Hamro Patra
वडा नं. १ लाई चार भागमा विभाजन गर्ने विषयमा कार्यपालिका सदस्य विभाजित

टीकापुर, चैत्र ३

कैलालीको टीकापुर नगरपालिका वडा नं. १ लाई चार भागमा विभाजन गर्ने निर्णयमा कार्यपालिका सदस्य विभाजित भएका छन् ।

नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले ५० हजार जनसंख्या रहेको वडा नं. १ लाई चार वडामा विभाजन गर्ने निर्णय गरेको भए पनि उक्त निर्णय भुगोल र जनसंख्याका आधारमा वैज्ञानिक नभएको भन्दै कार्यपालिका सदस्यहरु विभाजित भएका हुन् ।

Khadga Memorial And Janajagriti

राष्टिय जनगणना २०६८ अनुसार ९८ हजार जनसंख्या रहेको टीकापुर नगरपालिकाको १ नम्बर वडामा मात्रै ५० हजार बढी जनसंख्या रहेको छ ।

कार्यपालिका बैठकले वडा नं. १ को जमरा पुल पारी क्षेत्रलाई एउटा वडा बनाउने निर्णय गरेको छ । जसको क्षेत्रफल ७.२५ वर्गकिलोमिटर रहेको छ ।

त्यस्तै ब्लक नं. १ देखि ७ सम्म, १२, १३, १७, १८, १९, २० र २१ तथा शक्तिनगर शिविर, भुप.कमैया कर्मचारी शिविर, एकतापुर, शिवनगर र गणेशपुर शिविर क्षेत्रलाई अर्को वडा बनाइनेछ । यसको क्षेत्रफल ४.७१ किलोमिटर रहेको छ ।

कार्यपालिका बैठकले ब्लक नं. ११, २२, २३, ९, १०, १५, १६ र व्यवसाय क्षेत्रको २.५३ वर्गकिलोमिटर क्षेत्रलाई समेटेर अर्को वडा बनाउने निर्णय गरेको हो । त्यस्तै ब्लक नं. ८, २४ र २५, छेगरखैला र वनगाउँ क्षेत्रको ५.५३ किलोमिटर क्षेत्रलाई समेटेर अर्को वडा बनाउने निर्णय गरिएको वडा नं. १ का अध्यक्ष मोहन वि.क.लुहारले बताए ।

‘कार्यपालिका बैठकले वडा नं. १ लाई चार भागमा विभाजन गर्नका लागि निर्णय गरेर प्रक्रिया अगाडि बढाएको छ’ नेकपा एमालेबाट निर्वाचित अध्यक्ष वि.क.ले भने ‘यो निर्णयलाई नगर सभाको दुईबाट पारित गरेर अगाडि बढाइने छ ।’

लामो समयदेखि वडा विभाजन हुनुपर्ने स्थानीयबासीले माग गर्दै आए पनि हुन सकेको थिएन । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित नगर प्रमुख रामलाल डगौरा थारुले नगरपालिकाको आधा जनसंख्या रहेको १ नम्बर वडाका नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्नका लागि वडा विभाजनको निर्णय गरिएको बताए ।

‘हामीले यहाँका राजनीतिक दलहरुसँग पनि परामर्श गरेर भुगोल र क्षेत्रलाई मिलाएर चार वडामा विभाजन गर्न कार्यपालिकाबाट निर्णय गरेका छौं’ नगर प्रमुख थारुले भने ‘शनिवार हुने नगर सभामा उक्त निर्णय पेश गरेर दुई तिहाईबाट पारित गरी प्रक्रिया अगाडि बढाउने छौं ।’

यता, नेपाली काँग्रेसबाट निर्वाचित कार्यपालिका सदस्य रामबहादुर नगार्जीले १ नम्बर वडालाई चार भागमा विभाजन गर्ने विषयमा सहमति भए पनि भुगोल र जनसंख्याका विषयमा सहमति भई नसकेको बताए ।

‘एक नम्बर वडालाई चार भागमा विभाजन गर्ने कुरामा सहमति भएको हो’ कार्यपालिका सदस्य नगार्जीले भने ‘भुगोल र जनसंख्या मिलेको छैन, कतै १२ हजार जनसंख्या त कतै ४ हजार मात्रै छ, यसमा हाम्रो सहमति छैन ।’

वडा नं. ८ का अध्यक्ष दीर्घ ठकुल्लाले वडालाई चार भागमा विभाजन गर्ने विषयमा सहमत भए पनि क्षेत्रफल छुट्याउने वैज्ञानिक आधार नभएकाले आफूहरु उक्त निर्णयमा सहमत नभएको बताए ।

‘वडाको विभाजन कुनै वैज्ञानिक आधार विना नै गर्ने कुरामा सहमत छैनौं’ नेकपा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष ठकुल्लाले भने ‘नगरपालिकाको मुख्य क्षेत्र रहेको मेनरोडलाई सबै वडाले छुने गरी विभाजन हुनुपर्नेमा कुनै वडा कोर बजार हुने र कुनै कुनामा पर्ने कुरा स्वीकार्य हुँदैन, यसमा हाम्रो सहमति भएको छैन ।’

ठकुल्लाले वडा विभाजनको निर्णयमा आफूहरुले हस्ताक्षर समेत नगरेको बताउँदै कार्यपालिका बैठकको निर्णय लेखिसकेपछि नोट अफ डिसेन्ट लेख्ने तयारीमा रहेको बताए ।

यसअघि समेत वडा विभाजनको विषयमा पटक पटक कार्यपालिका बैठकमा छलफल भए पनि सहमति जुट्न सकेको थिएन ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update