्ननिर्माण गरेको छ ।

गतवर्ष समेत स्थानीयले आफ्नो जमिनमा पिल्लर पुर्ननिर्माण नगर्न भन्दै विरोध गरेका थिए । तर दुई देशका अधिकारीहरुले सुरक्षाकर्मी परिचालन गरेर जबरजस्ती पिल्लर निर्माण गरेको आरोप स्थानीयले लगाएका छन । ‘हामीले एक महिनासम्म विरोध ग¥र्यौ तर पुर्ननिर्माण रोक्न सकेनौ’ स्थानीय हर्क साउँदले भने–‘हाम्रा खेतमा पिल्लर गाडेरै छोडे ।’

स्थानीयले सहायक पिल्लर पुर्ननिर्माण गर्दा वर्षौदेखी यथास्थानमा रहेको ७०७/१०९ नम्बरको जंगे (मुख्य) पिल्लरलाई आधार मान्न सीमा सर्भेमा खटिएका दुई देशका अधिकारीहरुलाई आग्रह गरेका थिए । तर उनीहरुले नदीले बगाएपछि पुर्ननिर्माण गरिएको ७०७÷११० नम्बर जंगे (मुख्य) पिल्लरलाई आधारमा माने । जुन नेपाली भूमी अतिक्रमण गरेर पुर्ननिर्माण भएको स्थानीयको दावी रहेको छ ।

‘हामीले भनेको जंगे पिल्लरलाई आधार मानेको भए हाम्रो भूमी दशगजामा पर्दैन थियो’ साउँदले भने–‘अतिक्रमण गरेर निर्माण भएको पिल्लरलाई आधार मानेर हाम्रा खेतमा पिल्लर गाडियो ।’

स्थानीयले दशगजा क्षेत्र स्पष्ट रुपमा नछुट्याईएका कारण आफूहरुले खेतीपाती गर्दै आएको बताएका छन । उनीहरुले वर्षौदेखी खेतीपाती गर्दै आएको जमिन दशगजाका रुपमा स्विकार्न मनले नमानेको बताए । तैपनि उनीहरु दशगजा क्षेत्र खाली गर्ने कुरामा आफूहरु वाधक नहुने बताउँछन । उनीहरु त्यसका लागि पहिले भारतीय नागरिकले खेतीपाती गर्दै आएको दशगजा क्षेत्र र नेपाली भूमी खाली गराउनु पर्ने माग गर्छन ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले दशगजा अतिक्रमण गरेर खेतीपाती भैरहेको कुरा जानकारीमा आएको बताए । उनले यो विषयमा दुई देशका अधिकारीहरुको संयुक्त बैठकमा समेत छलफल भएको जानकारी दिए ।

उनले दुई देशको संयुक्त सीमा सर्भे टोलीले दशगजा क्षेत्र स्पष्ट छुट्याएपछि अतिक्रमण हटाउने बारेमा पहल हुने बताए । ‘पहिले दशगजा क्षेत्र स्पष्ट होस्’ उनले भने–‘त्यसपछि दुवै देशको टीम एक्सनमा जान्छ ।’

वर्षौदेखी सीमास्तम्भ मिचेर खेतीपाती भैरहेको भएपनि राज्यका तर्फबाट हटाउने प्रयास भएको छैन । सीमा क्षेत्रमा दशगजा स्पष्ट नभएका कारण पनि बेलाबेलामा दुई देशका नागरिकहरुबीच विवाद हुने गरेको छ । यस्तो अवस्थामा भारतीय पक्षले नेपालीलाई डरत्रास समेत देखाउने गरेको स्थानीय बताउँछन ।

प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update