टीकापुर, फागुन २८
सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई जोड्ने कैलालीको चिसापानीस्थित कर्णाली पुलमा आगलागीबाट क्षति भएपछि पूर्वपश्चिम राजमार्गमा चल्ने सवारी साधन डाइभर्ट गरिएको छ ।
बीरगञ्जबाट कञ्चनपुरतर्फ आउँदै गरेको ना ५ ख ५२९७ नम्बरको लाइटर बोकेको मालबाहक ट्रकमा पुलमा गुडिरहेको बेला आगलागी भएको थियो । उक्त आगलागीबाट ट्रकमा क्षति पुग्नुका साथै पुलका तारहरुमा समेत आगो सल्किएको थियो ।
आगोले पुलमा क्षति पुर्याएपछि यातायातका साधन कैलालीको लम्कीबाट टीकापुर हुँदै सत्ती घाटबाट बर्दिया र बर्दियाको भुरीगाउँबाट कोठियाघाट हुँदै राजापुरसम्म डाइभर्ट गरिएको इलाका प्रहरी कार्यालयले चिसापानीले जनाएको छ ।
आगलागीबाट ट्रक जल्दा पुलको स्ल्याबमा समेत क्षति पुगेको छ । पुलको तार तथा स्ल्याबमा क्षति पुगेपछि तत्काललाई आवातजावत रोकिएको हो । आगो निभाउन टीकापुर, लम्कीचुहा नगरपालिकाका दमकल, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले कर्णाली पुलका तार र स्ल्याबमा क्षति पुगेको बताउँदै क्षतिको यकिन विवरण नआउँदासम्म आवागमन बन्द गरिएको बताए ।
२०५१ सालमा जापानको कावासाकी हेवी इन्डस्टिजले निर्माण गरेको चिसापानीस्थित कर्णाली पुल एक खम्बामा अड्याइएको पुल हो । पाँच शय मिटर लम्बाई र १० मिटर चौडाईमा निर्मित यो पुल बने यता मर्मत सम्भार हुन सकेको छैन ।
जनयुद्धको समयमा तत्कालीन विद्रोही पक्ष र सुरक्षाकर्मीबीच दोहोर भिडन्त हुँदा लागेको पुलको तार तथा पिल्लरमा गोली लागि क्षति भएको थियो ।