Hamro Patra
पार्टी भित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भयो ः महामन्त्री थापा

टीकापुर, बैशाख ३
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी भित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताएका छन । समुदायमा काँग्रेस अभियान अन्र्तगतको संवाद यात्राका क्रममा आज कैलालीको टीकापुर पुगेका थापाले फोहोर सफा नगरे काँग्रेस सुदृढ नहुने बताए ।

उनले काँग्रेसले २०८१ लाई पार्टी सुदृढीकरण वर्ष मनाउने बताउँदै सबै नेता कार्यकर्ताहरुलाई आपसी गुटबन्दीमा समय खर्च नगरी पार्टी सुदृढीकरणमा जुट्न आग्रह गरे ।

उनले काँग्रेसले आगामी कुनैपनि चुनावमा कसैसँग गठबन्धन नगर्ने प्रतिवद्धता व्यक्त गर्दै मतदाताले अरुको चुनाव चिन्हमा मतदान गर्ने अवस्था नआउने दावी गरे । उनले त्यसका लागि पार्टी भित्रको गुटबन्दी अन्त्य हुनुपर्नेमा जोड दिए ।

CMA Staff

‘काँग्रेसले अरुको चुनाव चिन्हमा भोट हाल्नु पर्ने छैन’ उनले भने –‘तर त्यसका लागि पार्टी भित्रको गुटबन्दी अन्त्य हुनुपर्छ । तब मात्र काँग्रेस ठूलो दल बन्नेछ ।’

उनले हरेक गाउँ टोलसम्मै पार्टी भित्र चरम गुटबन्दी रहेको बताउँदै गुटबन्दी अन्त्य नभए काँग्रेस खुम्चिदै जाने निश्चित रहेको बताए ।

उनले २०८२ साल भित्रै काँग्रेसले महाधिवेसन सम्पन्न गर्ने लक्ष्य लिएको बताउँदै अबको महाधिवेसनले नेता बलियो नभई मतदाता बलियो बनाउने नीति अंगिकार गर्ने बताए । उनले माथिल्लो तहले उम्मेदवार लाद्ने नभई आफ्नो उम्मेदवार आफ्नै समितिले चयन गर्ने परिपाटीको विकास गरिने बताए ।

‘आफ्ना उम्मेदवार तपाईहरु आफैले छनौट गर्ने परिपाटीको विकास हुनुपर्छ’ उनले भने –‘कसैलाई माथिबाट टीका लगाएर उम्मेदवार बनाईनु हुँदैन ।’
उनले एकवर्ष काँग्रेस पूर्ण रुपमा प्रतिपक्षमा बस्ने र सत्ता प्राप्तीको कुनै खेलमा नरहने बताए ।

उनले सहकारीको ठूलो रकम अपचलनका बारेमा संसदीय छानविन समिति बनाउनुपर्ने काँग्रेसको मुख्य माग रहेको बताए । उनले समितिले नै छानविन गरेर ककसको संलग्नता छ भन्ने कुरा स्पष्ट पार्नुपर्ने आफूहरुको माग रहेको बताए ।

‘सत्ताधारी दलकै नेताहरु संलग्न रहेको कुरा सार्वजनिक भैरहेको छ’ उनले भने –‘संसदीय समिति बनाऔं । छानविन गरौं । जोजो संलग्न छन । कारवाही गरौं ।’

उनले सहकारीको रकम अपचलनमा रास्वपाका नेताहरुकै नाम जोडिएकोले सत्ता पक्षले समिति गठनमा आलटाल गरेको गरिरहेको बताए । उनले आफूहरुको संलग्नता नरहे समिति गठन गर्दैमा रास्वपाका नेताहरु डराउन नहुने बताए ।

उनले कतिपय भ्रष्टाचारका मुद्दा राज्यका तर्फबाट नीतिगत निर्णयका नाममा लुकाउने प्रयास विगतदेखी नै हुँदै आएको बताए । उनले सत्ता पक्षले नै नीतिगत निर्णयका नाममा भ्रष्टाचारलाई बढावा दिने काम गर्ने गरेको आरोप लगाए ।

उनले राज्यले ८० को दशकलाई कृषि क्षेत्रमा लगानी बढाउने गरी नीति अघि सार्नुपर्ने बताए । उनले कृषि प्रधान देश भनिए पनि कृषि क्षेत्र प्रति राज्य उदासिन बन्दै गैरहेको बताए ।

‘कृषि प्रधान देश भनेर मात्रै हुँदैन’ उनले भने –‘कृषिमा लगानी बढाउने गरी नीति अघि सार्नुपर्छ र सोही अनुसार काम पनि गरिनु पर्छ ।’

उनले वैदेशिक रोजगारीले जीविकोपार्जन मात्रै भैरहेको बताउँदै कृषि क्षेत्रको विकास नभई देश सम्वृद्ध नबन्ने बताए ।

नेपाली काँग्रेस कैलाली क्षेत्र नं. १ को आयोजनामा कार्यक्रम टीकापुर नगरपालिका वडा नं. ७ सत्तीस्थित हाटबजारमा सम्पन्न भएको थियो । सो अवसरमा कार्यकर्ताहरुले महामन्त्री थापासँग समसामयिक विषयमा जिज्ञासा राखेका थिए । महामन्त्री थापाले कार्यकर्ताहरुका जिज्ञासाको जवाफ समेत दिएका थिए ।

महामन्त्री थापा समुदायमा काँग्रेस अभियान अन्र्तगत आज र भोली कैलाली र कञ्चनपुरमा सञ्चालन हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update