टीकापुर, फागुन २०
नक्कली कागजात खडा गरी टीकापुर नगर विकास समितिको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाह निलम्बनमा परेका छन् ।
माघ २६ गते नै नगरपालिकाको नाममा पत्र लेख्दै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले उपप्रमुख शाहलाई निलम्बन गरेको पत्र अख्तियारलाई लेखी पठाउन आदेश दिएको थियो ।
नगरपालिकालाई पठाएको उक्त पत्रमा 'भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सार्वजनिक पद धारणा गरेका र नेपाल सरकारका कर्मचारीको नाममा मुद्दा दर्ता भए स्वतः निलम्बन हुने व्यवस्था रहेको उल्लेख गर्दै उपप्रमुख शाहलाई निलम्बन गरेको जानकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालय टंगाललाई लेखी पठाउनु’ भनिएको थियो ।
नगरपालिकाले फागुन १८ गते मात्रै उपप्रमुख शाहलाई निलम्बन गरेको पत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाएको छ ।
'नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रतिउत्तर दिन केही ढिलाई भए पनि फागुन १८ गते हुलाकमार्फत् पत्र लेखी पठाएका छौं’ समाचार श्रोतले भन्यो 'प्रमुख प्रशासकीय अधिकृत रिक्त रहँदा ढिलाई भएको हो, प्रमुखको जिम्मेवारी शिक्षा उपसचिवलाई आएपछि पत्र पठाइएको छ ।’
अख्तियारले मुद्दा दर्ता गरेपछि नगर उपप्रमुख शाह, उपसचिव विश्वकर्मा, टीकापुर बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख केशरबहादुर कुँवर, नगर विकास समितिका तत्कालीन सदस्य सचिव अम्बादत्त जोशी, नापी कार्यालय टीकापुरका तत्कालीन नापी अधिकृतद्धय मानबहादुर चन्द र गणेशबहादुर बम समेत निलम्बनमा परेका छन् ।
त्यस्तै टीकापुर मालपोत कार्यालयका तत्कालीन प्रमुख जयबहादुर विष्ट, नगर विकास समितिका खरिदार धनीराम भण्डारी, ओभरसियर नेत्रबहादुर रावल सहित जग्गा काण्डमा मुछिएकाहरु निलम्बनमा परेका छन् ।