धनगढी, चैत्र १६
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले सुदूरपश्चिम प्रदेश सरकार प्रेस स्वतन्त्रताको ग्यारेन्टीका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
धनगढीमा आजदेखि शुरु भएको डिजिटल मिडिया र तथ्यांक व्यवस्थापन तालिम कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै मन्त्री भट्टले सो कुरा बताएका हुन् ।
‘सुदूरपश्चिम क्षेत्रको सञ्चारको विकासका लागि प्रदेश सरकारले संसदमा प्रदेश सञ्चार नीति र विधेयक प्रस्तुत गरेका छौं’ मन्त्री भट्टले भने ‘सञ्चार माध्यम देशको शक्तिका रुपमा रहने भएकाले प्रदेश सरकार प्रेस स्वतन्त्रताको ग्यारेन्टीका लागि प्रतिबद्ध रहेको छ ।’
मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशलाई डिजिटलाइज गर्ने तयारी प्रदेश सरकारले गरिरहेको बताए ।
तालिममा उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव हेमकर्ण वि.क., नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका संस्थापक अध्यक्ष अर्जुन शाह, सल्लाहकार कृष्ण ओली, नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष मोहन शाही, प्रदेश उपाध्यक्ष योगेन्द्र बलायर लगायतले शुभकामना व्यक्त गरेका छन् ।
महासंघ प्रदेश समितिका अध्यक्ष योगेश रावलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव रामसिंह ठगुन्नाले गरेका थिए ।
सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका ३० जना पत्रकारहरुको सहभागिता रहेको तालिममा अरुण कार्कीले सहजीकरण गर्नेछन् ।