योगेश रावल
टीकापुर, मंसिर १७
लम्कीचुहा नगरपालिका गुलराका बासिन्दाले गत पुषमा चरेला खोलाको किनारमा कृषि हाटबजार सुरु गरे । केही दिनसम्म मानिसहरुको खाशै सहभागीता भएन ।
स्थानीयले कृषि उत्पादनको बिक्री गर्ने उद्देश्यले हाटबजार सुरु गरेका थिए । तर मानिसहरुको सहभागीता नै नभएपछि हाटबजारले निरन्तरता पाउने सम्भावना कम हुँदै गयो । हाटबजार सञ्चालकहरु मानिसहरुको सहभागीता बढाउने तर्फ सोच्न थाले ।
छलफलमा स्थानीय दलबहादुर रावलले हाटबजारमा मानिसहरुको सहभागीता बढाउने एउटा जुक्ति निकाले । उनी कृषि हाटबजार तथा संस्कृति संरक्षण समितिका अध्यक्ष हुन । त्यो थियो, हाटबजारमा देउडा खेलको आयोजना गर्ने । उनको यो जुक्तिलाई सबैले समर्थन जनाए ।
उनीहरुले गाउँभरी आउने शनिवार हाटबजारमा देउडा खेलको आयोजना हुने खबर फैलाए । यो खबर सुनेपछि धेरै देउडा पारखीहरु हाटबजारमा आए । त्यसपछिका हरेक शनिवार देउडा खेल्न र हेर्न पाउने भएपछि मानिसहरु चरेला खोलाको किनारमा पुग्न थाले ।
यो क्रम विगत ११ महिनादेखी जारी छ । अहिले हाटबजारमा मानिसहरुको चहलपहल निकै बढेको छ । मानिसहरुको चहलपहल बढेसँगै हाटबजारमा कृषि उत्पादनको कारोबार समेत बढेको छ ।
लम्कीचुहा नगरपालिका वडा नं. ६ र ८ का बासिन्दालाई लक्षित गरेर सञ्चालन भएको हाटबजारमा अहिले जिल्लाका टाढाटाढाबाट मानिसहरु आउन थालेका छन । उनीहरु देउडाको आनन्द लिनुका साथै स्थानीयस्तरमा उत्पादन भएका तरकारी किनेर फर्किन्छन ।
‘टीकापुर, सुखड, मसुरीया, बौनियाँ, चिसापानी, जोशीपुर लगायतका ठाउँबाट समेत मान्छे आउने गरेका छन ’ अध्यक्ष रावलले भने–‘अहिले खोलाको किनार साँघुरो हुन थालेको छ ।’
हाटबजारमा आउनेले देउडा खेल्न र हेर्न मात्रै पाएका छैनन् स्थानीयस्तरमा उत्पादन भएको स्वस्थ तरकारी समेत उपभोग गर्न पाएका छन । हाटबजारमा आउने मध्ये धेरैजसोले तरकारी किनेर फर्किन थालेपछि तरकारीको माग बढेको छ । जसले गर्दा स्थानीयले तरकारी खेती गर्न थालेका छन । ‘अहिले धेरै व्यक्तिहरु तरकारी खेती गर्न थालेका छन’ उपाध्यक्ष मीनबहादुर देउवाले भने–‘थोरै भएपनि हाटबजार आम्दानीको स्रोत बन्न थालेको छ ।’
अहिले हाटबजारमा स्थानीयस्तरमा उत्पादन भएको तरकारी मात्रै अपुग हुन थालेको छ । अन्यत्रबाट समेत किसान तरकारी बोकेर त्यहाँ पुग्न थालेका छन । टीकापुर नगरपालिका–१ वनगाउँका शिलबहादुर डगौरा बैशाखदेखी नियमित सो हाटबजारमा तरकारी बिक्री गर्न पुग्छन । उनले हरेक पटक तरकारीको मात्रा बढाउनु परेको बताए । ‘राम्रो बिक्री भैरहेको छ’ उनले भने–‘आफ्नो उत्पादनले नपुगेर किनेर समेत ल्याउँछु ।’
करिव १५/२० जनाबाट सुरु भएको हाटबजारमा अहिले ५ हजार भन्दा बढी मानिस आउने गरेका छन । ती मध्ये धेरैजसो देउडाका पारखी रहेको अध्यक्ष रावलको बुझाई छ । उनका अनुसार हाटबजारमा केवल वृद्धवृद्धा मात्रै नभई युवापुस्ताको समेत आकर्षण रहेको छ । उनले हाटबजार मार्फत कृषि उत्पादनको प्रवद्र्धनका साथै संस्कृति सम्वद्र्धनमा समेत टेवा पुगेको बताए ।
हाटबजार सञ्चालकले हरेक पटक फरक फरक खेलाउडा÷खेलाउडी (देउडा गीत भन्ने पुरुष र महिला) लाई ल्याउने गरेका छन । उनीहरुले सुदूर तथा मध्यपश्चिमका पहाडी जिल्लामा नाम चलेका त्यस्ता व्यक्तिलाई पैसा तिरेर ल्याउने गरेका छन । हाटबजारमा अहिलेसम्म देउडा सम्राटका नामले चिनिएका नेत्रबहादुर शाहीका साथै विमला बुढा, प्रकाश शाह, लालमणी देवकोटा, शिवराज जोशी, लोकेन्द्र खत्री, चन्द्र साउँद, कल्पना नेपाली, निर्मला शाही, नेत्र खड्का लगायतका कलाकारहरुले देउडा खेलेका छन ।
अध्यक्ष रावलले हाटबजारलाई आगामी दिनमा बहुसाँस्कृतिक बनाउने पहल भैरहेको बताए । उनले आगामी दिनमा देउडाका साथै थारु र मगर समुदायका नाँच समेत प्रदर्शन गर्ने पहल भैरहेको जानकारी दिए । ‘सबै समुदायलाई समेटेर सबैको साझा बनाउने सोचमा छौं’ उनले भने–‘थारु र मगर समुदायका कलाकारहरुसँग छलफल भैरहेको छ ।’
समितिले हरेक ब्यापारीसँग एक पटकमा २० देखी ५० रुपैयाँसम्म लिने गरेको छ । सोही रकमबाट हाटबजार सञ्चालन भैरहेको कोषाध्यक्ष पाना भण्डारीले जानकारी दिईन । उनले ब्यापारीसँग लगेको रकमले मात्रै हाटबजार सञ्चालनमा कठिनाई भैरहेको बताईन ।
हाटबजारमा भौतिक पूर्वाधारका लागि सुदूरपश्चिम प्रदेश सरकारले नगरपालिका मार्फत १५ लाख रुपैयाँ विनियोजन गरेको छ । जसबाट मञ्च र शिव मन्दिर निर्माण गरिने सञ्चालकहरुले बताएका छन ।