टीकापुर, चैत १४
नागरिक उन्मुक्ति पार्टीको केन्द्रिय समितिको बैठक आज टीकापुरमा बस्दैछ । बैठकले सुदूरपश्चिम प्रदेश सरकारका बारेमा निर्णय गर्ने बताईएको छ ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी टीकापुर पुगेकी छन । उनले बैठकका एजेण्डा बारेमा छलफल भैरहेको बताईन । उनका अनुसार अहिले नै एजेण्डा तयार भैसकेको छैन ।
स्रोतका अनुसार अध्यक्ष श्रेष्ठ चौधरी सरकारलाई समर्थन गर्ने सम्बन्धमा केन्द्र र प्रदेशको एउटै धारणा हुनुपर्नेमा अडिग छन । सो पार्टीले केन्द्रमा वर्तमान सरकारलाई समर्थन दिएको छ भने सुदूरपश्चिममा भने काँग्रेस नेतृत्वको सरकारलाई समर्थन यथावत राखेको छ । पार्टीका तर्फबाट सुदूरपश्चिम प्रदेशमा पाँच जना मन्त्री समेत भैसकेका छन । ती मध्ये एकजना राज्यमन्त्री हुन ।
सुदूरपश्चिम प्रदेशमा पार्टीका तर्फबाट सात जना सदस्य छन । उनीहरु मध्ये पाँच जना काँग्रेस नेतृत्वको पक्षमा छन भने दुई जनाले विमती जनाईरहेका छन । काँग्रेस नेतृत्वको पक्षमा हुनेलाई पार्टीका संरक्षक रहेका रेशमलाल चौधरीको साथ छ भने दुईजनालाई अध्यक्ष श्रेष्ठ चौधरीले साथ दिएकी छन । संरक्षक चौधरी र अध्यक्ष श्रेष्ठ चौधरी श्रीमान श्रीमती समेत हुन ।
पछिल्लो पटक टीकापुरमा सम्पन्न पार्टीको महाअधिवेशन पश्चात दुवैजना बीच दूरी बढेको छ । महाअधिवेशनले चौधरीलाई अध्यक्ष निर्वाचित गरेको थियो । आम माफी पाएको भन्दै निर्वाचन आयोगले चौधरीलाई अध्यक्ष पदमा अयोग्य ठहर गर्दै श्रेष्ठ चौधरीलाई नै अध्यक्ष कायम गरिदिएको थियो । उनी पार्टीको संस्थापक अध्यक्ष हुन ।
महाअधिवेशन पश्चात दुईजना बीचको दूरी झन बढेको छ । संरक्षक रहेका चौधरी हाल जापान भ्रमणमा छन । स्रोतका अनुसार उनी आज हुने बैठकलाई विफल बनाउन चाहन्छन । उनको निर्देशनमा केही व्यक्तिहरु बैठक विफल बनाउन सकृय रहेको बताईएको छ ।
२१ सदस्यीय पार्टी पदाधिकारीमा अध्यक्ष श्रेष्ठ चौधरीको बहुमत छ ।
अधिकांशले केन्द्रमा एउटालाई र प्रदेशमा अर्कोलाई समर्थन गर्नु राजनीतिक रुपमा दोहोरो चरित्र हुने भन्दै त्यसो नगर्न दवाव दिईरहेका छन । उनीहरुले दोहोरो चरित्रले पार्टी लुम्बिनी र मधेश प्रदेशमा समेत प्रतिपक्षमा बस्नुपर्ने अवस्था आउने सुझाव दिईरहेको स्रोतले बताएको छ ।
सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति सरकार निर्माणका लागि निर्णायक छ । उसका ७ सहित प्रदेशमा काँग्रेसका १८, एमालेका १०, माओवादीका सभामुख सहित ११, एकिकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ साँसद छन ।