Hamro Patra
सुदूरपश्चिम झल्काउने भित्तेपात्रो सार्वजनिक

टीकापुर, बैशाख ९

सुदूरपश्चिम प्रदेशको महत्त्व झल्काउने भित्ते पात्रो सार्वजनिक गरिएको छ। राज भिजन प्रालिले २०८१ सालको लागि तयार गरेको भित्ते पात्रोमा फोटो पत्रकार राजेन्द्र थापाले संकलन गरेका तस्बिरहरू राखिएका छन् ।

एउटा जिल्लाका प्रख्यात तथा ओझेलमा परेका गरि करिब ५ वटा तस्बिरहरू भित्ते पात्रोमा समावेश गरिएको छ । यहाँका सबै जिल्लाको तस्बिर राखिएको भित्रै पात्रोले पर्यटन प्रवर्द्धनमा भूमिका खेल्न राज भिजन प्रालिका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार राजेन्द्र थापाले जनाए ।

Khadga Memorial And Janajagriti

‘यहाँ सुदूरपश्चिममा ओझेलमा परेका तथा प्रसिद्ध सबै स्थान र स्थलहरूको तस्बिर रहेका छन् केही धेरैले थाहा पाएका तथा केही कसैले नदेखेका पनि होलान्’ उनले भने ‘ती सबै स्थान र स्थलहरूको प्रचार प्रसार गर्ने उद्देश्यले भित्ते पात्रो प्रकाशन गरिएको हो ।’

थापाले आफूले तयार गरेको भित्ते पात्रो निःशुल्क रुपमा वितरण गर्ने समेत जानकारी दिए । उक्त कामले थप पर्यटकीय क्षेत्रको पहिचानमा टेवा पुग्ने उनको विश्वास रहेको थियो ।

भित्ते पात्रो विमोचन गर्दै पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावलले फोटो पत्रकार थापाले नयाँ र नवीन कामको सुरुवात गरेको जनाएका थिए । उनले यस वर्षको लागि जारी भएको भित्ते पात्रोले प्रदेशका सबै क्षेत्रको बारेमा नयाँ जानकारी दिने बताए । 

उक्त भित्ते पात्रोमा यहाँको सांस्कृतिक पहिचान, पर्यटकीय क्षेत्र, खोज तथा अन्वेषण हुनुपर्ने स्थान, ऐतिहासिक तथा पौराणिक महत्वका क्षेत्रहरू देखाएको छ । पत्रकार महासङ्घका अध्यक्ष रावलले राज्य स्तरबाट हुनुपर्ने काम पत्रकारले गरिरहेको भन्दै थापाको प्रशंसा गरेका थिए ।

फोटो पत्रकार थापाले डेढ दशक बढि समय देखी सुदूरपश्चिम प्रदेशका दुर्गम क्षेत्र सम्म पुगेर फोटो संकलन गर्दै पर्यटन प्रवर्द्धनमा भूमिका खेलिरहेका छन् ।

आइतबार धनगढीस्थित दहिटान घरमा पत्रकार महासङ्घ प्रदेश अध्यक्ष रावलसहित पूर्व अध्यक्ष अर्जुन शाह, प्रेस चौतारी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लोगश्वरी कुवर, प्रदेश पत्रकार महासङ्घका सचिव हरि जोशी, पत्रकार दीर्घ राज उपाध्याय उन्नति चौधरी, श्रवण देउवा, भानुभक्त आचार्य,युवराज न्यौपाने , शंकर बोहरा लगायतले सामूहिक रुपमा भित्रै पात्रो विमोचन गरेका थिए ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update