Hamro Patra
नागरिक उन्मुक्तिको बैठक सुरु, रेशम पक्ष अनुपस्थित

टीकापुर, चैत १४
नागरिक उन्मुक्ति पार्टीको केन्द्रिय समितिको बैठक टीकापुरमा सुरु भएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा सुरु भएको बैठकमा २१ मध्ये १२ जनाको उपस्थिति रहेको बैठकमा सहभागी एक केन्द्रिय सदस्यले जानकारी दिएका छन ।

बैठकमा पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षको उपस्थिति छैन । पार्टीको संगठन विभाग प्रमुख समेत रहेका सुदूरपश्चिम प्रदेशका बिना विभागीय मन्त्री लक्ष्मण किशोर चौधरी भने बैठकमा सहभागी रहेको उनका स्वकीय सचिव चम्मन चौधरीले जानकारी दिएका छन । उनी पार्टीमा फरक मत राख्ने नेताका रुपमा चिनिन्छन ।

CMA Staff

स्रोतका अनुसार बैठकमा सरकारमा सहभागिताका बारेमा छलफल भैरहेको छ । सरकारमा सहभागिताका सवालमा पार्टी भित्र दुई गुट देखिएका छन । अध्यक्ष श्रेष्ठ चौधरी संघीय सरकारको गठबन्धनका पक्षमा छन भने संरक्षक चौधरी विपक्षमा छन । संरक्षक चौधरीले सुदूरपश्चिम प्रदेशमा काँग्रेस नेतृत्वको सरकारलाई समर्थन गरेका छन । उनकै सल्लाहमा पार्टीका तर्फबाट पाँच जना मन्त्री समेत भएका छन ।

संघ र सुदूरपश्चिम प्रदेशमा फरकफरक गठबन्धन भएपछि पार्टी अध्यक्ष श्रेष्ठ चौधरी समस्यामा छन । उनलाई कुनै एक गठबन्धन छोड्नुपर्ने वाध्यता छ ।
संघीय सरकारसँगको गठबन्धन तोड्दा सुदूरपश्चिम प्रदेश बाहेकका सबै ठाउँमा प्रतिपक्षमा बस्नुपर्नेछ भने सुदूरपश्चिम प्रदेशमा सत्ताबाट बाहिरिनु पर्नेछ । सुदूरपश्चिम प्रदेशमा रहेका सात मध्ये पाँच साँसदहरुले काँग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिन दवाव दिईरहेका छन ।

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति सरकार निर्माणका लागि निर्णायक छ । उसका ७ सहित प्रदेशमा काँग्रेसका १८, एमालेका १०, माओवादीका सभामुख सहित ११, एकिकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ साँसद छन ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update