टीकापुर, चैत्र २३
झट्ट सुन्दा जोसुकैलाई अचम्म लाग्न सक्छ, दूधकै मूल्यमा गोबर। दुग्धजन्य उत्पादनहरू नै बिक्री हुन नसकेका समाचार आइरहँदा दूधकै मूल्यमा गोबर कसरी बिक्री हुन्छ ? तर, कैलालीका केही किसानले भने खेर गइरहेको गोबरबाट गड्यौला मल उत्पादन गरेर दूधकै मूल्यमा बिक्री गरिरहेका छन्।
तीमध्येका एक हुन्, कैलालीको टीकापुर नगरपालिका–१ का ललितबहादुर थापा (शिव)। उनी युद्धकालीन माओवादीको जनमुक्ति सेनाका पूर्वबटालियन कमान्डर हुन्। देशमा जनवादी क्रान्ति ल्याउनभन्दै विद्यार्थी उमेरमै जनमुक्ति सेनामा होमिएका उनी सेनाको समायोजनपछि राजनीतिमा फर्किए। राजनीतिले मात्रै आफू हिँडेको क्रान्तिको बाटो पछ्याउन नसकिने देखेपछि उनी कृषि कर्ममा लागे। गाई, भैंसी पालनसँगै भाडामा लिएको १ बिघा १० कठ्ठा जग्गामा बिगत ११ वर्षदेखि उनी पशुपालन तथा खेती गर्दै आइरहेका छन्।
उनको फार्ममा गाई, भैंसीले दिएको दूध बजारमा सजिलै बिक्री भए पनि १८ वटा गाई, भैंसीबाट उत्पादन भइरहेको गोबर थुप्रिँदै गयो। आफूले लगाएको खेतीबाट बचेको गोबरको खात लाग्यो। यहाँका कैयौं किसान रासायनिक मल नपाएर खेती बिग्रिएको गुनासो गर्दै थिए। त्यसपछि उनलाई गड्यौला मल उत्पादन गर्ने सोच आयो।
‘एकातिर गोबर थुप्रिरहेको छ, अर्कोतर्फ रासायनिक मल नपाएर हामी किसान तड्पिरहेका थियौं’, काठमाडौंबाट गड्यौला ल्याएर मल उत्पादन थालेका उनले भने, ‘फोहोरबाट मोहोर बनाउन, किसानलाई उन्नत जैविक मल उपलब्ध गराउन र खेर गइरहेको गोबरलाई दूधकै मूल्यमा बिक्री गर्न २०७५ सालबाट हामीले गड्यौला मल उत्पादन गरिरहेका छौं।’
थापाले तीन कठ्ठा जमिनमा २० वटा ब्याडको निर्माण गरी एक क्विन्टल बढी गड्यौला पालिरहेका छन्। स्नेहा एरोफला, एलोफला एलोवेडा, स्नेहा फोइटिडा जातका गड्यौलाबाट वार्षिक २ सय ५० क्वीन्टल गड्यौला मल उत्पादन गर्दै आएका उनलाई बजारको समस्या छैन। गड्यौला मल प्रतिकेजी ३० देखि ४० रुपैयाँसम्म बिक्री हुँदै आएको छ।
‘धनगढी, डडेलधुरा, ड्रागन फ्रुट खेती गर्ने किसान, स्याउ किसान र नर्सरी व्यवसायीले अग्रिम भुक्तानी दिएर मल लिने गरेका छन्’, थापाले भने, ‘युरिया, डीएपी जस्तै खेतमा छन् सकिने हुनाले किसानले माग गर्दै आइरहेका छन्, हामीले विभिन्न साइजमा प्याकिङ गरेर एग्रोभेटमार्फतसमेत बिक्री गर्दै आइरहेका छौं।’
सुदूरपश्चिम प्रदेशमा गड्यौलाका स्रोत व्यक्तिसमेत रहेका थापाले विषादीलाई निरुत्साहित गर्दै कृषिमा आत्मनिभर बनाउन राज्यले गड्यौला मल उत्पादनमा ध्यान दिन जरुरी रहेको बताए। उनले गड्यौला मल उत्पादनका लागि प्रतिकेजी ३ हजारका दरले गड्यौलासमेत बिक्री गर्दै आइरहेका छन्।
‘सरकारले रासायनिक मल र विषादीमा अनुदान दिनुभन्दा जैविक मलको उत्पादनमा जोड दिन विशेष ध्यान दिनुपर्छ’ थापाले भने, ‘हाम्रा गाइगोरुको मल, घर छेउमै सजिलै पाइने झारपात, स्याउला, काठको धुलो (सःमिलबाट उत्पादन हुने धुलो) गड्यौलालाई खानाका रूपमा दिएर गड्यौला मल उत्पादन हुने हुनाले उत्पादन लागत निकै कम हुन्छ। गोबरलाई दूध, दहीजस्तै बिक्री गर्न सकिने हुनाले किसान र स्वास्थ्यका लागि यो निकै फाइदाजनक छ।’
टीकापुरकै नरेश रावल विगत पाँच वर्षदेखि गड्यौला मल उत्पादन गर्दै आइरहेका छन्। झन्डै १ लाख गड्यौलाबाट वार्षिक दुई सय क्विन्टल गड्यौला मल उत्पादन गरिरहेका रावलले माटोको उर्बराशक्ति जोगाएर स्वास्थ्यबद्र्धक तरकारी र खाद्यान्न उत्पादनका लागि गड्यौला मलको प्रयोग बढ्दै गइरहेको बताए।
‘सुरुमा गड्यौला मलको प्रयोगबारे किसानलाई चेतना नै थिएन, हामीले सुरुवात गरेपछि गड्यौला मलको उपयोगबाट हुने फाइदाबारे किसान सचेत हुँदै गएका छन्’ रावलले भने, ‘बर्सेनि यसको माग बढ्दै गइरहेको छ, किसानले माटो सुधार्न धान, गहुँ, मकै, केरा खेतीमा समेत गड्यौला मलको प्रयोग गर्न थालेका छन्।’
सजिलै पाइने कच्चा पदार्थको प्रयोगबाट थोरै जग्गामा गड्यौला मल उत्पादन गर्न सकिने र बजारको माग पनि बढ्दै गएपछि कैलालीमा गड्यौला मल उत्पादन गर्ने किसानहरूसमेत बढ्दै गइरहेका छन्। टीकापुरकै दुर्गाप्रसाद जैशी, गणेश कठायत, मीरा ठकुल्ला, मुनुवाका राजु हमालले समेत गड्यौला मल उत्पादन गर्दै आइरहेका छन्।
गड्यौला मलको प्रयोगले माटोको उर्बराशक्ति बढाउने र अर्गानिक उत्पादन गर्न सकिने हुँदा चार वर्षदेखि गड्यौला मल प्रयोग गर्दै आइरहेका टीकापुर नगरपालिका–२ का रमेश चौधरीले बताए।
‘खासगरी आफूले खानका लागि प्रयोग हुने तरकारी, घरमा लगाइएको फूलबारी आदिमा गड्यौला मल प्रयोग गरिरहेका छौं’, उनले भने, ‘धान र गहुँमा समेत गड्यौला मल प्रयोग गरेपछि पहिलेभन्दा माटो उब्जाउ देखिन थालेको छ।’
झन्डै दुई दशकदेखि टीकापुर नगरपालिका–६ मा नर्सरी व्यवसाय गर्दै आएका विश्राम कुश्मीले नर्सरी खेतीका लागि गड्यौला मल निकै उपयोगी रहेको बताए।
‘हामीले नर्सरीमा विभिन्न किसिमका फूलहरू लगाएका हुन्छौं, बोटबिरुवा हुन्छन्। यी सबैका लागि थोरै प्रयोग गरे पनि पुग्ने भएकाले गड्यौला मल प्रयोग गर्दै आएका छौं’, कुश्मीले भने, ‘घर, आँगन सजावटका लागि राखिने गमलामा समेत यो मल निकै प्रभावकारी हुँदै आएको छ।’
जलवायु परिवर्तन, अत्याधिक मात्रामा रासायनिक मलखाद्य र विषादीको प्रयोगले मोटाको उर्बरा शक्ति नष्ट भइरहेका बेला गड्यौला मल निकै उपयोगी बनिरहेको छ। गड्यौला सोझो र गुणी जीव मानिन्छ। गड्यौलाले न कसैलाई टोक्छ, न त कसैलाई हानी पु¥याउँछ। थोरै ठाउँमा थोरै लगानीमै सजिलै गड्यौला पाल्न सकिन्छ।
घरको भान्साबाट निस्किने ६० प्रतिशतभन्दा बढी फोहोर जैविक हुन्छ। तरकारी, फलफूलका बोक्रा, कागज, काठको मसिना धुलो, झारपात जस्ता जैविक फोहोर गड्यौलाका लागि एकदमै पौष्टिक आहारा हुन्। यस्ता जैविक फोहोर खाएर गड्यौलाले निकाल्ने मल गन्धरहित हुन्छ। गड्यौलालाई गाई, भैंसीको गोबरमा यी जैविक फोहोरहरू खानाका रूपमा दिन सकिन्छ। २५ दिनदेखि ९० दिनसम्म गोबर खाएर गड्यौलाले मल निकाल्छ। किसान थापाका अनुसार प्रतिकेजी गड्यौलाले दुई केजी प्रतिदिन मल दिन्छ।
मलसँगै गड्यौलाले बच्चाहरू जन्माउँछन्। फोहोरमा भएको ५ देखि १० प्रतिशत पौष्टिकत्तत्व मात्रै गड्यौलाले खान्छ भने बाँकी ९० देखि ९५ प्रतिशत पौष्टिक तत्व मलसँगै रहने हुनाले गड्यौला मल निकै पोषिलो र प्रभावकारी हुने गरेको कृषि विज्ञहरू बताउँछन्।
गड्यौला मलमा म्युकस (एक प्रकारको चिल्लो पदार्थ) हुन्छ, जसमा असंख्य सूक्ष्म जीवाणुहरू हुन्छन्। गड्यौला मलमा पाइने पौष्टिक तत्व तथा म्युकसले माटोलाई उर्वर बनाउँछ। म्युकसले विषादीको काम पनि गर्ने हुनाले गड्यौला मल प्रयोग गरिएको खेतमा किरा लाग्दैन। रासायनिक मलको तुलनामा गड्यौला मलको पानी सोस्ने क्षमता अझ बढी हुन्छ।
गड्यौला मलमा क्षारीय गुण धेरै हुने भएकाले वरिपरिको माटोलाई सुधार्न गड्यौला मल दीगो उपाय भएको सुदूरपश्चिम विश्वविद्यालय, स्कुल अफ एग्रिकल्चर, कृषि विज्ञान संकाय टीकापुरका प्रमुख उपप्राध्यापक सुशील न्याउपाने बताउँछन्।
‘परम्परागत रूपमा गर्दै आइरहेको खेती प्रणाली छोडेर रासायनिक युरिया, डीएपी, पोटास जस्ता मलखाद्यहरूको प्रयोगले माटोमा अम्लीयपन र क्षारीयपन बढ्दै गइरहेको छ, जसले गर्दा बिरुवाले माटोमा भएका खाद्यतत्वहरू लिन सक्दैन’, उपप्राध्याक न्याउपानेले भने, ‘गड्यौला मलले माटोलाई चाहिने भौतिक र जैविक गुण बढाउनुको साथै नाइट्रोजन, फस्फोरस, पोटासियमसहित माटोलाई चाहिने ब्याक्टेरिया, हर्मनहरू पनि बढाउने हुनाले गड्यौला मललाई हामी ब्ल्याक गोल्ड पनि भन्छौं।’
जैविक पदार्थहरू कुहाएर गड्यौलालाई खाना दिएपछि गड्यौलाले गर्ने दिशाबाट निस्कने गड्यौला मल माटोको उर्बराशक्ति कायम राख्ने दिगो उपाय हो।माटोमा रासायनिक मलको प्रयोगले बढ्दै गइरहेको अम्लीयपनाका कारण उत्पादनमा ह्रास आइरहेको छ। स्कुल अफ एग्रिकल्चर टीकापुरका कृषि अर्थशास्त्रका उपप्राध्यापक सन्तोष उपाध्याय माटो सुधार गर्दै उत्पादकत्व वृद्धि गर्न गड्यौला मल उपयुक्त हुने बताउँछन्।
‘गड्यौला मलको प्रयोगले माटोको अम्लीयपना र क्षारीयपना कम हुन्छ, जसले माटाको उर्बराशक्ति बढाउँछ’, उपप्राध्यापक उपाध्यायले भने, ‘माटाको उर्बराशक्ति कायम राख्दै उत्पादकत्व बढाउन यो निकै उपयोगी जैविक मल हो।’
सजिलै उत्पादन गर्न सकिने, माटोको स्वास्थ्य सुधार्दै उत्पादकत्व समेत वृद्धि गर्न सकिने गड्यौला मलको प्रयोग र उत्पादनमा सरकारले चासो दिन सकेको छैन।
स्थानीय कच्चा पदार्थकै प्रयोगबाट ‘ब्ल्याक गोल्ड’ मानिने गड्यौला मलको उत्पादन, प्रयोग र प्रबद्र्धनमा सरकारले ध्यान दिन सके रासायनिक मलखाद्य र विषादीको प्रयोगले दिनप्रतिदिन बिग्रिँदै गएको माटो सुधार हुन सक्छ। साथै जनस्वास्थ्यका लागि उचित मानिने अर्गानिक उत्पादन पनि वृद्धि हुनेछ। यसले जोखिममा रहेको मानव स्वास्थ्यलाई समेत टेवा पुग्ने उपप्राध्यापक उपाध्यायले बताए।