टीकापुर, फागुन २०
केराखेतीका लागि प्रख्याति कमाएको टीकापुरका किसानहरू माटोको उर्बरा शक्ति जोगाउन जैविक विधि प्रयोग गरिरहेका छन्।
जलवायु परिवर्तनको असर, बर्सेनि रासायनिक मलखाद तथा विषादीको अत्यधिक प्रयोगले माटोको उर्बराशक्ति कमजोर भइरहेका बेला टीकापुरका केरा किसानहरू जैविक विधिको प्रयोगबाट केरा उत्पादन गरिरहेका छन्।
टीकापुर नगरपालिका-१ का दीपेन्द्र चौधरीले २०६९ सालदेखि नै १० विघा क्षेत्रफलमा केराखेती गर्दै आइरहेका छन्। ६ वर्षसम्म रासायनिक मल तथा विषादीको प्रयोग गरेर केराखेती गरेका उनले चार वर्षयता १० बिघा क्षेत्रफलमै जैविक झोल (वेस्ट डिकम्पोजर) प्रयोग गरिरहेका छन्।
‘जति वर्ष केराखेती गर्यो, राम्रो उत्पादनका लागि त्यति नै मलखाद क्रमशः बढाउँदै जानुपर्ने हुन थाल्यो’ आइएस्सी अध्ययन गरेका चौधरीले भने। ‘जसले गर्दा माटोको उर्बरा शक्ति कम हुने, सुक्खापन बढी हुने र उत्पादन लागत बढ्दै जान थालेपछि हामीले विगत चार वर्षदेखि जैविक झोल प्रयोग गर्दै आइरहेका छौं।’
वर्षौसम्म राम्रो उत्पादन लिन माटो सुरक्षित हुनुपर्ने तथ्य बुझेका चौधरीले रासायनिक मलखादको विकल्प खोजे। भारतको गाजियावादमा रहेको नेशनल सेन्टर फर अर्गानिक फार्मिङका डाइरेक्टर डाक्टर कृष्ण चन्द्रले विकास गरेको जैविक झोल (वेस्ट डिकम्पोजर) प्रयोग गर्न थालेपछि माटो सुधारिएको चौधरीले बताए। ‘हाम्रो बालीलाई आवश्यक पर्ने नाइट्रोजन, पोटास र फस्फोरस माटो र हावामै रहेको हुन्छ, त्यसलाई बोटको जरासम्म पुर्याउन यो झोलले मद्दत गर्छ’ चौधरीले भने। ‘जसले गर्दा युरिया, पोटास र फस्फोरसका लागि रासायनिक मलखाद प्रयोग नै गर्नुपर्दैन र उत्पादन समेत अर्गानिक रुपमा हुने गरेको छ।’
उक्त जैविक झोलमा ‘नाइट्रोजन फिक्सेसन ब्याक्टेरिया, फस्फोरस सोलुबलाइजिङ ब्याक्टेरिया र पोटास मुभिलाइजिङ ब्याक्टेरिया’ हुनाले बिरुवाका लागि पर्याप्त मात्रा पुग्ने उनले बताए। चौधरी मात्रै होइनन् केराखेतीमा नयाँ नयाँ प्रविधिको प्रयोग गर्दै आइरहेका युवा किसान टेकेन्द्र धामी, विनोद साह, शेरबहादुर साउद लगायतका किसानहरूले समेत जैविक झोल प्रयोगमा ल्याइरहेका छन्।
‘यो जैविक झोलले माटोमा रहेका घाँसपात, डाँठहरूलाई छिटो कुहाउन मद्दत पुर्याउँछ, जसले माटोमा हल्कापन हुने, गड्यौलाको संख्या बढ्ने हुनाले माटो उर्बर हुने गरेको हो’ केरा उत्पादक किसान संघका कैलाली उपाध्यक्ष टेकेन्द्र धामीले भने। ‘जैविक झोलमा माटोलाई चाहिने ब्याक्टेरिया पर्याप्त मात्रामा हुनाले यसले माटो सुधार्नुको साथै उत्पादन लागत घटाउने हुनाले किसानका लागि अति उत्तम रहेको छ।’
उनले आफ्नो २० बिघा केराखेतीमा दुई वर्षदेखि जैविक झोल नै प्रयोग गरिरहेका छन्। यहाँका किसानहरूले केराखेतीमा थोपा सिँचाइ प्रविधिबाट जैविक झोल केराको बोटसम्म पुर्याउँदै आएका छन्।
उक्त झोल केराको बोटका लागि मात्रै नभएर फल तथा बोटमा लागेको रोगकिरा नियन्त्रणका लागि स्पे्र गरेर प्रयोग गरिरहेको धामीले बताए। ‘फल तथा पातमा लाग्ने रोग किरा नियन्त्रणका लागि पनि हामीले यो झोल प्रयोग गरिरहेका छौं’ धामीले भने। ‘एकपटक बनाएको झोलबाट मदरकल्चर गरेर बजारमा सजिलै पाइने गुड (भेली) को प्रयोग गरेर वर्षौंसम्म बनाउँदै जान सकिने हुनाले यो निकै सस्तो र सजिलो छ।’
धामीका अनुसार रासायनिक मल र विषादीको प्रयोग गर्दा प्रति विघा वर्षेनी १ लाख ५० हजार बढी खर्च हुने गरेकोमा जैविक झोलको प्रयोगले उक्त लागत निकै घटेको छ।
‘माटो सुधार्नका लागि एक वर्षसम्म लगातार जैविक झोलको प्रयोग बढाउँदै जाने र रासायनिक मलको प्रयोग घटाउने गरिरहेका छौ’ धामीले भने। ‘त्यसो गर्दा समेत आधा खर्च बच्ने गरेको छ, जब पूर्णरुपमा जैविक हुँदा निकै सस्तो पर्न जान्छ।’
जैविक विधिबाट केरा उत्पादन हुन थालेपछि जिल्ला बाहिरबाट आउने किसानहरूले समेत जैविक झोल लिएर जाने गरेको धामीले बताए। ‘केराखेतीको अवलोकनका लागि आएका चितवन, काठमाडौं, भक्तपुरका किसानहरूले समेत जैविक झोलको मदर कल्चर लिएर गएका छन’ धामीले भने। ‘यो झोल केरामा मात्रै नभएर अन्य बालीका लागि समेत प्रयोग गर्न सकिन्छ, यसले माटो सुधार्ने हुनाले जुनसुकै बालीमा पनि उपयोगी छ।’
कसरी बनाइन्छ जैविक झोल ?
भारतबाट ल्याएको १५ एमएल वेस्ट डिकम्पोजरलाई शय लिटर पानीमा १ किलो गुड (भेली) घोलेर भाडामा राख्ने। घाम लाग्ने मौसममा ३ पटकसम्म चलाउँदा एक हप्तामै जैविक झोलको मदर कल्चर बनाउन सकिन्छ।
चौधरीका अनुसार १०० लिटर झोल बनाउन १० लिटर मदर कल्चर झोल हालेर १ किलो गुड (भेली) को राखेर जैविक झोल बन्छ र उक्त झोल पानीसँगै सिँचाइ गरेर खेतमा हालिन्छ। ‘एक विघामा माटोको अवस्था हेरेर ३ देखि ५ हजार लिटरसम्म जैविक झोल हाल्ने गरेका छौं’, चौधरीले भने। ‘जैविक हुनाले धेरै हाले पनि फरक परेन, यसबाट माटोलाई चाहिने व्याक्टेरिया (जीवाणु)हरू बारीमा पुग्छन् र ६ महिनादेखि नै माटोमा सुधार आउँदै जान्छ।’
जैविक विधिले दीगो कृषि विकासका लागि मद्दत पुर्याउने बताउँदै सुदूरपश्चिम विश्वविद्यालय स्कुल अफ एग्रिकल्चर टीकापुरका बाली रोग विज्ञान विषयका उपप्राध्यापक आशिष घिमिरेले यसको प्रयोग सबै किसानका लागि उपयुक्त भएको बताए।
‘माटोका लागि सूक्ष्म जीवहरू अति नै आवश्यक हुन्छन्, बढी रासायनिक मलको प्रयोगले त्यस्ता जीवहरू नाश भएका हुन्छन्’, उपप्राध्यापक घिमिरेले भने। ‘यो झोलको प्रयोगले माटोमा गड्यौलाको संख्या वृद्धि गर्छ, माटो खुकुलो हुनुका साथै माटोमै रहेका खाद्यतत्वलाई बिरुवासम्म पुर्याउने हुनाले दीगो कृषि विकासका लागि उपयुक्त विधि हो।’
वेस्ट डिकम्पोजरले बारीमा खेरजाने बोटबिरुवा, डाँठ, पातलाई सजिलै कुहाउने हुनाले पनि फाइदाजनक रहेको उपप्राध्यापक घिमिरे बताउँछन्। ‘माटोमा रहेका खेरजाने बोटबिरुवा, डाँठ, पातलाई छिटो कुहाउने हुनाले पनि मलको काम गर्ने हुन्छ, सूक्ष्म जीव बढाउने र शत्रुजीवलाई नियन्त्रण गर्ने हुनाले पनि यो फाइदाजनक छ’ उपप्राध्यापक घिमिरेले भने। ‘बिरुवामा लाग्ने रोग किराको नियन्त्रणका लागि स्प्रे गरेर हाल्न सकिने हुनाले यो बहुउपयोगी छ।’
माटोको संरक्षणका लागि सरकार नै जैविक मल, जैविक विधि र रैथाने प्रविधिलाई प्रोत्साहन गर्नुपर्ने घिमिरेले बताए। ‘जैविक मल, जैविक विधिको प्रयोगले उत्पादन नै अर्गानिक हुने हुनाले उत्पादनलाई त्यही अनुसार बिक्री गर्न सकिन्छ’ उपप्राध्यापक घिमिरेले भने। ‘स्वास्थ्यका दृष्टिकोणले मात्रै हेर्ने हो भने पनि यसलाई सबै किसानसम्म पुर्याउनु जरुरी रहेको छ।’
टीकापुर क्षेत्रमा जैविक झोलको प्रयोग गरेर केराखेती गर्दै आइरहेका किसानहरूको संख्या वृद्धि हुँदै गएको छ। माटोमा सुधार ल्याउन, उत्पादन लागत घटाउन र लामो समयसम्म एउटै बारीबाट उत्पादन लिन मिल्ने भएपछि किसानहरू जैविक झोलको प्रयोगमा आकर्षित भएका हुन्।
रासायनिक मल र विषादीको प्रयोग स्वास्थ्यका लागि हानिकारक मानिन्छ। लामो समयसम्म विषादीको अत्यधिक प्रयोगले विभिन्न रोगहरू निम्त्याई रहेको छ। जैविक मलको प्रयोगका उत्पादनले स्वास्थ्यलाई फाइदा पुग्ने विज्ञहरू बताउँछन्।
केराको पकेट क्षेत्रका रूपमा विकसित हुँदै देशभर केराको बजार विस्तार गरिरहेका टीकापुरका केरा किसानहरू पछिल्लो समय अर्गानिक केरा उत्पादन गर्न जैविक विधि प्रयोग गरिरहेका छन्।
कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माका अनुसार कैलालीमा व्यावसायिक रूपमा ८ शय ७५ हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ। जसमध्ये ६ शय बढी हेक्टर केराखेती टीकापुर क्षेत्रमै भइरहेको छ। २०४० सालदेखि टीकापुरका किसान कालु हमालले सुरु गरेको केराखेती हाल ६ शय हेक्टरसम्म फैलिएको छ।
यहाँ उत्पादित केरा धनगढी, नेपालगन्ज, महेन्द्रनगर, सुर्खेत, दाङ, बुटवल, काठमाडौं, पोखरालगायतका बजारमा बिक्री हुँदै आएको छ। यहाँ उत्पादित केरालाई अर्गानिक उत्पादनका रुपमा लैजान किसानहरूले प्रयास गरिरहेको भए पनि स्थानीय सरकार, प्रदेश र संघीय सरकारले जैविक मल, जैविक विधिको प्रयोगमा प्रोत्साहन गर्न सकेका छैनन्।