Hamro Patra
सिँचाई आयोजनाको चिसापानीस्थित मुहान क्षेत्र बेबारिसे

योगेश रावल
टीकापुर, मंसिर १७
निर्माणाधिन राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाई आयोजनाको कर्णाली चिसापानीस्थित मुहान क्षेत्र बेबारिसे बनेको छ । आयोजनाले सुरक्षामा चाँसो नदिएका कारण मुहान क्षेत्र बेबारिसे बन्दै गएको हो ।

सुरक्षा व्यवस्था नभएका कारण मुहान क्षेत्र सर्वसाधारणको घुमघामस्थल बन्न पुगेको छ । मुहान क्षेत्रमा सर्वसाधारण निर्वाध आवतजावत गर्ने गरेको पाईएको छ । स्थानीयका अनुसार दिनहुँ सयौंको संख्यामा सर्वसाधारणले मुहान क्षेत्रको अवलोकन गर्ने गर्छन । चिसापानी पुल हेर्न आउनेहरु नजिकैको मुहान क्षेत्र समेत पस्ने गरेको स्थानीय बताउँछन ।

‘कसैले पनि रोकथाम गरेको देखिदैन’ स्थानीय रमेश शाहीले भने–‘खुल्ला देखेपछि सबै हेर्न जाने नै भए । हामी अरुले रोक्न सम्भव छैन ।’

Khadga Memorial And Janajagriti

मुहान क्षेत्रमा भौतिक संरचना निर्माणको काम समेत भैरहेको छ । सर्वसाधारणको निर्वाध आवतजावतले निर्माण कार्यमा समेत वाधा पुगिरहेको निर्माण पक्षले जनाएको छ । केही दिन अघि मुहान क्षेत्रमा रहेको फलामे घेराबारबाट ‘नट बोल्ट’ हराएको थियो । निर्माण पक्षले घुम्न आउने व्यक्तिले चोरेर लगेको हुनसक्ने बताएको छ ।

घुम्न आउने व्यक्तिहरुले निर्माण भएका संरचनामा समेत क्षति पु¥याउने गरेका छन । उनीहरुले ती संरचना हल्लाउने, कोतर्ने, टुटफुट गर्ने लगायतका काम गर्ने गरेका छन । जसका कारण भौतिक संरचनामा नोक्सानी पुग्ने निर्माण पक्षको भनाई छ ।

मुहान क्षेत्रमा सर्वसाधारण पैदल मात्रै जाँदैनन् कतिपयले सवारी साधन समेत लग्ने गरेका छन । पूर्वपश्चिम राजमार्गबाट मुहान क्षेत्रसम्म सवारी साधन जाने सहज बाटो छ । त्यही बाटो प्रयोग गरेर मुहान क्षेत्रसम्म नै सवारी साधन लगेको पाईन्छ ।

कतिपय ससाना विद्यार्थी समेत मुहान क्षेत्रमा घुम्न गएको पाईन्छ । ती विद्यार्थी मुहान क्षेत्रमा प्रवेश गर्नु निकै जोखिमपूर्ण छ । गत वर्ष पुष महिनामा टीकापुर नगरपालकाका सर्पराज जैशी मुहान क्षेत्रमा जमेको पानीमा मृत अवस्थामा भेटिएका थिए । उनी मुहान क्षेत्रमा रहेको ¥यालिङबाट खसेको हुनसक्ने प्रहरीको अनुमान छ ।

‘यदि समयमै रोकथाम नगर्ने हो भने यस्ता घटना अरु पनि हुन सक्छन’ स्थानीय शंकर धामीले भने–‘मुहान क्षेत्र प्रवेशमा कडाइ गर्नुपर्छ ।’

सिँचाई आयोजनाले मुहान क्षेत्रको सुरक्षाका लागि एकजना सुरक्षागार्डको व्यवस्था गरेको छ । ती एकजनाले मुहान क्षेत्र प्रवेश गर्ने सर्वसाधारणको चाप रोक्न सकेको पाईदैन । ‘एकजना मात्रै सुरक्षागार्ड हुनुहुन्छ । त्यसकारण नियन्त्रण गर्न गाह्रो छ’ आयोजनाका सूचना अधिकारी प्रेम लासिवाले भने–‘सुरक्षाको बन्दोबस्त भैरहेको छ ।’

उनले आगामी चैत्र महिनासम्म मुहान क्षेत्र सुरक्षाको सबै काम सम्पन्न हुने बताए । उनले तत्काल मुहान क्षेत्रको घेरावार र सुरक्षागार्ड बस्ने घर निर्माणको काम भैरहेको जानकारी दिए ।

उनले मुहान क्षेत्र घेराबारको काम सकिएपछि कोही पनि सहजै मुहान क्षेत्रमा प्रवेश गर्न नसक्ने बताए । उनले मुहान क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न गुरुयोजना तयार भैसकेको जानकारी दिए । उनले मुहान क्षेत्रबाट करिव ७ किलोमिटरसम्म नहरको दायाँबायाँ भागलाई बगैचा बनाईने बताए ।

सिँचाई आयोजनाले सो क्षेत्रका मात्रै एक सय २ जनालाई मुआब्जा वितरण गरेर मुहान क्षेत्र छुट्याएको छ । आयोजनाको मुहानदेखी बल्चौरसम्म दुई सय ४५ जनालाई दुई करोड ८३ लाख रुपैयाँ मुआब्जा बाँडेको थियो ।

कैलालीको पूर्वी क्षेत्रको ४० हजार हेक्टर भूभागमा सिँचाई सुविधा पु¥याउने उद्देश्यले आयोजना निर्माण सुरु भएको हो । नेपाल सरकार, विश्व बैंक र स्थानीयको झण्डै २७ अर्ब लगानीमा आयोजना निर्माण भैरहेको छ । आयोजनाको पहिलो चरणको समयावधि सकिएको छ । हाल दोस्रो चरणको काम सुरु भैरहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६  ०३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update