Hamro Patra
उखुको रस बेचेर करोडपति

टीकापुर, बैशाख ९

कालिकोट कार्कीबाडाका ५४ वर्षीय दत्तबहादुर कार्की २३ वर्षअघि कैलालीको लम्कीमा भाडाको घरमा बस्थे । उनी त्यतिबेला मासिक ७ सय रुपैयाँ तिरेर अर्काको घरमा बसेका थिए । उनी अहिले लम्की बसपार्क नजिकै आफ्नै घरमा बस्छन । एउटा घर चौलागाई डिपार्टमेन्ट स्टोरलाई भाडामा दिएका छन । उनले लम्कीमै दुईवटा थप घडेरी समेत जोडेका छन ।

यतिमात्रै हैन कर्णाली प्रदेशको राजधानी सुर्खेतमा समेत घरघडेरी जोडेका छन । त्यहाँको प्रसिद्ध देउती बज्यै मन्दिर नजिकै घर बनाएका छन । त्यो घर पनि भाडामा दिएका छन । चारजना छोराछोरीलाई उच्च शिक्षा दिईरहेका छन । जेठी छोरी कोमल कार्की काठमाण्डौंको एक अस्पतालमा काम गर्छिन । उनले जनकपुरबाट बिएन उत्तीर्ण गरेकी छन । अर्की छोरी निशा कार्की कानून व्यवशायी हुन । उनी नेपालगञ्जमा कानून व्यवशाय गर्छिन र त्यहीको एक कलेजमा कानूनका विद्यार्थीलाई पढाउछिन ।

जेठो छोरा कृष्णले वेष्टर्न कलेज धनगढीबाट प्लस टु उत्तीर्ण गरेका छन भने कान्छो छोरा निसान काठमाण्डौंस्थित ग्लोबल कलेजमा ११ कक्षामा पढ्दै छन । उनका सबै छोराछोरी अध्ययनमा पोख्त छन । उनको २३ वर्ष अघिको आर्थिक अवस्थामा निकै प्रगति भएको छ । कुनैबेला अर्काको घरमा भाडामा बसेका कार्की अहिले आफै घरबेटी बनेका छन । उनको जीवनयापन नै फेरिएको छ ।

उनको सानो कामले जीवनमा ठूलो परिवर्तन ल्याएको हो । उनले उद्योगधन्दा सञ्चालन गरेनन् । ठूलो ब्यापार व्यवशाय पनि गरेनन् । कुनै सरकारी जागिरे पनि हैनन् । उनले २३ वर्षअघि लम्की चोकमा उखुको रस बेच्न सुरु गरे । त्यही उखुको रसले उनको जीवनमा ठूलो परिवर्तन ल्याईदियो । उनी अहिले पनि त्यही व्यवशाय गर्छन ।

उनले यो व्यवशाय १६ हजार रुपैयाँमा सुरु गरेका थिए । ६० रुपैयाँमा एक क्विन्टल उखु पाईन्थ्यो । प्रति गिलास दुई रुपैयाँमा बेच्थे । उनले पहिलो वर्ष २८ हजार रुपैयाँ आम्दानी भएको बताए । अहिले उखुको मुल्य प्रति क्विन्टल दुई हजार एक सय छ । त्यो पनि भारतबाट उखु ल्याउनु पर्छ । उनको व्यवशाय वर्षभरी नै चल्छ । ‘अत्याधिक जाडो भयो भने एक महिना जति बन्द हुन्छ’ उनले भने –‘नत्र वर्षभरी नै चल्छ भने पनि हुन्छ ।’

उनको यो व्यवशाय बुबाको उपचारसँग जोडिएको छ । उनका बुबा बिरामी परे । उनी बुबाको उपचारका लागि भारतको पिलिभित गएका थिए । बुबालाई अस्पतालमा भर्ना गरे । फुर्सदको समय अस्पताल बाहिर घुम्न निस्किन्थे । अस्पताल नजिकै एकजना सरदार उखुको रस बेचिरहेको देखे । उनले कुराकानी गरे ।

बुबाको रेखदेखबाट बचेको समय उनले तिनै सरदारसँग काम सिके । सरदारले केही समय पछि पैसा दिन थाल्यो । उनले १६ हजार रुपैयाँ कमाए । यता बुबालाई सन्चो भयो । उनी घर फर्किनु पर्ने भयो । उनले उखु पेल्ने मेसिन खरिद गर्ने सोच बनाए । सरदारले लखिमपुर लगेर मेसिन किन्न सघाए ।

उनी उखु पेल्ने मेसिन बोकेर आए र लम्कीमा व्यवशाय सुरु गरे । सुरुसुरुमा त्यत्ति राम्रो चलेन । उनले हरेस खाएनन् । उनले व्यवशायलाई निरन्तरता दिए । बिस्तारै व्यवशायले गति लिन थाल्यो । उनी अहिले दैनिक ७ हजार रुपैयाँसम्म आम्दानी हुने बताउँछन । ‘राम्रो आम्दानी भैरहेको छ । यसै व्यवशायले मलाई आत्मनिर्भर बनाएको छ’ उनले भने –‘मेरो अरु कुनै आम्दानीको स्रोत छैन ।’

उनी निकै हसिला र फुर्तिला छन । हरेक मानिससँग आत्मीय व्यवहार गर्छन । लम्कीमा उनलाई नचिन्ने सायदै कोही होलान । उनी निकै सहयोगी पनि छन । वृद्धवृद्धा, बालबालिका र अपाङ्गता भएका व्यक्तिसँग पैसा लिदैनन् । उनको यही व्यवहारले धेरैजसो मानिस बजारमा पाईने चिसो पेय पदार्थ भन्दा उखुको रस पिउन मन पराउँछन । ‘मेरो व्यवहारले पनि होला व्यवशायमा पछाडी फर्केर हेर्नु परेको छैन’ उनले भने –‘मैले पैसा र मान्छे दुवै कमाएको छु ।’

उनी आफ्नो काम प्रति सन्तुष्ठ छन । उनका अनुसार विदेश जानुपर्छ भन्ने सोच कहिल्यै आएन । छोराछोरीलाई पनि विदेश पठाउने सोचमा छैनन् । केही वर्ष अघि जेठी छोरीले अष्टे«लिया जाने सोच बनाएकी थिईन । उनले सम्झाई बुझाई गरे । छोरीले आफ्नो कुरा मानेर स्वदेशमै काम गर्न थालेकोमा खुशी छन । उनी अरुलाई पनि आफ्नै देशमा काम गर्न सुझाव दिन्छन ।

उनले व्यवशायलाई एउटै ठाउँमा स्थिर राख्ने भन्दा पनि दिनभर वरपर डुलाउने उपाय निकालेका छन । उखु पेल्ने मेसिनसँगै सानो जेनेटर छ । मोटरसाइकलको अगाडीको भाग र त्यसलाई एउटैमा जोडेका छन । मोटरसाइकलमा चढेर त्यसलाई वरपर गुडाएर लैजान सकिन्छ । यो उपाय उनले आफै निकालेको बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update