Hamro Patra
कर्णाली पुलको सुरक्षा व्यवस्था फितलो
CMA Staff
टीकापुर, चैत १४
कर्णाली किनारमा अवस्थित कैलालीको चिसापानी बजार होलीको माहौलमा झुमेको थियो । चैत १२ गते दिउसोको चार बजे कर्णाली पुलमा मान्छेको चहलपहल पनि बाक्लै थियो । स्थानीय मात्रै हैन पुल हेर्न अन्यत्रबाट समेत मानिसहरु आएका थिए । 
 
कोही पुलमा फोटो खिच्दै थिए, कोही भिडियो बनाउँदै थिए । यहीबेला युवाहरुको समूह पुलमा पुग्यो । उनीहरुले पालैपालो नदीमा हाम फाले । कसैले लुगा खोलेर हाम फाले भने कसैले लुगा सँगै हाम फाले । 
 
एकपछि अर्को गर्दै १७ जनाले पुलमाथिबाट नदीमा हाम फालेको दृश्य पुल हेर्न पुगेका मध्ये कतिपयले खिच्न भ्याए । अहिले यस्तै भिडियो सामाजिक सञ्जालमा ब्यापक भाइरल बनेका छन । 
 
हाम फालेका १७ मध्ये १६ जना पौडिएर नदीको पश्चिम किनारतर्फ लागे । तर १६ औं नम्बरमा हाम फालेका ३२ वर्षका युवा लोकेन्द्र शाही भने पौडिन सकेनन् । उनी हेर्दाहेर्दै नदीमा बेपत्ता भए । 
 
नदी किनारमा रहेको डुंगा समयमा पुग्न सकेन । उनीसँगै हाम फालेकाहरुले समेत बचाउने प्रयास गरेनन् । उनीहरु पनि पौडिएर किनार लाग्ने तर्फ नै केन्द्रित भए ।
 
शाहीको अवस्था अझै अज्ञात छ । उनको पुख्र्यौली घर दैलेख जिल्लाको आठबिसकोट नगरपालिका तोलिपाटा हो । उनी चिसापानीमा तरकारी पसल सञ्चालन गरेर बस्दै आएका थिए । उनकी श्रीमती रएक छोरा र एक छोरी छन । 
 
उनी परिवारसँगै होली मनाईरहेका थिए । साथीहरुले होली खेल्न बोलाए । उनी घरपरिवारलाई छोडेर साथीहरुको समूहमा मिसिए । उनको समूहमा करिव २५ जना थिए । ती मध्ये कतिपयले मदिरा सेवन गरेका थिए । शाहीले भने मदिरा सेवन नगरेको स्थानीयको भनाई छ । उनीहरुका अनुसार शाही मदिरा सेवन गर्दैन थिए । 
 
यो घटनाले कर्णाली पुलको सुरक्षा व्यवस्था माथि प्रश्न खडा भएको छ । २०४९ सालमा निर्मित यो पुल एउटै पिल्लरमा उभिएको छ । उसले सुदूरपश्चिमको कैलाली र लुम्बिनीको बर्दिया जिल्लाको भुभागलाई जोडेको छ । पुल निकै आकर्षक छ । पुल हेर्नकै लागि थुप्रै मान्छेहरु चिसापानी पुग्ने गर्छन । मान्छेको चहलपहल बढेसँगै चिसापानी पर्यटकीय क्षेत्रका रुपमा विकास भएको छ । 
 
यो पुल सडक डिभिजन कार्यालय बाँकेको मातहतमा रहेको छ । उसले नै पुलको रेखदेख र संरक्षण गर्ने गरेको छ । पुल निर्माणको सुरुवाती चरणमा सुरक्षाका लागि १२ जना सुरक्षागार्ड राखिएको थियो । तर अहिले बजेट अभाव भन्दै सुरक्षागार्डको संख्या दुई जनामा सिमित पारिएको छ । 
 
सडक डिभिजन कार्यालय बाँकेका प्रमुख निरज शाक्यले सुरक्षागार्डका लागि आवश्यक बजेट नै नभएको बताए । उनले बजेट अभावका कारण सुरक्षागार्डको संख्या घटाईएको जानकारी दिए । 
 
दुईजना सुरक्षागार्डले ५ सय मिटर लामो पुलको सुरक्षा गर्नुपर्छ । उनीहरु मध्ये एकजना ड्युटीमा नहुँदा एक्लैले जिम्मेवारी सम्हाल्नु पर्छ । 
 
पुलको झण्डै सय मिटर टाढा इलाका प्रहरी कार्यालय छ । प्रहरीले समेत पुलमा हुने गतिविधिको निगरानी गर्न सक्छ । तैपनि पुलबाट हाम फाल्ने कार्य भने बेलाबेलामा भैराख्छ । कसैले आत्महत्या गर्न त कसैले रमाईलोका लागि पुलबाट हाम फाल्ने गरेको पाईन्छ । कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले पछिल्लो घटना रमाईलो गर्ने उद्देश्यले गरेको जस्तो देखिएको बताए । 
 
‘तर यस्तो कार्यलाई रमाईलो भन्न त सकिदैन’ उनले भने –‘सामाजिक सञ्जालमा देखिएको दृश्य हेर्दा यस्तो भन्न सकिन्छ ।’
 
उनले प्रहरीले रोक्न खोज्दा पनि युवाहरुले नटेरेकाले दुर्घटना भएको बताए । उनका अनुसार युवाहरुको समूह पुलतर्फ जाँदै गर्दा प्रहरीले रोक्न खोजेको थियो । युवाहरु मादक पदार्थ सेवन गरेकाले प्रहरीले रोक्न खोजेको थियो । युवाहरुले पैदल समेत हिड्न नदिने भन्दै प्रहरीसँग विवाद गरेका थिए । 
‘उनीहरुले हिड्न समेत नदिने भनेपछि प्रहरीले थप रोक्ने प्रयास गरेन’ उनले भने – ‘प्रहरीलाई नटेरेको देखिन्छ । ’
 
स्थानीय युवाहरुले बेलाबखतमा पुलबाट हाम फालेर पौडिने गरेको लम्कीचुहा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष समेत रहेका स्थानीय लव शाहीले बताए । उनले कतिपयले आत्महत्या गर्ने उद्देश्यले समेत हाम फाल्ने गरेको बताए । उनका अनुसार अहिलेसम्म ४÷५ जनाले पुलबाट हाम फालेर आत्महत्या गरिसकेका छन । कतिलाई स्थानीयले बचाएका पनि छन ।  ‘युवाहरु हाम फालेर नुहाउने गर्छन’ उनले भने –‘तर यस्ता कार्य रोकिनु पर्छ ।’ 
 
पुलको पश्चिमतर्फ कैलाली र पूर्वतर्फ बर्दिया जिल्लाको भुभाग पर्छ । दुई जिल्लाको भुभागसँग जोडिएकाले पुलको सुरक्षाको कुरा पनि दुवै जिल्लाको मातहतमा रहन्छ । बर्दियातर्फ राष्टिय निकुञ्ज छ । जहाँ मान्छेको चहलपहल हुँदैन । कैलालीतर्फ बाटै मान्छेको ओहोरदोहोर बढि हुने गर्छ । जसका कारण पुलको सुरक्षा लगायतका विषयमा समेत कैलालीलाई जोड्ने गरिन्छ । 
 
कैलालीका प्रमुख जिल्ला अधिकारी मिश्रले दुवै जिल्लाको संयुक्त बैठक राखेर सुरक्षाका उपाय बारे छलफल गरिने बताए । उनले पुलबाट हाम फाल्न नमिल्ने गरी सुरक्षाको प्रबन्ध गरिने जानकारी दिए । 
 
 
 
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update